बुद्धिचाल संघका पूर्वअध्यक्ष जोशीको निधन

बुद्धिचाल संघका पूर्वअध्यक्ष जोशीको निधन



नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष राजेशहरि जोशीको निधनमा संघले गहिरो समवेदना ब्यक्त गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले विश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यसमेत रहेका जोशीको निधनमा समवेदना ब्यक्त गरेको हो ।

६५ वर्षीय जोशीको हृदयघातका कारण निधन भएको हो । हृदयघात भएपछि ललितपुरस्थित बि.एण्ड बि. अस्पताल पुऱ्याउँदा चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेको नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले जानकारी दिए ।

नेपालमा बुद्धिचाल खेलको विकास र विस्तारमा जोशीको ठुलो योगदान रहेको छ । उनको ८ वर्षे कार्यकालमा नेपालमा बुद्धिचाल खेलको विकास र विस्तारको लागि कोशेढुङ्गाको रूपमा रहेको विज्ञप्तिमा जनाइएको छ ।

जोशीकै नेतृत्व रहेको अवस्थामा नेपालले पहिलो फिडे मास्टर मनिष हमाल र अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजु उत्पादन गरेको थियो । उनको कार्यकाल अगाडि नेपालमा रेटेड खेलाडीहरू ९–१० जना मात्र रहेकोमा नेपालमा नै रेटिङ प्रतियोगिताहरु संचालन भएपश्चात् ६०० को हाराहारीमा पुगेको थियो ।

जोशीले बुद्धिचाल खेललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न ठूलो योगदान गरे । जसका कारण नेपालको विश्व जगतमा पनि प्रतिष्ठामा वृद्धि हुन पुग्यो । सन् २०१४ मा नर्वेमा सम्पन्न फिडे कांग्रेसबाट विश्व बुद्धिचाल महासंघको कार्यसमिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भए ।

यस्तै, २०१८ मा जर्जियाको बतुमीमा भएको कांग्रेसबाट दोश्रो कार्यकालको लागि पुनः अनुशासन आयोगमा निर्वाचित भए । जोशीले सन् २०१४ देखि २०१७ सम्म नेपाल, बंगलादेश, भुटान, माल्दिब्स, पाकिस्तान र श्रीलङ्का सम्मिलित एशियन जोनल ३.२ को अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका थिए । जोशी नेपालको खेल इतिहासमा अन्तर्राष्ट्रिय सर्वोच्च पदमा पुग्ने पहिलो ब्यक्ति रहेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जोशीको कार्यकालमा सन् २०१० मा रसिया, फ्रान्स, स्लोभानिया, भारत, युक्रेनका ग्रान्ड मास्टर्स सहभागिता रहेको अन्तर्राष्ट्रिय ग्राण्ड मास्टर प्रतियोगिता, एशियन जोनल ३.२ प्रतियोगिता दुई पटक र साउथ एशियन प्रतियोगिता महत्वपूर्ण प्रतियोगिता भएको थियो । जोशीको नेतृत्व अगाडि नेपाली चेल खेलको प्राविधिक पक्ष शुन्यप्रायः रहेको अवस्थामा उनको अन्तर्राष्ट्रिय सम्बन्ध र सक्रियताका कारण अहिले नेपालमा १० जना अन्तर्राष्ट्रिय आर्विटर, २० जना फिडे आर्विटर, ५० भन्दा बढी राष्ट्रिय आर्विटर र ५० जना प्रशिक्षकहरू रहेको महासचिव महर्जनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

२०१३ साल वैशाखमा जन्मिएका स्व. जोशीका श्रीमती, एक छोरा, एक छोरी र पिता, माता रहेका छन् । सहकारी अभियन्ताको रूपमा समेत परिचित जोशीको निधनले नेपाली खेल जगतका साथै बुद्धिचाल खेलले अपुरणीय क्षति ब्यहोरेको विज्ञप्तिमा जनाइएको छ । जोशीको मंगलबार अन्त्यष्टि हुने महासचिव महर्जनले बताएका छन् ।