सम्हाल्ने हुती छैन, फिर्ता गर !

सम्हाल्ने हुती छैन, फिर्ता गर !


  • स्वयम्भूनाथ कार्की

‘सात राजनैतिक दलको गठबन्धन’ र त्यसका पक्षका दलहरू वा समुहहरूको निर्वाध हालीमुहाली रहेको यो कालखण्डमा सर्वसाधारण जनताको वेहाल भएको छ । जनताको यस्तो हविगत त औपनिवेशिक युगमा दास बनाइएका मुलुकका नागरिकहरूले पनि भोग्नु परेको थिएन । दुखको कुरा त यो छ कि नेपाल र नेपालीको यो हविगत बनाउने सात राजनैतिक दल र तिनका कृपापात्रहरू कानुनी रूपले विदेशी हैनन् । बाचाअनुसारको अढाइवर्षे प्रधानमन्त्रीत्वको भोग गर्न नपाएको रनाहामा प्रचण्डले शुरु गरेको विद्रोहले पाँच पुराना प्रधानमन्त्रीहरूलाई एक हुन प्रेरित ग ऱ्यो । अब उनीहरू हिजो आफैले टाउकोमा चढाएका विदेशीहरूले फनफनी घुमाएको देख्न सक्ने भएका छन् । यो कुरा विज्ञप्ति नै निकालेर भन्दैछन् । अर्थात्, राजाले जुन भयले गद्दी त्याग गरेका थिए त्यो झन् विकराल भएको छ ।

‘सात राजनैतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्वलगायत समग्र समस्याहरूको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणामार्फत पुनर्स्थापित गरिबक्सेका छौँ ।’ यो राजाको घोषणाको अंश हो जसमार्फत उनले मुलुकको हित गर्ने संकल्प देखाएर सात दलले गरेको उन्नाइसदिने आन्दोलनलाई मुलुक सुम्पिएका थिए । तीन बर्षमा पक्षघात लागेसरह भएको प्रजातन्त्रलाई ठिक गरेर निर्वाचनमार्फत राजनैतिक दलहरूलाई शासनभार बुझाउन मागेको, दिइएन । आन्दोलन भयो, यस आन्दोलनलाई लामो चल्न दिएमा नेपालको अस्तित्व नरहने अवस्था राजाले देखे । यो अवस्थाको भय देखाउन सोनिया गान्धीको विषेश दूतको रूपमा आएका करण सिंह सफल रहे । इतिहासले राजा र करण सिंहबीच भएको कुराकानी पक्कै खोेज्नेछ ।

राज्यको पुनर्संरचना, नयाँ राज्यप्रणाली भनेर जति भने पनि पुरानोको राम्रो पक्ष छोडेर बाँकी नराम्रो अपनाएको मात्र महसूस हुन्छ । मुलुक सम्हाल्ने हुति कुनै कोणबाट पनि देखिएन, त्यसैले फिर्ता गरे हुन्छ ! गरे हुन्छ मात्र हैन गर्नैपर्छ… ।

‘परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भइ शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चीरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु’ भनेर राजाले छोडेका थिए । त्यसपछि गठबन्धन पक्षधरहरूले निरन्तर उनी र उनको पक्षलाई ‘प्रतिगमनकारी’ भनि नै रहे । बिस्तारै शुरुमा उनीतिर देखिएका जस्ता लाग्नेहरू पनि गठबन्धन पक्ष रिझाउन लागे । प्रतिनिधिसभा पुनर्स्थापना गरेदेखि हालसम्म उनी र उनको पक्षले गठबन्धनलाई बाधा दिने काम गरेको कुनै घटना भेटिएको छैन । तैपनि राजाले छोडेपछि हमेशा हालीमुहाली गर्नेमध्येका पाँच पूर्व प्रमहरू गणतन्त्रमा खतरा देख्छन् । अर्थात् कुनैबेला आर्यघाट पुऱ्याएको र फर्कन नसक्ने भन्ने दाबी गरिएको राजतन्त्र फर्कने अवस्था देखेछन् । किनभने राजतन्त्रको विलोम गणतन्त्र हो र गणतन्त्रको विलोम राजतन्त्र होे । वर्तमानमा जुन भयवाह अवस्थाको रटान लगाइएको छ त्यो परिस्थिति ल्याउनमा गणतन्त्रइतरको कुनै भूमिका छैन ।

बीपीको राजनीति भए विकास आफै हुन्छ भन्ने अवधारणाले पनि करिव तीस वर्ष नै समय पायो । राजा महेन्द्रको विकासको निमित्त राजनीति हैन ठोस कार्यक्रम र लगन चाहिन्छ भन्ने अवधारणाले पाएको समय भने ११ वर्ष १ महिना र १६ दिन मात्र हो । पूरा पञ्चायतको तीस वर्ष यो अवधारणामा काम भएन, राजा वीरेन्द्रले वीपीको अवधारणा पछ्याएर ‘विकासको निमित्त राजनीति’ भन्ने नारा दिए । त्यसैले राजनीतिले विकास गर्छ, मुलुकको उन्नति गर्छ भन्ने अवधारणाले पर्याप्त समय मात्र पाएन अनेकौँ राजनैतिक अभ्यास पनि पायो । राजा वीरेन्द्रको सक्रिय राजनीति, त्यसपछिको संवैधानिक राजसंस्था र बहुदल अनि वर्तमानमा गणतन्त्र ।

हरेक अवस्थामा अहिले सात राजनैतिक दलको गठबन्धन भनिने राजनैतिक शक्तिहरू असफल नै भएका हुन् । राजा महेन्द्रको ११ वर्षको आधारशिलाको प्रभावले स्वचालित काम गर्दा मुलुकको पतनको गति केही कम भएको मात्र हो । यो करिव बीस वर्षको बहुदल र अहिलेसम्मको गणतन्त्रमा राजमार्गलाई लोकमार्ग भन्ने, पञ्चायतलाई विकास समिति र अहिले पालिका भन्ने जस्ता कामबाहेक केही देखिएको छैन । राज्यको पुनर्संरचना, नयाँ राज्यप्रणाली भनेर जति भने पनि पुरानोको राम्रो पक्ष छोडेर बाँकी नराम्रो अपनाएको मात्र महसूस हुन्छ । मुलुक सम्हाल्ने हुति कुनै कोणबाट पनि देखिएन, त्यसैले राजालाई फिर्ता गरे हुन्छ ! गरे हुन्छ मात्र हैन गर्नैपर्छ… ।