टोकियो ओलम्पिकका लागि विम्बल्डन नखेल्ने ओशाकाको निर्णय

टोकियो ओलम्पिकका लागि विम्बल्डन नखेल्ने ओशाकाको निर्णय



जापानी टेनिस स्टार नाओमी ओशाकाले विम्बल्डन टेनिस च्याम्पियनसिपबाट आफ्नो नाम फिर्ता लिएकी छन् । विश्व बरियता क्रममा दोश्रो स्थानमा रहेकी ओशाकाले टोकियो ओलम्पिकलाई मध्यनजर गर्दै विम्बल्डन नखेल्ने फैसला गर्दै नाम फिर्ता लिएकी हुन् । ओशाकाले विम्बल्डनबाट आफूले नाम फिर्ता लिनुलाई निजी कारण भएको बताएकी छन् ।

टेनिसको सबैभन्दा लोकप्रिय ग्य्राण्ड स्ल्याम विम्बल्डनको २०२१ को संस्करण आगामी जुन २८ गतेदेखि शुभारम्भ हुँदैछ । त्यस्तै स्पेनका चर्चित टेनिस खेलाडी राफेल नाडालले पनि विम्बल्डन र टोकियो ओलम्पिक नखेल्ने निर्णय गरेका छन् ।

ओशाका एजेन्ट स्टुअर्ट डुगिडले असार ६ गते एएफपीलाई इमेल गर्दै ओशाकाले विम्बल्डन नखेल्ने निर्णय गरेको जानकारी दिएका थिए । डुगिडले भनेका छन्- ‘यो वर्ष ओशाकाले विम्बल्डन नखेल्ने निर्णय गरेकी छिन्, उनी यतिबेला साथी र परिवारका साथ केही समय व्यतीत गर्न चाहन्छिन्, त्यसपछि उनी टोकियो ओलम्पिकको तयारीमा लाग्ने छिन्, ओशाका घरेलु दर्शकसमक्ष ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्नको लागि निकै उत्साहित छिन् ।’

घाँसे कोर्टमा खेलिने विम्बल्डनमा ओशाका सन् २०१७ र २०१८ को तेस्रो चरणमा पराजित भएकी थिइन् । त्यस्तै, २०१९ मा ओशाका पहिलो चरणमै पराजित भएकी थिइन् भने २०२० को विम्बल्डन कोरोना महामारीका कारण रद्द भएको थियो ।

ओशाका जापानको लागि टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने सम्भावित खेलाडीमध्येकी एक हुन् । विगतका केही वर्षमा ओशाकाले गरेको उत्कृष्ट प्रदर्शनले पनि यो कुरालाई पुष्टि गर्छ । विश्वकै लोकप्रिय महिला टेनिस खेलाडीमध्यकी एक ओशाका अहिले विश्वभरि करोडौँ फ्यान छन् । ओशाकाले अहिलेसम्म चारवटा ग्य्राण्ड स्ल्याम जितिसकेकी छिन् । उनले गत वर्ष युएस ओपन र यो वर्ष अष्ट्रेलियन ओपनको उपाधि हात पारेकी थिइन् ।

२३ वर्षीय ओशाका हालै सम्पन्न फ्रेन्च ओपन बीचैमा छाडेकी थिइन् । फ्रेन्च ओपनको पहिलो चरण जितेर दोश्रो चरणमा प्रवेश गरे पनि खेलपछि संवाददाता सम्मेलनमा नगएका कारण उनलाई आयोजक समितिले जरिमाना गरेको थियो । समितिले नियमबमोजिम संवाददाता सम्मेलनमा नगएको भन्दै ओशाकालाई १५ हजार डलरको जरिवाना गरेको थियो । त्यसपछि उनले फ्रेन्च ओपनको बाँकी खेल नखेल्ने निर्णय गरेकी थिइन् । यो भन्दाअघि २०१८ मा पनि ओशाकाले मानसिक तनावका कारण बर्लिन डब्लुटीए च्याम्पियनसिप नखेल्ने निर्णय गरेकी थिइन् ।