- शेखर ढुङ्गेल
सुरुमै स्पष्ट पार्न चाहन्छु- म एमाले होइन र कम्युनिष्ट सिद्धान्त मन पराउने पनि होइन, बरु देशमा कम्युनिष्ट छिट्टै समाप्त हुनुपर्छ भन्ने मान्यता राख्छु । कारण, कम्युनिष्ट रहुन्जेल देशमा गरिवी, भोकमरी, बेरोजगारी, जातीय विभेद हट्दैन । यी विषय वा बहाना रहिन्जेल मात्र कम्युनिष्टहरूको जनता भड्काउने नारा जीवन्त हुने हो, मेची-महाकाली एउटा पारिवारिक सञ्जालमा बेरिएको सुन्दर शान्त नेपालमा वर्ग समायोजन गर्नुपर्नेमा वर्ग संघर्षको झुठो नारा स्थापित गरेर आफू नवसामन्ती बन्ने किसानलार्ई मजदूर बनाउने, आफ्नो कार्यकर्ता बनाउने, नसके पलायन गराउने ! यस्तो समाज विखण्डनको सिद्धान्त कम्युनिष्टको मात्र हुन्छ । त्यसकारण यो विदेशीले बोकेको नीति सिद्धान्त मिसन भिजनविहीन अधर्मी मानवीय सम्वेदनहीन असहिष्णु कम्युनिष्ट जो पूर्ण रूपमा माफिया र बिचौलियाको पकडमा रहेको छ- छिटोभन्दा छिटो समाप्त हुनु नै पर्छ ।
हाम्रो समाजमा ‘कालिदास’ निकै चर्चित पौराणिक पात्र हुन्, बडो अनौठो पात्र हुन् उनी । सिक्काको दुई भाग जस्तो अटुट अर्को शब्दमा नकारात्मक र सकारात्मक दुवैको उदाहरण मुर्खता र विद्वताको बेजोड उदाहरण भएका छन् । समय र अपेक्षाकर्ताको स्वार्थअनुकुल नहुँदा कालिदास र अपेक्षाकर्ताको अनुकुलताको लागि बाल्मिकी बनाएर क्षमाशीलता देखाउने हाम्रो बडो उदार समाज छ । अर्थात्, मुर्खता र विद्वताको एकै पात्र उनी । म यो प्रसङ्ग व्यक्तित्व खड्गप्रसाद ओली वा एमाले अध्यक्ष ओलीमाथि जोडिराखेको छैन, देशको कार्यकारिणी प्रमुख प्रधानमन्त्री केपी ओली जो गरिब नागरिकले तिरेको करमा पदीय सुविधामा मनोरञ्जन गरिराखेका छन्, जसले अन्य देशले बीसौँ-तीसौँ-पचासौँ वर्षअघि अपनाइसकेको विकासका कुरालाई नेपालमा सपनाको रूपमा बाँड्दै हुनुहुन्थ्यो, जुन सपना पूरा गर्न मलाई ‘प्रचण्ड-माधवहरूले दिएनन्’ भनेर एकलौटी सरकार बनाउने दम्भका साथ सदन विघटन गरि निर्वाचनमा होमिएका छन्, लार्ई लेखिरहेको छु कि ती सपना र आमनागरिकका अनेकौँ अपेक्षा पूरा नगरी अब निर्वाचनमा नागरिकले सहयोग गर्ने सम्भावना रहँदैन । तसर्थ, निर्वाचनअगाडि नै तल उल्लेखित विविध जनअपेक्षा पूरा भएको हुनुपर्छ ।
वर्तमानको राजनैतिक तरङ्गमा प्रधामन्त्री ओली पनि दुवै रूपमा परिभाषित हुँदै गएका छन्, र परिस्थिति ओलीको अनुकुल वा उनको अदृश्य अघोषित लक्ष्य उद्देश्यलाई राष्ट्रको भावनाअनुरुप सकारात्मक प्रतिफल दिलाउने छन् भन्ने अपेक्षा राख्ने वर्गको पनि कमी छैन भने असफल वा देशको भावनाको प्रतिकुल परिणाम आएमा कालिदास बन्ने छन् भन्नेहरूको पनि कमी छैन । हो, समयअनुसार व्यक्ति समाज देश र राजनीतिको प्राथमिकता बदलिन्छ । विश्वका सबै देशमा समयअनुकुल संविधान परिमार्जित हुँदै आएका छन् र, नेपालको संविधान पनि यो प्रसङ्गमा उदार छ । हिजो जायज लागेको विषय समय र ब्यवहारिक अनुभवले आज नाजायज प्रमाणित भएको वा अनुपयुक्त महसुस हुन्छ भने त्यो परिवर्तन वा परिमार्जन गर्न ढिला गर्नु पनि हुँदैन प्रधानमन्त्री ओलीज्युले वर्तमानलाई बुझेर चिनेर देशको परनिर्भरता हटाइ आत्मनिर्भरताउन्मुख मार्गमा देशलाई हिँडाउन वर्तमान संविधानले रचेको अमेरिका र भारतभन्दा ठुलो राजनैतिक प्रशासनिक संरचना र संयन्त्र खारेज गरेर निर्मम आर्थिक अनुशासनको मितव्ययी नीति र आयातीत भाषा संस्कृति र पद्धतिलाई निषेध गर्न सक्छन्स-क्दैनन् हेर्नुछ । आजको प्रधानमन्त्री ओलीलाई भोलि यो समयको कालिदास लेख्ने कि बाल्मिकी लेख्ने विवादको टुङ्गो लगाउन लामो समय कुर्नु पर्दैन होला ।
बहुमत वा दुई तिहाइको सरकार बने देशले स्थायित्व पाउनेछ सरकार चलायमान हुनेछ भनेर निर्वाचनमा मतदातालाई आश्वस्त पारिने गरिन्छ तर वर्तमान राजनैतिक सङ्कटले त्यो कुरो झुठो र भ्रमपूर्ण रहेछ भन्ने प्रमाणित गरेको छ । वर्तमान सङ्कट नेतृत्व दिने तर जिम्मेवार नेतृत्वलाई निर्णय गर्न भने नदिने जस्तो अवचेतनापूर्ण मानसिकताको प्रतिफल होइन र ? आधुनिक लोकतन्त्र र राजनीति भन्छौँ भने नेतृत्वलाई निर्णय गर्न स्वतन्त्र छोडी दिनुपर्छ, गुण र दोषको भागीदार पनि निर्णयकर्ता नै हुनुपर्छ । उसको निर्णय अधिकार सुरक्षित हुनुपर्छ । विश्व राजनीतिको सामान्य मान्यता हो । अमेरिकी इतिहासमै राष्ट्रपति ट्रम्प धेरै विवादित भए तर उनको दलले कहिल्यै पनि हस्तक्षेप गरेन, प्रधानमन्त्री ओलीलाई बाध्यात्मक अवस्थामा कालिदास बन्न-बनाउन प्रेरित गर्ने बन्चरो दिने प्रचण्ड र माधव कुमारको पनि इतिहासले समीक्षा अवश्य गर्ने छ ।
पुनर्निर्वाचित भएर मलेसियाका ९२ वर्षीय महाथिरले के गरे ? स्मरण गराइदिन्छु–
१) बहाली भएको ५ दिनमा ५० विलियन डलर भ्रष्टहरूको सम्पति राज्यकोषमा फिर्ता गरे, भ्रष्टहरू भाग्न नपाउन् भनेर हवाई र जलमार्ग हफ्तौँ बन्द गरेका थिए,
२) ९ जना भ्रष्ट मन्त्री, १४४ जना भ्रष्ट ब्यवसायी, ५० जना भ्रष्ट न्यायाधीश र २०० भ्रष्ट वरिष्ठ प्रहरी अधिकारीलाई पक्राउ गरी जेल हालेका थिए ।
के ओलीज्यूसँग त्यस्तो कुनै सोच, इच्छा र कार्यसूची छ ? अब प्रचण्ड माधवको ब्यवधानबाट मुक्त हुनुभयो र एक्सनमा जाने तयारी छ ? होइन, प्रचण्ड-माधवको व्यक्तिगत स्वार्थ र कुण्ठालाई परास्त गर्नकै लागि मात्र यो कदम चालिएको हो भने विडम्बना नै हुनेछ ।
वर्तमान संविधान नेपालको लागि अस्थिरता, अशान्ति, र समाज विखण्डनको दस्तावेज हो, यसको विस्थापन वा देशको मागअनुसार परिमार्जन के यो निर्वाचन कोशेढुंगा सावित हुन्छ त ? देशलाई प्रचण्ड माधव शेबदे वा थापा–केसीलगायत प्रवृतिबाट त्राण पाउनु मात्र छैन, देशको सुन्दर भविष्यको लागि शान्ति एकता स्थायित्व र आत्मनिर्भरता पनि चाहिएको छ । के यो निर्वाचनले आमनागरिकको यो माग पूरा गराउन सक्षम हुन्छ ? वरिष्ठ पत्रकार एवम् राष्ट्रिय चिन्तक देवप्रकाश त्रिपाठी संयोजक रहेको मातृभूमिका लागि नेपाली संगठनले राखेको यी माग ओलीले पूरा गर्छन् ?
१. कोभिड सङ्क्रमणबाट मुलुकलार्ई पूर्ण रूपले मुक्त गर्ने काममा सरकार केन्द्रित रहोस्, उपचार नपाएर नागरिकको ज्यान जाने अवस्थाको अन्त्य गरोस् र, आवश्यक परे स्वास्थ्य सङ्कटकाल लगाएर भए पनि जनतामा स्वास्थ्य-सूरक्षाको अनुभूति सरकारले दिलाओस् भन्ने हामी चाहन्छौँ ।
२. चुनावसम्म पुग्नुअघि बालुवाटार जमिन घोटालामा संलग्न दुई पूर्वप्रधानमन्त्रीहरू, लडाकुको नाममा चरम घोटाला गर्नेहरू, गौर नरसंहार घटनाका मुख्य दोषीलगायत पछिल्लो समयमा भएका सबै भ्रष्टाचारका घटनामाथि तत्काल छानवीन गरी दोषीहरूमाथि हदैसम्मको कारवाही प्रक्रिया अगाडि बढाएर सुशासनको प्रत्याभूति दिलाउन पनि हामी जोडदार माग गर्दछौँ । किनभने, निर्वाचनपछि सुशासनको सुरुवात हुने सुनिश्चितताले मात्र आमजनतामा उत्साह थपिनेछ ।
३. राष्ट्रिय बोझ बनेको प्रादेशिक संरचना, धर्मनिरपेक्षता र जातिवादमा आधारित सबै प्रकारका अवधारणा खारेज गरी नेपालको मौलिक धर्मसापेक्ष मुलुक निर्माणको प्रक्रिया सुरु गर्न पनि हामी माग गर्दछौँ । दूरगामी महत्वका यस्ता कार्यले मात्र देशमा शान्ति, स्थायित्व र समृद्धिको मार्ग प्रशस्त गर्ने हाम्रो विश्वास छ । र, यस किसिमका राष्ट्रको पक्षमा गरिने हरेक कार्यमा हाम्रो सङ्गठनको साथ र सहयोग रहने विश्वास पनि हामी दिलाउन चाहन्छौँ, साथै के ओलीजी तत्कालबाट अर्थात निर्वाचनअगाडि नै महाथिरलाई पछ्याउने सोचमा छन् ? प्रचण्डले रगत लत्पतिएको विदेशी किस्तीमा राखेर दिएको कथित लोकतन्त्रमा यसैगरी मनोरञ्जन गरिरहने वा विस्थापित गरेर मानव कल्याणकारी धार्मिक राज्य र पद्धति स्थापना गर्न सक्षम हुन्छन् ? देशको माटो सामाजिक परम्परा आर्थिक हैसियतअनुरुपको वैज्ञानिक र ब्यवहारिक राजनैतिक प्रशासनिक संरचनाको लागि स्वदेशी विज्ञहरूको समिति बनाएर परिमार्जित गरी बहुमत नेपाली नागरिकको भावनालाई सम्मान गरी सम्बोधन गर्छन् ? निर्वाचन पद्धति, चन्दा संकलन प्रवृति एवम् अपारदर्शितालाई सुधार गर्छन् ? प्रचण्डले रोपेको समाज विखण्डनको विषवृक्ष (आरक्षण) लाई काटेर फ्याँकेर ‘समान मानवीय मूल्य र मान्यता’को मर्मलाई व्यहारमा लागु गर्ने गराउने नीति निर्माण गर्नुहुन्छ ?
वास्तवमा विगत ३ वर्षदेखि नै दुई तिहाइको दम्भ ‘अधिनायकवाद’ लाद्न प्रयासरत थियो, प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने नीति सफलताको उच्च बिन्दुमा पुगेकै हो, लेखाइ र बोलाइमा लोकतन्त्र गणतन्त्र जे भनिए पनि विगत ९-१० वर्ष प्रचण्डतन्त्र नै चलेको हो, प्रचण्डको एकतन्त्रिय जनगणतन्त्र सरकारको नेतृत्व गर्ने अभीष्ट दुई वर्ष अगाडिदेखि छटपटी रहेको थियो दुई तिहाइ सरकारको बागडोर पक्डन अदृश्य बाटोको चक्रब्युह कोर्दै थिए । त्यसको लागि बाधक केपी ओलीलाई विस्थापन गर्न माधव र बामदेव जस्ता विभीषण प्रचण्डका साथमा लागे जसको प्रतिफल प्रधानमन्त्री ओली ‘फलामको चिउरा चपाउन विवश भएका हुन्’ भन्ने मान्यतालाई भ्रम होइन भन्ने आधार निर्माण गर्न प्रधानमन्त्री ओलीज्यू सफल हुनुहुन्छ त ?
महाकाली र नेपालको नक्सामा क्षणिक चुच्चे नक्साको प्रकरण नागरिकले बिर्सेझैँ प्रधानमन्त्री ओली आफूलाई अम्मल राष्ट्रवादी नेता बताउन चाहनुहुन्छ र ‘कन्फरटेबल सरकार’ भन्ने पक्षको घोर विरोध गर्नुहुन्छ यदि वहाँ साँच्चिकै देशभक्त हो, यो अर्को अग्निपरीक्षा पनि हो । अति विवादित नागरिकता विधेयक कार्यन्वयन गर्न स्थगित गरेर दुई–तीन महिना लगाएर किन अष्ट्रियाले उसको देशको भाषा र धर्म ग्रहण नगरी नागरिकता दिंँदैन ? किन अमेरिकाले त्यहीँ जन्मिएकोलाई मात्र राष्ट्रपतिको उम्मेदवार स्विकार गर्छ मात्र होइन भाषा जान्नुलगायत विशेष शर्त र सशुल्क लागु गरेको ? किन जापानले खास कारण र व्यक्तित्वलाई क्याबिनेट निर्णयबाहेक नागरिकता नदिने संकल्प गरेको ? किन जर्मनलगायतका धेरै देशले अर्को देशको नागरिकता त्यागेको प्रमाण पेश र विविध शर्त राखेको ? अरु त अरु किन भारतले बुहारीलाई सातवर्षे प्रावधान राख्यो ? सोध भारतीय नागरिकलाई जसले निर्वाचित सोनिया गान्धीलाई प्रधानमन्त्री स्विकारेन ? र, सोनियाले म पदको लागि भारतीय नागरिकमा विभाजन आउन दिन्न भन्दै मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउने निर्णय गरिन् ? सवा अरब र डेढ अर्ब जनसंख्या भएका दुई विशाल देशबीचको नेपालको भोलिको दृश्य सोच्नुपर्छ कि पर्दैन ? अमुक व्यक्ति वा दलको क्षणिक पदीय अभीष्टको लागि देशको भविष्य बन्धकीमा राख्नु के असल नागरिकको मर्म र धर्म हो ? सोच्नुस् एक पटक र एउटा ५–७ सदस्यीय सुझाव समिति गठन गर्नुस् अनि देशको भौगोलिक गाम्भीर्यतालाई मनन गरी कस्तो नागरिकता नीति बनाउने जर्मन वा जापान जस्तो ? सुझाव लिएर नीति निर्माण गर्न सक्नुहुन्न र ?
प्रचण्डले माधवकुमार र वामदेवलाई एमालेभित्र इशाई मिसिनरी सहायक नायक बनाउन सफल भए, त्यसपछि कम्युनिष्ट झण्डा फेर्ने र लोकतान्त्रिक बन्ने तत्कालिन एमालेको दुई दशकअगाडिको बहस तुहियो मात्र होइन स्वयम् ओलीजी त्यसको अमर्यादित र अशोभनीय कर्मको प्रेरक बनेर कार्यक्रम गरिदिनुभयो । के ओली अब कम्युनिष्ट अधिनायक मानसिकताको धारबाट बाहिर निस्केर देश र विश्व लोकतान्त्रिक मर्मअनुरुप देशको भावनालाई सम्बोधन गर्ने गरी मार्ग प्रस्तुत एवम् कार्यन्वयन गर्ने प्रतिज्ञा गर्नुहुन्छ ? घोषित निर्वाचनअगाडि नै अब ओलीले मातृभूमिका लागि नेपाली संगठनलगायतले राखेका मागका साथै आइएनजीओ/एनजीओ सञ्चालकका सम्पति छानबिन र जफत, भूतपूर्वप्रधानमन्त्री स्व. मरिचमानको झैँ देशका पूर्व र बहालवाला भ्रष्टहरूको सम्पति जफत गरी दण्डित गर्न गर्नुहुन्छ ? अध्यादेशमार्फत संविधान संशोधन गरी ‘नीतिगत निर्णय’को दूराशयलाई अख्तियारले हेर्न नमिल्ने प्रावधान हटाउनुहुनेछ ? नेतृत्व पद्धति र देश नै असफल पार्न मुख्य भूमिकाको जड नै भ्रष्टाचार हो, जबकि देश विश्वमै प्रथम भ्रष्टराष्ट्र बनेको छ । अब दाताराष्ट्रले दिँदै आएको अनुदान सहयोग रोकिने वा गलत शर्तहरू मान्नुपर्ने अवस्था आइपर्ने छ । त्योभन्दा अगाडि नै भ्रष्टाचारलाई शुन्यतामा झारी ‘सुशासन’ निर्माण गर्न ओली सक्षम हुनुहुनेछ ?
प्रधानमन्त्री ओलीज्यु ! समय हरेक पल निर्मम स्वभावले परिवर्तनशील हुन्छ । अमुक अनुहार, पद, दल वा वादलाई सधैं सँगै लिएर जाँदैन, परिमार्जन अनिवार्य नियति हो । तसर्थ आज देश अकल्पनीय भ्रष्टाचार र दण्डहीनताको मारमा च्यापिएको छ । विश्वसामु बदनाम भएको छ, स्मरण त गराउन नपर्ने थियो तापनि भ्रष्टाचारको कारण–
१) काममा अनियमितता र ढिलासुस्ती (Lack of quality in public service))
२) कानुनी राजमा विचलन (Lack of proper justice)
३) बेरोजगारी समस्या (Chance of unemployment)
४) अपराध अनुसन्धान र खोजमा असफलता (Failer of genuine service)
५) बजार अस्वस्थ्य एवम् अखाद्यता (Poor health and hygine)
६) दुर्घटना (Accidents)
७) प्रदुषण (Pollution) वृद्धि हुन्छ, हाम्रो देश यी सबै पीडाले थलापरेको छ । कुशासन, बिचौलिया र माफियाको साम्राज्य भएको छ । यी र यस्ता राष्ट्रका समस्या र पीडाको उपचारको लागि प्रधानमन्त्री ओलीज्युले मार्गप्रशस्त गर्न खोजेको होइन भने थालमा तयार पारेको ‘फलामको च्युरा’ले देश र नागरिकलाई थप आर्थिक बोझ र घात मात्र गर्ने छ । ओलीज्युले यो विषम परिस्थितिमा हुने निर्वाचनमा आफ्नो लागि बहुमत प्राप्त गर्ने कुनै आधार देखिँदैन । देशको लागि केही गर्ने इच्छाशक्ति छ भने प्रतिबद्धता र आर्थिक मितव्ययिताको लागि कठोर नीति निर्माण गर्छु भन्ने हो भने निर्वाचनअगाडि नै वर्तमानका धेरै विकृति र विसंगतिलाई निर्मुल पार्छु भन्ने सोच छ भने, पुनर्निर्वाचित भएर मलेसियाका ९२ वर्षीय महाथिरले के गरे, स्मरण गराइदिन्छु-
१) बहाली भएको ५ दिनमा ५० विलियन डलर भ्रष्टहरूको सम्पति राज्यकोषमा फिर्ता गरे, भ्रष्टहरू भाग्न नपाउन् भनेर हवाई र जलमार्ग हफ्तौँ बन्द गरेका थिए,
२) ९ जना भ्रष्ट मन्त्री, १४४ जना भ्रष्ट ब्यवसायी, ५० जना भ्रष्ट न्यायाधीश र २०० भ्रष्ट वरिष्ठ प्रहरी अधिकारीलाई पक्राउ गरी जेल हालेका थिए ।
के ओलीज्यूसँग त्यस्तो कुनै सोच, इच्छा र कार्यसूची छ ? अब प्रचण्ड माधवको ब्यवधानबाट मुक्त हुनुभयो र एक्सनमा जाने तयारी छ ? होइन प्रचण्ड-माधवको व्यक्तिगत स्वार्थ र कुण्ठालाई परास्त गर्नकै लागि यो कदम चालिएको हो भने विडम्बना नै हुनेछ । प्रचण्ड-माधवहरूले बन्चरो दिए मैले बाध्य भएर हाँगाको उल्टो ठाउँमा बसेर छिमल्न थालेँ भनेर दोषमुक्त हुने र नेपाली नागरिकले क्षम्य मान्ने छैनन् । हिजोका कालिदासले काम फत्ते गरेका भए उनी मात्र समाप्त हुन्थे तर तपाईं कालिदास सावित हुनुभयो भने देश नै खाल्डोमा पर्ने निश्चित छ ।
कोभिड-१९ ले राष्ट्रिय शोकको रूप धारण गरेको छ घर-घर र टोल-टोलमा मृत्युको कहर छ । राष्ट्र पूर्ण रूपमा डिप्रेसनमा पुगेको छ । यसको उपचार नगरी, भ्रष्टहरूको सम्पति जफत नगरी यो नेपाल र नेपालीको चाहनाविपरीत मात्र होइन औकातबाहिरको संविधानका धेरै प्रावधान विस्थापन नगरी निर्वाचन गर्नुको कुनै तुक छैन । आधुनिक कालिदास बन्ने कि एउटा असल नेतृत्व ? अब प्रधानमन्त्री ओलीज्युको हातमा छ । अन्यथा, नेपाल र नेपालीको लागि क्षम्य हुने छैन !
प्रतिक्रिया