बहसवीर नेपालीहरू !

बहसवीर नेपालीहरू !


  • स्वयम्भूनाथ कार्की

नेपालीहरूलाई ‘वीर’ त भनिन्छ नै तर केही नेपाली भने ‘बहसवीर’ भएका छन् । उनीहरू राजनैतिक, आर्थिक, सामाजिक आदि विषयमा विश्वका कसैलाई पनि निर्देशन गर्न सक्छन् । यो कुरा ब्यङ्ग्य गरेजस्तो लाग्ला, तर एक दिन मात्र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा, सिधै, सञ्चारमाध्यमले तेर्स्याएको माइकमा, छापामा आउने प्रतिक्रिया, सामाजिक संजालमा व्यक्त हुने धारणाहरूलाई यस कोणबाट हेर्ने हो भने यो कटु यथार्थ हो भन्ने प्रष्ट हुन्छ ।

हुन त यो विषेशता राजनीति गर्नेहरूमा पहिले नै पाइने गर्दथ्यो, मन्त्री पद प्राप्त हुने वित्तिकै एकाएक सर्वज्ञता प्राप्त हुने गर्दथ्यो । अर्थशास्त्रीलाई अर्थतन्त्र, चिकित्सकलाई शल्यक्रिया, इन्जिनियरलाई इन्जिनियरिङ काम सिकाउने भाषणहरू त जनताले पचाइसकेका छन् । अहिले यही गुण सर्लक्क बहसवीर नेपालीमा सरेको छ । ज्ञान जतिसुकै होस, क्षमता जस्तो होस र स्तर जे होस, हरेक कुरामा अर्ती-उपदेश दिन सक्ने विषेशज्ञता छताछुल्ल देखिन्छ ।

पढे-लेखेर विद्वानमा दर्ता भएकादेखि सर्वसाधारणसम्ममा यस्ता बहसवीर पाइन्छन् । उनीहरू तर्कको पर्रा छुटाउन सक्छन् । यस्ताको तर्कलाई मान्ने हो भने मुलुकको त के कुरा विश्वकै बागडोर यिनको हातमा दिने हो भने अहिलेको भन्दा सैयौँ गुणा राम्रो विश्व दिने छन् कि भन्ने लाग्छ । यस्ता बहसवीरहरूसँग बहस गरेर कसैले पनि पार पाउँदैन । किनभने आफू फसेको बहसबाट निक्लने रामवाण तरिका यिनीहरूसँग छ, जुनसुकै विषयमा बहस होस आफूले चाहेको विषयमा बहसलाई मोड्ने यिनको अद्वित्तीय क्षमतामा सामुन्नेको व्यक्ति सबै जान्दाजान्दै पनि फस्न जान्छ ।

बहसवीरको केही विषयहरू ज्यादै प्रख्यात छन् । अग्रगमन र प्रतिगमन सबैभन्दा धेरै प्रयोग गरिने विषय हो । संघीयता, पहिचान यस्ता विषयहरू हुन् जो आउनेवित्तिकै आफ्नो भलो चाहनेले तुरन्त हार मानेर उठ्नु नै श्रेयष्कर हुन्छ । 

यसलाई यो एक रमाइलो प्रसङ्गले प्रष्ट पार्छ, एक पटक सर्दी याममा एक डाक्टरकोमा एउटा रोगी आएछ । उसलाई हड्डीको जोड दुख्ने समस्या रहेछ । त्यो डाक्टरले रोगीलाई बिहान-बेलुका टाउको भिजाउने र खुल्ला आकाशमुनि सुत्ने सल्लाह दिएछ । रोगी गइसकेपछि डाक्टरसँगै बसेको उसको साथीले सोधेछ- ‘हन हौ, हड्डीको जोड दुःखेको तैँले बताएको इलाजले ठिक हुन्छ र ?’ डाक्टरले भनेछ- ‘हेर यार, म फिजीसियन हुँ । यो अर्थोपेडिक रोग हो जसको इलाज मेरो बसमा छैन । तर मेरो सल्लाह मान्यो भने उसलाई रुघा लाग्छ जसको इलाज म सजिलै गर्न सक्छु ।’ यो प्रसङ्गमा भएको जस्तो तर्क यी बहसवीरहरूले गर्ने गर्दछन् । विषयलाई आफ्नो अनुकुल ल्याइसकेपछि बहसले जुन निष्कर्ष निकाल्छ त्यो शुरुको बिषयसँग बिल्कुलै असम्बिन्धित हुन्छ । कोही कति नै तैयारीको साथ म विषयभन्दा बाहिर बहसलाई जान दिन्न भनेर बहसमा आओस् त्यसको त्यो कोशिस प्रायः असफल नै हुन्छ । यदि दुई बहसवीरमा बहस भयो भने त त्यो हेर्नलायकको रमिता हुन्छ । दुवैले आ-आफ्नो विषयतिर बहस मोड्ने प्रयत्न गर्छन् । विस्तारै सुन्नेहरूले एउटाले आग्राको कुरा अर्काले गाग्राको कुरा गरिरहेको पाउँछन् ।

आजकल बहसवीरको केही विषयहरू ज्यादै प्रख्यात र प्यारा छन् । अग्रगमन र प्रतिगमन सबैभन्दा धेरै प्रयोग गरिने विषय हो । संघीयता, पहिचान यस्ता विषयहरू हुन् जो आउनेवित्तिकै आफ्नो भलो चाहनेले तुरन्त हार मानेर उठ्नु नै श्रेयष्कर हुन्छ । नत्रभने जुन स्तरको गाली पाइन्छ त्यो पचाउन सारै गाह्रो हुन्छ ।

बाहुनवाद र खस सर्वसत्तावाद दुवै मिलाएर यस्तो विषय बन्छ जो मुलुकको कुनै पनि कुनामा प्रयोग गर्न सकिन्छ । दुई सय चालिसलाई गाली नगरी त कुनै बहस पूर्ण नै हुँदैन । विषय अमेरिकाकोे अर्थतन्त्रको किन नहोस् सामुन्नेको बहसवीरको प्रिय विषय बाहुनवाद छ भने सबै दोष नेपालको बाहुनवादमाथि थोपरिन्छ । अर्थतन्त्र सम्हाल्ने ठाउँमा सबै बाहुन छन् त्यसैले भन्दै कुरो सिधै बाहुनवादमा रुपान्तरण हुन्छ ।

अब अमेरिकी अर्थतन्त्रमा नेपालका बाहुन कसरी पुग्न गए त्यो कसैले पत्तो पाउन्न । कुनै बहसवीरकोे विषय हिन्दु संस्कृतिको निन्दा छ भने कतिखेर मनु, वर्णाश्रम र छुवाछुतको कुरीतिमा विषय परिवर्तन हुन्छ त्यसको पत्तो नै हुँदैन । वर्तमानमा बहसवीरहरूको रुचिको विषय संवैधानिक र असंवैधानिक अनि सर्वोच्च अदालतसँग सेटिङको कल्पना भएको छ । तर बहसवीरहरूको यो प्रवृत्तिले दीर्घकालिन हानी भने उनीहरूकै गरिरहेको हुन्छ । यी विषयमा निरपेक्ष भएको, यस्ता विषयमा सकारात्मकता देखाउने व्यक्ति यस्ताको चङ्गुलमा फस्यो भने त्यसले सकारात्मकता छोड्न थाल्छ र विस्तारै बहसवीरको विषयको कडा विरोधि भएर निक्लन्छ ।