आईपीएलका बाँकी खेल युएईमा गर्ने बीसीसीआईको निर्णय

आईपीएलका बाँकी खेल युएईमा गर्ने बीसीसीआईको निर्णय



इन्डियन प्रीमियर लिग (आईपीएल)को चौधौं संस्करणका बाँकी खेल १९ सेप्टेम्बरदेखि शुभारम्भ हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जानकारी गराएको छ । केही समयअघि बीसीसीआईले आईपीएलका बाँकी खेलहरू संयुक्त अरब इमिरेटमा (युएई)मा खेलाउने जानकारी गराए पनि मिति भने घोषणा गरेको थिएन ।

भारतमा कोरोनाको महामारी ब्यापक रूपमा फैलिएपछि आईपीएलको चौधौं संस्करण बीचैमा स्थगित भएको थियो । यसपछि बाँकी खेल कहिले र कहाँ आयोजना गरिने बारेमा कुनै जानकारी गराइएको थिएन । अब आईपीएलको चौधौँ संस्करणका बाँकी खेलहरू १९ सेप्टम्बरदेखि शुरु हुनेछन् भने फाइनल खेल १५ अक्टुबरमा हुनेछ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र इमिरेट क्रिकेट बोर्डबीच हालै बसेको बैठकले आईपीएलका बाँकी खेलहरू युएईका प्रमुख शहरहरू दुबई, शारजाह र आबुधावीमा आयोजना गर्ने सहमति भएको हो । आईपीएलको चौधौँ संस्करण कोरना महामारीका कारण स्थगित भएपछि बाँकी खेल आयोजनाको लागि विभिन्न राष्ट्रहरूले दाबेदारी प्रस्तुत गरेका थिए । त्यसमध्ये युएई पनि एक थियो ।

आईपीएलको १३औँ संस्करणको आयोजना युएईमा नै भएको थियो । उक्त संस्करण युएईका दुबई, शारजाह र आबुधावीमा शहरमा सफलतापूर्वक सम्पन्न भएको थियो । यही कुरालाई मध्यनजर गर्दै युएईले बाँकी खेलको आयोजनाको लागि दाबी गरेको थियो । युएईले बीसीसीआईको बोर्ड बैठक बसेर निर्णय गर्नुअघि नै मौखिक रूपमा मन्जुरीसमेत दिएको थियो ।

आईपीएलको बाँकी खेलहरू युएईमा आयोजना हुने टुङ्गो लागेसँगै उक्त प्रतियोगितामा विदेशी खेलाडीको उपस्थितिको बारेमा प्रश्न उठेको छ । यो विषयमा बीसीसीआईले सम्पूर्ण विदेशी खेलाडीहरूसँग कुराकानी भइरहेको र परिणाम सकारात्मक आउने कुरामा आफू विश्वस्त रहेका बताएको छ । केही खेलाडीबाहेक प्राय सबै विदेशी खेलाडीले आईपीएलमा सहभागिता जनाउने बीसीसीआईका एक अधिकारीको दाबी गरेका छन् ।

कोरोना भाइरसका कारण आईपीएलको १४औँ संस्करण ४ मेदेखि स्थगित भएको थियो । २ मे सम्म २९ खेल भएका थिए । यो अवधिसम्म दिल्ली क्यापिटल्सले ८ खेलमा ६ जितका साथ शीर्ष स्थानमा रहेको थियो । त्यस्तै चेन्नई सुपर किङ्ग र आरबीसीले पाँच पाँच खेल जित्दै दोश्रो र तेस्रो स्थानमा थिए । अब आईपीएलका बाँकी खेलहरू २५ दिनमा सम्पन्न हुनेछन् ।