वाइल्ड कार्डद्वारा पलेशा पाराल्याम्पिकमा छनोट

वाइल्ड कार्डद्वारा पलेशा पाराल्याम्पिकमा छनोट



नेपाली पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धन टोकियो पाराल्याम्पिक गेम्स २०२० मा छनोट भएकी छन् । पलेशाले वाइल्ड कार्डमार्फत पाराल्याम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जारी गरेको विज्ञप्ति जनाइएको छ ।

जापानको टोकियोमा आउँदो भदौ १७ देखि १९ गतेसम्म आयोजना हुने पाराल्याम्पिकमा गोवर्धनले (के ४४ देखि ५८ केजी) मुनिको समुहमा प्रतिस्पर्धामा गर्ने छिन् । गोवर्धनले पहिलो पटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् ।

नेपाली पारा तेक्वान्दो खेलाडीहरूले ०७८ जेष्ठ ७ गते जोर्डनको अम्मान शहरमा पाराल्याम्पिकको लागि छनोट प्रतियोगिता खेल्नुपर्ने कार्यक्रम तय थियो । तर कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुनुका साथै उक्त छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न विदेशी खेलाडीहरूले तेश्रो मुलुकमा कम्तिमा २ हप्ता आइसोलेशनमा बस्नुपर्ने बाध्यताका कारण छनोट प्रतियोगिता खेल्नबाट वञ्चित हुनुपरेको थियो ।

छनोट प्रतियोगिताका लागि पलेशालगायत ६ खेलाडीहरूलाई संघले चयन गरेको थियो । उक्त छनोट खेल्न वञ्चित भएपछि नेपाल तेक्वान्दो संघले पलेशा र रञ्जना धामी (के.४४, ४९ केजी) को नाम राष्ट्रिय पारालम्पिक कमिटिको समन्वयमा वाइल्ड कार्डको लागि पहल गरेको थियो ।

पलेशा गोबर्धन विश्व तेक्वान्दो महासंघको १३औँ बरियता (र्‍याङ्किङ) मा रहेको र विश्व तेक्वान्दो महासंघ एवं अन्तर्राष्ट्रिय पाराल्याम्पिक कमिटिबाट नेपाललाई एउटा मात्रै कोटा दिने व्यवस्था भएकोले नेपाली पारा राष्ट्रिय खेलाडी पलेशा गोबर्धनले के.४४, ५८ के.जी मुनि तौल समुहमा वाइल्डकार्ड प्राप्त गर्न सफल भएको संघले जानकारी गराएको छ ।

नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल तेक्वान्दो संघअन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ सालदेखि नियमित तालिम तथा प्रशिक्षण लिइरहेकी छिन् । पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पकट के.४४, ५८ केजीमाथि तेश्रो स्थान प्राप्त गर्न सफल भइ मुलुकलाई कास्य पदक दिलाएकी थिइन् ।

त्यस्तै, उनले पहिलो पटक कोरियामा आयोजना भएको तेश्रो एशियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के ४४, ५८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्दै पाँचौँ स्थान प्राप्त गर्न सफल भएकी थिइन् । सोही वर्ष लण्डनमा आयोजित सातौँ विश्व पारा तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि पाँचौँ स्थानमा प्राप्त गरेकी थिइन् ।

यस्तै, पाँचौँ एशियन पारा तेक्वान्दो प्रतियोगिता आम्मान, जोर्डन २०१९ मा भएको खेलमा के.४४, ५८ केजीमाथि पाँचौँ स्थानमा र आठौँ विश्व पारा तेक्वान्दो प्रतियोगिता टर्की मा के.४४, ५८ केजी माथि तौल समुहमा उत्कृष्ट प्रदर्शनका गर्दै पाँचौँ स्थान प्राप्त गर्न सफल भएकी थिइन् ।