बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य छन् ।
रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए तर मेसिन बिग्रेपछि उनीहरू भारतका बहराइच, लखनउ, दिल्लीलगायतका अस्पतालमा उपचारका लागि जान बाध्य भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो ।
अस्पताल प्रशासनका अनुसार मेसिन मर्मत गर्ने प्राविधिक अस्पतालमा छैनन् । मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको भन्दै मर्मत गर्न अस्वीकार गरेपछि रेडियोथेरापी सेवा पुनः सञ्चालन अन्योलमा परेको हो ।
अस्पतालका अनुसार खरिद सम्झौतामा उल्लेख भएको एचएस कोड (एचएस कोड) र कन्ट्री अफ ओरिजिनभन्दा फरक विवरण भएको मेसिन आपूर्ति गरिएकाले सप्लायर्सको बाँकी भुक्तानी रोकिएको छ । भुक्तानी रोकिएपछि कम्पनीले मर्मतका लागि प्राविधिक नपठाएको अस्पताल प्रशासनको भनाइ छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भराईले लिन्याक मेसिन सञ्चालनका विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग छलफल भइरहेको र समस्या समाधानका लागि मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिनुभयो । मन्त्रालयबाट आवश्यक निर्णय भएपछि मेसिन पुनः सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उहाँले रेडियोथेरापी सेवा अवरुद्ध हुँदा बिरामीले भोग्नुपरेको समस्याबारे मन्त्रालयलाई जानकारी गराइसकिएको बताउनुभयो ।
अस्पतालका सूचना अधिकारी डा. प्रविण गुप्ताका अनुसार मेसिन मर्मतका लागि आवश्यक प्राविधिक पठाइदिन मन्त्रालयसँग आग्रह गरिएको छ। उहाँले मन्त्रालयसँग रेडियोलोजी विभागका प्राविधिक जनशक्तिको समेत माग गरिएको र सकेसम्म छिटो सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
अस्पतालमा २०७९ पुसमा ल्याइएको उक्त लिन्याक मेसिन खरिदसम्बन्धी विवादका कारण जडान भएको तीन महिनापछि मात्रै सञ्चालनमा आएको थियो । तत्कालीन निर्देशक डा। प्रकाश प्रसाद साहले भुक्तानीको आश्वासन दिएपछि सप्लायर्सले प्राविधिक पठाएर मेसिन सञ्चालनमा ल्याएको अस्पताल जनाइएको छ ।
तत्कालीन निर्देशक डा. निरज भट्टराईको कार्यकालमा मन्त्रालयको आग्रहमा गठित छानबिन समितिले खरिद सम्झौता र भन्सार कागजातमा एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक परेको स्वीकार गरेको थियो । समितिले मेसिनको गुणस्तर सञ्चालनपछि मात्रै मूल्याङ्कन गर्न सकिने उल्लेख गर्दै प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा मेसिन सञ्चालनमा आए पनि एचएस कोड र कन्ट्री अफ ओरिजिनसम्बन्धी विषयमा मन्त्रालयबाट निर्णय नहुँदा बाँकी भुक्तानी रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार रु. २७ करोडभन्दा बढी मूल्यमा खरिद सम्झौता भएको उक्त मेसिनको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ भने आठ लाख ६ हजार अमेरिकी डलर भुक्तानी गर्न बाँकी छ ।
प्रतिक्रिया