राखेपका सदस्यसचिवमाथि मन्त्री गुरूङले लगाए गम्भीर आरोप

राखेपका सदस्यसचिवमाथि मन्त्री गुरूङले लगाए गम्भीर आरोप



राखेपद्वारा खण्डन र कानुनी कारवाहीको माग

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुृरुङ (दीपक मनाङे)ले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङप्रति गम्भीर आरोप लगाएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री गुरुङले सदस्यसचिव सिलवाल र राजेश गुरुङले गण्डकी प्रदेशको खेलकुद तहसनहस पार्नुको साथै प्रदेशको खेलकुदमा लाखौँको भ्रष्टाचार गरेको समेत आरोप लगाएका छन् ।

गण्डकी अनलाइन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले सदस्यसचिव सिलवाल र सदस्य गुरुङबीच घनिष्ठ सम्बन्ध रहेको जिकिर गर्दै ‘केटी र रक्सी भनेपछि हुरुक्कै हुने सिलवाललाई राजेशले त्यसको व्यवस्था मिलाउँदै आएको’ अभिव्यक्ति दिएका छन् ।

सदस्यसचिव सिलवाल मनोरञ्जन गर्न पोखरा आउने र त्यसको सम्पूर्र्ण व्यवस्था राजेशले गर्ने गरेको दाबी गर्दै गुरुङले भनेका छन्- ‘सिलवाल केटी र रक्सी भनेपछि भुतुक्कै हुने रैछ, … केही प्रोब्लम होला, त्यसैले पोखरामा मोज गर्न आउँछ ।’ आफू मन्त्री जस्तो ओहोदामा रहेको यथार्थतर्फ ख्याल नराखी गुरुङले भनेका छन्- ‘यो हाँस्ने कुरा होइन, फ्याक्ट हा !’

एमाले बनेर खेलकुदमा छिर्नेहरूले खेलकुदको सम्पत्ती ठगेर खाएको प्रदेशमन्त्री गुरुङको दाबी छ । खेलकुद मन्त्रीले नखाएको दाबी गर्दै गुरुङले यसरी ठगेर खाने व्यक्तिमा एक नम्बरमा राजेश नै भएको र तीजस्ता ठग मान्छे आफूले अहिलेसम्म नदेखेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङ

आपसमा घनिष्ट सम्बन्ध भएकै कारण सदस्यसचिव सिलवालले राजेश गुरुङलाई गण्डकी प्रदेशको ११ जिल्लाको सम्पति भोगचलन गर्न पाउने पत्र दिएको समेत उनले खुलासा गरेका छन् । ‘राजेशले कुन आधारले ११ जिल्लाको सम्पति भोगचलन गर्न पाउँछ ?’- मन्त्री राजीवले प्रश्न गरेका छन् । ‘यो गैरकानुनी कार्यको पहिलेको सरकारले कुनै लेखाजोखा नराखे पनि अहिलेको सरकारले राख्छ, शक्तिको आडमा ठगेर खान पल्केका लाई कानुनी दायरमा ल्याउँछ’- उनको भनाइ छ ।

आफू यसअघि केही समयको लागि प्रदेशको खेलकुद मन्त्री हुँदा बेसिक कुरा सबै मिलाइदिएकोले अब हुने खेलकुद मन्त्रीलाई कुनै गाह्रो नहुने गुरूङको दाबी छ ।

गण्डकी प्रदेशका मन्त्री गुरुङले राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङप्रति दिएको अभिव्यक्तिप्रति राष्ट्रिय खेलकुद परिषदले प्रेस विज्ञप्ति मार्फत आपत्ति प्रकट गर्दै खण्डन र भत्सर्ना गरेको छ । परिषदले यो अभिव्यक्तिलाई अत्यन्त अमर्यादित लान्छना भन्दै अराजक र अशिष्ट अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।

मन्त्री जस्तो व्यक्तिबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद कुरा हो भन्दै यसले सम्पूर्ण खेल जगतको मानहानी भएको राखेपबाट प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । दोषीउपर प्रचलित नेपालको कानुनअनुसार कारवाहीको माग समेत गरिएको छ ।