पूर्व कुस्तीप्रशिक्षक विद्यासागरको निधन

पूर्व कुस्तीप्रशिक्षक विद्यासागरको निधन



पूर्व वरिष्ठ कुस्ती प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक विद्यासागर पोखरेलको निधन भएको छ । पहिलो नेपाली कुस्ती प्रशिक्षक पोखरेलको हृदयघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका पूर्वउपनिर्देशक बृजेन्द्र हमालले जानकारी दिए ।

बिहान खाना खाइरहेको अवस्थामा छातीमा दुखाइ महसुस भएको केही समयमा नै उनको निधन भएको पारिवारिक श्रोतबाट जानकारी भएको बताइएको छ ।

फुटबलका खेलाडीको रूपमा खेल–जीवनलाई अगाडि बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षणपश्चात् राखेपमा जागिरे जीवनको सुरुवात गरेका थिए । उनी उमेर हदका कारण परिषदबाट सेवा निवृत्त भएका थिए । उनकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरू उत्पादन भएका थिए ।

बंगलादेशको ढाकाबाट अन्तर्राष्ट्रिय निर्णायकको परीक्षा उत्तीर्ण गरेका पोखरेल कुस्ती खेलको विकास र विस्तारका क्रममा अनवरत रूपमा २६ वर्षदेखि कुस्ती संघको महासचिवका हैसियतले कार्य गर्दै आइरहेका थिए ।

२०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभुषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् ।