- भिक्षु कश्यप
जापानमा प्रचलित जुडो एउटा युद्ध कला (मार्शल आर्ट) अरुभन्दा भिन्न युद्ध कला हो । ‘जु’ भनेको चाइनिज शब्द ‘दाओ’ बाट आएको हो, जसको अर्थ मार्ग, बाटो, तरिका भन्ने लाग्छ, ‘डो’ भनेको ‘जेन्टल’ अर्थात सभ्य, नरम, भलो । ‘जुडो’ मतलव भलोबाटो, नरम बाटो । जुडोमा सामुन्ने रहेको शत्रुको बललाई उसैको अहितमा हुने गरी प्रयोगमा ल्याइने युद्ध कला हो । यसमा जुडो अभ्यासीले आफ्नो बल आक्रमणका लागि प्रयोग गर्दैन बरु प्रतिपक्षीको बललाई उसैको अहितमा लगाइदिने काम मात्र गर्छ, त्यसैले यो युद्ध कलालाई नरममार्ग अर्थात जुडो भनिन्छ । जुडो अति नै प्रभावकारी युद्ध कला हो किनकि यसमा जुडो अभ्यासीले आफ्नो बल लगाउनु पनि पर्दैन, शत्रु उसकै बलले सिद्धिन्छ।
माओवादीले जनयुद्ध बक्सिङ कलामा आधारित भएर खेलेको थियो । बक्सिङ कलामा प्रतिपक्षीलाई चतुराईंका साथ सकेकम्म जोडदार बल लगाएर मुखैमा आक्रमण गरिन्छ र आफ्नो बलले शत्रुलाई ढाल्ने प्रयास गरिन्छ । तत्कालिन राजा ज्ञानेन्द्रले पनि यही बक्सिङ कलानीति अपनाए माओवादीविरुद्ध लड्नका लागि ।
त्यतिबेला माओवादी र राजाले त बक्सिङ कला नीति अवलम्बन गरेर युद्ध लडे तर विदेशी शक्तिले नेपालमा जुडो खेलेको पत्तो पनि पाएनन् । नेपालबाट राजसंस्था ढल्यो, १७ हजार नेपालीहरु मरे तर न नेपालमा साम्यवाद आयो न त जनताले सुख नै पाए ।
नेपालको सन्दर्भमा राजनीतिक दलको पहिलो बल भनेको जनताको विश्वास, यो दलहरुले अति तीव्र गतिमा गुमाइराखेका छन् अहिले । दोस्रो बल दलभित्रको एकता हुने गर्दछ, जुन कुरा नेपालका कुनै पनि दलसँग बलियो छैन यतिबेला । तेस्रो बल भनेको विदेशी कृपा- यसमा भरत, चीन र अमेरिकालगायत पश्चिमा शक्तिको समर्थन हुने गर्दछ । यी तीनै शक्तिहरु आफैमा पनि प्रतिष्पर्धामा छन् नेपालमा प्रभाव जमाउनका लागि ।
भिन्न विदेशी शक्तिले भिन्न समयमा भिन्न राजनैतिक दललाई समर्थन गरेको अवस्था छ । तर पनि यो शक्तिबाट अझै पनि नेपालका प्राय सबै ‘ठूला’ दलहरुलाई कृपा-बल प्राप्त छ । चौथो बल भनेको नेपालको स्थायी प्रसाशन हो, यसले प्रायः (सामान्य अवस्थामा) सरकारको नेतृत्व गर्ने दललाई बल प्रदान गरेको हुन्छ। पाँचौँ (र अति चुनौतीपिूर्ण घडीमा काम लाग्ने) बल भनेको सेना हो । नेपालमा सेनाले कुनै दललाई समर्थन गरी बल प्रदान गर्ने गर्दैन तर सरकार नेतृत्व गर्ने दलले, सरकारमार्फत, यो बलको प्रयोग गर्ने सम्भावना भने रहन्छ ।
यी पाँचमध्ये पहिलो दुई बलमा खास ध्यान दिनु नै परेन किनकि सबै दल यी बलमा कमजोर भैसकेका छन् । बाँकी तीन बलमा भने अमुक दलले राजनीतिक जुडो खेल्न सक्छन् । कसरी खेल्छन् ? प्रतिपक्षी दलको बललाई उसैको अहितमा प्रयोग गरेर । कुन दलले खेल्ला राजनीतिक जुडो या फेरि पनि विदेशी शक्तिको जुडो कलाको पत्तै नपाई आ-आफै सिद्धिने हुन् ? समयले बताउला !
प्रतिक्रिया