खेलकुद मन्त्रीद्वारा ‘ओलम्पिक डे’ शुभारम्भ

खेलकुद मन्त्रीद्वारा ‘ओलम्पिक डे’ शुभारम्भ



आधुनिक ओलम्पिक गतिविधिको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिकसँग आवद्ध विश्वभरिका राष्ट्रहरूले विविध कार्यक्रमको आयोजना गर्दै मनाइने कार्यक्रम ‘ओलम्पिक डे’ नेपालमा पनि पाँच दिन मनाइने भएको छ ।

उक्त कार्यक्रमको युवा तथा खेलकुदमन्त्री एकवाल मियाँले नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा शुभारम्भ गरे भने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।

कार्यक्रमलार्ई सम्बोधन गर्दै मन्त्री मियाले नेपाली खेलकुदको विकासका लागि टिम स्पिरिटको भावनाले अगाडि बढ्ने बताए । आफू राजनीकर्मी मात्र नभइ विकास क्षेत्रबाट अगाडि आएकोले पहिले भन्दा अहिले अझै राम्रो गर्न कसरी सकिन्छ दत्तचित्त भएर लाग्ने उनले बताए । त्यसका लागि उनले सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । उनले खेलकुदको विकासका लागि आफू सबै प्रकारको सहयोग गर्न र जुनसुकै समयमा सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रमको बारेमा जानकारी दिँदै अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिकसँग आवद्ध विश्वका सबै राष्ट्रमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको र त्यही क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमसहित पाँच दिनसम्म सञ्चालन हुने बताए ।

श्रेष्ठले खेलाडी मात्र नभइ सबैलाई समेटेर ब्यापक रूपमा ओलम्पिकसँग सहकार्य गर्दै अगाडि बढाउनुपर्ने बताए । ओलम्पिक खेल मात्र नभई साँस्कृतिक रीतिरिवाज र विश्व भातृत्वमार्फत शान्ति अभियानलाई अघि बढाउनु उद्देश्य रहेको जानकारी दिँदै उनले ‘ओलम्पिक डे’लाई भब्यताका साथ मनाउने उद्देश्य रहेता पनि कोभिड महामारीका कारण खुम्चिनु परेको समेत बताए ।

सो अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठले मैत्रीपूर्ण टेबल टेनिस खेलेका थिए । कार्यक्रमका संयोजक कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दे ओलम्पिक डेको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कमिछीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज राजबैद्य, उपाध्यक्ष ज्योती राणा, अशोक बज्राचार्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, सचिव तुलसा थापा, रामजीबहादुर श्रेष्ठ, सदस्यहरू, ओलम्पियनहरूको उपस्थिति रहेको थियो ।

ओलम्पिक डेका अवसरमा नेपालका ३५ जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको संयोजक श्रेष्ठले बताए ।