- केशवप्रसाद भट्टराई
गुणैः सर्वज्ञकल्पोपि सीदत्येको निराश्रयः ।
अनैर्घ्यमपि माणिक्ये हेमाश्रयमपेक्षते ।।
जतिसुकै बहुमूल्य र सुन्दर रत्न पनि सुनका गहनामा नजडिउञ्जेल ती सामान्य पत्थर नै रहन्छन्,
सुनमा जडिएपछि मात्रै तिनको मूल्य मानिसलाई ज्ञात हुन्छ ।
तिनको महत्वमा हजारौँ गुणा वृद्धि हुन्छ ।
त्यसरी नै शक्ति र सत्तामा रहेका व्यक्तिको संरक्षण भएन भने जतिसुकै ठूलो प्रतिभा, क्षमता र सद्गुण सम्पन्न व्यक्तिहरू पनि जीवनका हरेक क्षेत्रमा उपेक्षित र तिरस्कृत हुन्छन् ।
(आधुनिक नेपालमा वीपी, सुवर्ण, राजा महेन्द्र र वीरेन्द्रले यो मर्मलाई आत्मसात गरेको अनुभव हुन्छ ।)
०००
विवेकः सह संयत्या विनयो विद्यया सह ।
प्रभुत्वं प्रश्रयोपेतं चिन्हमेतन्महात्मनाम् ।
उचिता उचित अर्थात् के ठिक र के बेठिक भन्ने कुराको निर्णय गर्ने क्षमतासँग संयम र आत्मनियन्त्रण, ज्ञान र विद्वतासँग विनम्रता,
शक्तिशाली र प्रभुत्वपूर्ण हैसियतमा रहेका व्यक्तिमा शिष्टता र अरूलाई सम्मान गर्ने संस्कार जस्ता कुराहरू सभ्य र सुसंस्कृत व्यक्तिका लक्षण हुन् ।
०००
दाक्षिण्यं स्वजने, दया परजने, शाट्यं सदा दुर्जने
प्रीतिः साधुजने, नयो नृपजने, विद्वज्जनेऽप्यार्जवम् ।
शौर्यं शत्रुजने, क्षमा गुरुजने, नारीजने धूर्तता
ये चैवं पुरुषाः कलासु कुशलास्तेष्वेव लोकस्थितिः ॥
आफ्नाहरूप्रति कर्त्तव्य परायणता अर्थात् दायित्व निर्वाह,
अपरिचितहरूप्रति दयाभाव ,
दुष्टहरूसँगको सङ्गतमा सावधानी,
असल मानिसहरूसँग सभ्यता र सज्जनता प्रदर्शन,
शासकहरूसँग कौशलता पूर्वक प्रस्तुत हुने क्षमता,
विद्वानहरूसँग सच्चा र स्वच्छ आचरण,
शत्रुहरूसँग साहसपूर्ण र बहादुरी प्रदर्शन,
गुरूवर्ग सामू विनयता र विनम्रता,
महिलाहरू सामू अत्यन्त चतुरता र समझदारी जस्ता गुणले मात्रै समाजमा प्रतिष्ठा आर्जन गर्न सकिन्छ ।
०००
प्रारभ्यते न खलु विघ्नभयेन नीचैः ,
प्रारभ्य विघ्नविहिता विरमन्ति मध्याः ।
विघ्नैस् पुनः पुनरपि प्रतिहन्यमानाः ,
प्रारभ्य उत्तमजनाः न परित्यजन्ति ।।
सामान्य मानिस बिघ्न र समस्याबाट तर्सिएर कुनै पनि कार्य आरम्भ गर्ने साहस नै गर्दैनन् ।
मध्यम स्तरका व्यक्ति कार्य आरम्भ त गर्दछन् तर बिघ्न आएपछि त्यसलाई बीचैमा चटक्कै छोडिदिन्छन् ।
अत्यन्त असल र उच्च चेतना र क्षमताका व्यक्ति मात्रै कार्य आरम्भ गरेपछि जस्तोसुकै विपत्ति आए पनि भाग्दैनन्, सामना गर्न छोड्दैनन् ।
सफलतालाई आत्मसात् गर्दछन्, असफल भए सम्मानपूर्वक त्यसलाई स्वीकार गर्दछन् ।
यो कसीमा खरो देखिने पनि वीपी, सुवर्ण र राजा महेन्द्र त हुँदै हुन्, त्यसमा राजा ज्ञानेन्द्र पनि थपिन्छन् ।
प्रतिक्रिया