छोराछोरी विदेशमा छन् ?

छोराछोरी विदेशमा छन् ?


  • बबिता बस्नेत

केही दिनअघि एक परिचितले भने- ‘हेर्नुस् न, हाम्रो समाज त के भइसकेछ, अध्ययन सकेर आफ्ना सन्तान घर फर्किंदा पनि किन फर्किएको होला भनेर शङ्काको आँखाले हेर्ने, फर्कनैपर्ने त्यस्तो के पऱ्यो ? भनेर प्रश्न गर्ने ! विदेश गएपछि उतै बस्नुपर्छ भन्ने सोच राख्नेहरूलाई के भन्ने हो ? समाज पनि के भन्नु र, मेरो आफ्नै छोरी अमेरिकामा पढाइ सकेर फर्किएको उसकी आमालाई नै मन परेको छैन !’

अध्ययनका लागि विदेश गएका सन्तान उतै ‘सेटल’ हुँदाको दुःख यसपटकको कोरोना महामारीमा धेरै देखियो, भोगियो । मृत्यु हुनेमध्ये कतिपय आफन्तका सन्तान कोही अष्ट्रेलिया र कोही अमेरिकामा थिए । अस्पतालमा बाबुको मृत्यु भएपछि विदेशमा रहेका तीन सन्तानकी एक्ली आमालाई परेको विपद्को प्रत्यक्षदर्शी हुनु पर्दा कम्तिमा एक सन्तान साथमा भइदिएको भए हुन्थ्यो जस्तो लाग्यो । सन्तान बाहिर भएका पति-पत्नी दुवैको निधन भएपछि घरमा ताल्चा खोल्ने मान्छे नभएका घटना पनि छन् । दराजको साँचो मेरो छोरालाई दिनु है भनेर आफन्तलाई साँचो बुझाएपछि प्राण त्याग्ने आमाका सन्तान काजक्रिया गर्न गत साता विदेशबाट काठमाडौं आए । सन्तान विदेश जानु या विदेशमा रहनुलाई गर्व गर्दागर्दै परिस्थिति हामीले सोचेभन्दा निकै फरक भइसकेछ । सन्तानका लागि भनी दुःख गरेर बनाएको घर र जोडेको जग्गा रेखदेख गर्ने मान्छे नभेटिने अवस्थामा पुगेछ । अभिभावकविहीन रित्तो घर कसको जिम्मा लगाउने ? आफू नफर्किऔँ उतै आफ्नो संसार बनिसक्यो, फर्किऔँ बाबुआमाले आफ्ना लागि जोहो गरेर बनाएको घर खाली-खाली भएको छ । एउटा निश्चित उद्देश्यका लागि विदेश गएकाहरू आफ्नै देश फर्कंदा ‘विदेशमा बस्न नसकेर फर्किएको’ अर्थ लगाउनेहरूका लागि यसपटकको महामारीेले ठूलो सन्देश दिएको छ ।

एकातिर छोराछोरीको भविष्यका लागि भनेर साँच्दासाँच्दै अन्तिम अवस्थामा सन्तानको मुख हेर्नै नपाइ संसार छोड्नेहरूको यस्तो अवस्था छ भने अर्कोतिर विदेश पुगेका छोराछोरी उतै बसुन् भन्ने चाहना राख्ने बाबुआमाको सङ्ख्या पनि त्यत्तिकै छ । ‘बल्ल बल्ल गएका छौ, कहाँ फर्कने ? विदेश जान मानिसहरू कति पैसा खर्च गर्छन्, तिमी त भाग्यले त्याहाँ पुगेको या पुगेकी छौ, किन फर्कने ? यहाँ आएर के गर्छौ ? डलर कमाउने ठाउँमा छौ मजाले काम गर न, मैले बुझेकै छैन तिमीलाई के चाहिएको हो, तिम्रो पढाइमा यति पैसा खर्च भएको छ कहाँ त्यसै फर्कने ? देशको अवस्था खत्तम छ उतै बस ।’ सन्तानले अब म फर्कन्छु भन्दा कतिपय आमाबाबुले यस्तै भन्ने गरेका छन् । अहिले नै फर्किने ? छिमेकीले के भन्लान् ? आफन्तले के भन्लान् ? मेरा साथीका छोराछोरी त मजाले उतै ‘सेटल’ भए तिमीचाहिँ किन फर्कनु पऱ्यो ? भन्ने मात्र होइन ‘बरु हामी यहाँबाट पैसा पठाउँछौँ उतै बस’ भन्ने अभिभावक पनि छन् ।

सन्तान विदेश जानु या विदेशमा रहनुलाई गर्व गर्दागर्दै परिस्थिति हामीले सोचेभन्दा निकै फरक भइसकेछ । सन्तानका लागि भनी दुःख गरेर बनाएको घर र जोडेको जग्गा रेखदेख गर्ने मान्छे नभेटिने अवस्थामा पुगेछ ।

दुई महिनाअघि एक साथीले भनेका थिए– ‘छोरो आउन लागेको कुरा खुशी भएर नजिकका एक आफन्तलाई सुनाएको त ‘ल…किन आउन लागेको ?’ पो भने । मैले पनि ‘पढ्न गाथ्यो, पढाइ सकियो फर्किंदै छ, मैंले छोरालाई घरजम गर्न अमेरिका कहाँ पठाएको हो र ? भनिदिएँ !’ साथीले भन्दा हामी खुब हाँसेका थियौँ । एकछिन हाँसे पनि उनको भनाइभित्र लुकेको हाम्रो समाजको मनोविज्ञान चिन्ताजनक थियो । सन्तान विदेशमा छन् भनी गर्व गर्ने कतिपय बाबुआमालाई उनीहरू कति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका होलान् भन्ने बारेमा खासै चिन्ता हुँदैन । कामकै लागि विदेश जानेहरू आफूले केसम्म गर्नुपर्ने हुन सक्छ भनी मानसिक रूपले तयार भएका हुन्छन्, र पनि उनीहरूलाई गाह्रै हुन्छ ।

अध्ययन गर्न गएका युवाहरू घरमा खासै दुःख गरेका हुँदैनन् । अहिलेका धेरैजसो युवाहरू कलेजको अध्ययन सक्दासम्म एक छाक पकाएर खान सक्दैनन्, चाँहदैनन् । हुर्काइमा गलत भयो यो प्रविधिले ब्यस्त बनायो अहिलेका अधिकांश बच्चाहरू ब्यवहारिक छैनन् । सकिनसकी अनेक दुःख गरेर अविभावकले पुऱ्याइदिएका छन्, कोशिस गरेका छन् । प्लस टु सकेर जब उनीहरू कलेजका लागि विदेश जान्छन् धेरै कुरामा उनीहरूको परिस्थिति पौडिन नजानीकन समुन्द्रमा हामफाले जस्तो हुन्छ । स्कलरसीपमा कलेज या युनिभर्सिटीमै बसेर अध्ययन गर्नेहरूले ब्यवहारिक कठिनाइसँग सामना गर्नु नपरे पनि कलेजबाहिर बसेर आफ्नै खर्चमा पढ्ने विद्यार्थीहरूमध्ये अधिकांशले नसोचेका परिस्थितिहरू झेल्नुपर्ने हुन्छ । कलेजमै बसेर पढ्नेहरूका लागि पनि ‘एकेडमिक प्रेसर’ कम हुँदैन । कहिल्यै काम नगरेका युवाले एक्कासी अर्काको मातहतमा रहेर, उनीहरूको तजबिजका भाषा सुन्दै गर्नुपर्ने काम, पढाइको तनाव, आफै कमाउ, आफै पकाउलगायत जिन्दगीमा भइपरि आउने थप आकस्मिक दुःखहरूका बीच जीवन बडो संघर्षपूर्ण बनिदिन्छ । हरेक मानिसको शारीरिक र मानसिक अवस्था फरक हुन्छ । सबैले परिस्थिति सम्हाल्न सक्छन् भन्ने हुँदैन । आफूलाई धान्न नसकेर कति युवाहरू डिप्रेशनको सिकार भएका छन् ।

अध्ययनका लागि युरोप, अमेरिका, अष्ट्रेलिया, जापान या यस्तै अन्य मुलुक गएका आफ्ना सन्तान के गरेर बसिरहेका छन् ? कस्तो अवस्थामा छन् ? कुन मानसिक परिस्थितिबाट गुज्रिरहेका छन् भनेर हामी खासै वास्ता गर्दैनौँ । एयरपोर्ट काटेपछि सब ठिक हुन्छ, विदेशमा जे गरे पनि पैसा आउँछ, काम गऱ्यो कि पैसा आउने ठाउँमा केको दुःख ? अहिले ठुलो मानिस भनेर चिनिएकाहरू दुःख गरेरै त पढेका हुन् नि, कसैले घाँस काट्थे, कोही डिपार्टमेन्टल स्टोरमा काम गर्थे भन्ने मानसिकता बोकेका हामीमध्ये धेरैले उनीहरूको हुर्काइ र कामप्रतिको मूल्य-मान्यता फरक थियो या छ भन्ने बुझिरहेका हुँदैनौँ । ती सब गर्ने कोशिस गर्दागर्दै आफ्ना सन्तानहरू नाजुक मानसिक अवस्थाबाट पो गुज्रिरहेका छन् कि ? भनेर हामी कहिल्यै सोध्दैनौँ, सोच्दैनौँ । उनीहरूलाई चाडबाड मिस हुन्छ, आफ्नोपन मिस हुन्छ, अबेलासम्म सुत्न नपाउँदाको निन्द्रा मिस हुन्छ । ‘तिमीले के खायौ ? गाह्रो-अप्ठ्यारो के छ’ भनेर नसोधी कति पैसा कमाउँदैछौ ? तिमीलाई पठाउँदा यति पैसा खर्च भएको थियो भनिदिँदा उनीहरूमा बढ्ने निराशाको हामी अन्दाज गर्न सक्दैनौँ । अभिभावकले झुक्किएर पनि तिमीलाई पढाउँदा यति खर्च भयो, यस्तो भो, उस्तो भो, यति ऋण छ, उसका छोराछोरीले त यति पैसा पठाए जस्ता कुरा नगर्नु राम्रो हुन्छ । यस्ता कुराले उनीहरूमा थप तनाव पैदा गर्छ । भन्दै नभनी कसरी बुझ्छन् त भन्ने सवाल पनि पैदा होला, बुझ्नेले समय आएपछि जसरी पनि बुझ्छन् ।

यो देशमा गरिबी बढेको हाम्रा सन्तानले बाहिरबाट डलर नपठाएर होइन देशमा भ्रष्ट्राचार नरोकिएर हो । विभिन्न क्षेत्रमा वर्षेनी छुट्याउने गरिएको बजेट जस्ताको तस्तै उपयोग हुने हो भने मुलुकले अहिले धेरै फड्को मारिसकेको हुने थियो ।

एकातिर विदेश गएकाहरू अनेक परिस्थितिबाट गुज्रिरहेका छन् भने अर्कोतिर विदेश जाने कुरालाई लिएर आफ्नो साथमा भएका सन्तानलाई अभिभावकले दिने दबाब र सन्तानले अभिभावकलाई दिने तनाव उस्तै छन् । उ त गयो, खै तिम्रो त भएन, उसको भन्दा तिम्रो पढाई राम्रो थियो होइन ? खै त कलेज पाएको ? उसका बाबुआमाले त पठाए खै मलाई पठाएको ? म त जसरी भए पनि विदेशकै कलेजमा पढ्ने हो, कन्सल्टेन्सीलाई दिने पैसा चाहियो…, यस्ता संवाद घर-घर की कहानी झैँ भएका छन् । परिस्थिति सहज भएका र विदेश बस्न चाहनेहरूले उतै बसेर उद्यम गर्नु राम्रो कुरा हो तर सबैलाई विदेश बस्ने रुचि हुन्छ भन्ने हुँदैन ।

यो पङ्क्तिकारसँगको कुराकानीमा कतिपय अविभावकले सन्तानले बाहिरबाट डलर भित्र्याउँदा आफूलाई मात्र नभई देशलाई नै फाइदा हुने पनि बताए । सन्तान नफर्कियोस् भन्ने चाहना राख्नेमध्ये धेरैको डरचाहिँ यहाँ आएपछि के गर्छन् ? भन्ने देखियो । यो देशमा गरिबी बढेको हाम्रा सन्तानले बाहिरबाट डलर नपठाएर होइन देशमा भ्रष्ट्राचार नरोकिएर हो । विभिन्न क्षेत्रमा वर्षेनी छुट्याउने गरिएको बजेट जस्ताको तस्तै उपयोग हुने हो भने मुलुकले अहिले धेरै फड्को मारिसकेको हुने थियो । हामी आफूले आफैलाई धान्ने ब्यवस्थित मुलुकको सूचीमा परिसक्ने थियौँ । जहाँसम्म कामको कुरा छ, रोजगारी सिर्जना गर्ने माहौल राज्यले बनायो भने यहाँ गर्नुपर्ने र गर्न सकिने धेरै कुराहरू छन् । सिप र सर्टिफिकेट दुवैको उपयोग हुने अवस्था सिर्जना गर्न सकिन्छ । तर त्यसका लागि राज्यले अहिले जस्तो जे गर्न खोज्यो त्यसैमा तगारो हाल्ने होइन सहजीकरण गरिदिने नीति लिनुपर्छ ।