- प्रभात अधिकारी
वैदिक वांगमय अनुसार दर्शन शब्द दृश् धातुबाट बनेको छ जसको अर्थ ‘देख्नु’ हुन्छ । ‘दृश्यते वस्तुतत्त्वम् अनेन इति दर्शनम्’, अर्थात् जसबाट वस्तु तत्व देखिन्छ/बुझिन्छ त्यो दर्शन हो । अझ विस्तारमा भन्नुपर्दा जसबाट परमेश्वरको वा परब्रह्मको साक्षात्कार (दर्शन) गर्न सकिन्छ त्यस्तो ज्ञान/विज्ञान नै दर्शन हो । यहाँ परमेश्वरको वा परब्रह्मको बारेमा जान्नु भन्नुको अर्थ विश्व ब्रम्हाण्ड, चराचर जगत, यसको संरचना, ब्रम्हाण्डको संचालन र संचालनको आधारलगायत समग्र कुराको बारेमा जुन ज्ञानले बताउँदछ त्यसलाई दर्शन भनिन्छ ।
पूर्वीय वाङमयको परिभाषाअनुसार मार्क्सको विचारलाई दर्शनको कोटिमा राख्नु उपयुक्त हुँदैन । यद्यपि मार्क्सका अनुयायीहरूले दर्शन मान्लान्, त्यो उनीहरूको कुरा हो । जीवन जगत र विश्व ब्रम्हाण्ड आदि कुनै पनि विषयमा यथार्थ र स्पष्ट धारणा नभएको, केवल आर्थिक पक्ष र केहि सामाजिक, राजनैतिक विषयहरूमा सामान्य धारणा मात्र राखेकोले त्यसलाई दर्शन भनिनु गलत हुनेछ ।
मार्क्सको अध्ययनको दायरा सीमित थियो । मार्क्सले तत्कालिन परिस्थितिमा आफूले भोगेका, वरिपरि देखेका कुराहरू र सीमित केहि थान पुस्तकमा भएका सामग्रीको आधारमा आफ्नो विचारहरू राखेका हुन् । उनले चरम गरिबी र आर्थिक सङ्कटमा जीवन बिताए, त्यसैले धन अर्थात् आर्थिक पाटोको बारेमा बढि सोचे । उनले तत्कालिन युरोपको इसाई मत र त्यसले समाजमा पारेको नकारात्मक प्रभावहरूका बारेमा देखे त्यसैले रिलिजनलाई ‘अफिम’ भने ।
उनि अफ्रिका हुँदै अमेरिकासम्म पुगेका भए सायद काला जातिमाथि सेता जातिले गरेको अन्याय देख्थे होलान् । भारतवर्षको भूभागसम्म आएका हुन्थे भने यहाँको धर्म र संस्कृतिसँग परिचित हुन्थे होलान् । अन्यत्र पनि भ्रमण गरेका र बुझेका भए अलि पाको र परिपक्व विचारको निर्माण गर्थे होलान् । किनकि, मार्क्सले देख्न र भोग्न बाँकी अरु हजारौँ कुराहरू थिए । उनि पूर्ण थिएनन्, उनले आफ्नो विचारलाई पूर्ण बनाउनै सकेनन् र त्यो उनीबाट सम्भव पनि थिएन । पश्चिमा इसाई समाजमा लेखिएका र देखिएका कुराहरू निचोरेर सर्वमान्य दर्शन बन्न सक्दैन । स्वयम् युरोपको लागि मार्क्सको विचार एक आदर्श दर्शन बन्न सकिरहेको छैन हाम्रो लागि कसरी बनोस् ? त्यसैले मार्क्सको विचारहरूका सन्दर्भमा आजभोलि जति सकारात्मक चर्चा हुने गरेका छन्, त्योभन्दा धेरै नकारात्मक टिप्पणीहरू हुन थालेका छन् ।
मार्क्सको विचारलाई मूल आधार मानेर राज्य संचालन गर्नेहरू एकपछि अर्को गर्दै पतनको मार्गमा पुगेका छन् । सोभियत संघ टुक्रा-टुक्रा भयो । चीन आदि मुलुकले मार्क्सवादलाई समातेर माओवादको यात्रा तय गरे तापनि अहिले मार्क्सवादको नामोनिसान छैन । चीन पुँजिवादी मोडेलकै परिस्कृत स्वरुपमा अगाडि बढिरहेको छ । उत्तर कोरियामा मनिस साङ्ग्लोले बाँधिएका बन्धक झैँ नारकीय जीवन बिताइरहेका छन्, यद्यपि त्यहाँका मानिसहरू भोको छैनन् होला तर आजभन्दा ३०० वर्ष पहिलेको शासकको बोली नै कानुन हुने जस्तो परिस्थिति छ । कपाल काट्ने, लगाउने, खाने, मनोरञ्जन गर्ने जस्ता हरेक कुरामा राज्यको नियन्त्रण छ । अन्य कम्युनिष्ट राष्ट्रहरू या त राजनैतिक सङ्कटमा छन्, या चरम गरिबी र अस्थिरताको जालोमा छन्, हाम्रा सामु प्रसस्तै उदाहरण छन् । यसबाट स्पष्ट हुन सक्छौँ- मार्क्सवादले राजनैतिक निकास दिन सक्दैन । मार्क्सवादलाई अङ्गिकार गरेर राज्यको सर्वोपरि विकासका साथसाथै नागरिकहरूमा खुशी, समृद्धिसहितको सिर्जनशील समाजको निर्माण हुनै सक्दैन । नेपालका मार्क्सवादिहरूको हविगत र यिनिहरूले गरेका कृत्यहरूका बारेमा बताइरहन नपर्ला !
मार्क्स संसारको आधार पदार्थलाई मान्दछन् र पदार्थबाट नै चेतनाको विकास हुने तर्क गर्छन् । मार्क्सवादीहरू भौतिक (दृश्य) बाहेक अदृश्य कुराको अस्तित्व स्विकार्दैन्, यो भनेको हार्डवेयर चाहिने सफ्टवेर नचाहिने भनेजस्तै हो । पूर्वीय दर्शनका अनुसार कुनै पनि कुरा सृष्टि हुनुपूर्व शब्द बन्दछ त्यही शब्दरूप यथार्थमा परिणत हुनको लागि प्रकृति हुँदै बस्तु अर्थात् पदार्थको क्रमिक विकास हुन्छ । आजभोलिको व्यवहारिक कोणबाट हेर्यौँ भने पनि जे-जति भौतिक कुराहरू आविष्कार भएका छन् ति सबै शुरुवातमा शब्दरूप अर्थात् चेतनाको रूपमा आएर पछि पदार्थ वा वस्तुको आविष्कार भएको हो । चेतना (सोच) वा शब्दरूप बिना ति वस्तुहरूको अस्तित्व सम्भव छैन । पदार्थको सत्ताभन्दा चेतनाको सत्ता सधै माथि हुन्छ, जुन मार्क्सवादीहरू स्वीकार गर्दैनन् र, यो गलत हो ।
नेपाली कमुनिष्टहरू मार्क्सले धर्मलाई अफिमको संज्ञा दिएको तर्क गर्छन् । ‘रिलिजन’को अर्थ धर्म होइन । मार्क्सले युरोपको ‘रिलिजना’लाई अफिम भनेका हुन् । मार्क्स धर्मको बारेमा अनविज्ञ थिए । यदि उनले धर्मको परिभाषा जानेका भए धर्मलाई अफिम भन्ने नै थिएन । उनले उनकै समाजमा भएको रिलिजनालाई अफिम भनेका हुन् । रिलिजन भनेको विश्वास प्रणालीमा आधारित कुरा हो । बाइबल वा कुरानमा जे लेखिएको छ त्यसलाई बिनाआलोचना मान्नु ‘विश्वास प्रणाली’ हो । यसैलाई रिलिजन भनिन्छ । तर पूर्वीय दर्शनमा धर्म शब्दको व्यापक अर्थ र परिभाषा छ ।
उदाहरणको लागि मनु महाराजले बताउनुभएको धर्मको १० लक्षण हेरौँ-
धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः ।
धीर्विद्या सत्यमक्रोधो, दशकं धर्मलक्षणम् ।।
अर्थात् धैर्य, क्षमा, दम (वासना नियन्त्रण), अस्तेय (चोरी नगर्ने), शौच (अन्तरंग तथा बाह्य सुद्धता), इन्द्रिय निग्रहः (इन्द्रियलाई वशमा राख्ने), धी (बुद्धिमत्ताको प्रयोग), विद्या, सत्य (मन वचन कर्ममा सत्यको पालन) र अक्रोध (क्रोधित नहुने) यी दश धर्मको लक्षण हो । यदि कार्ल मार्क्सको सिद्धान्तले धर्मलाई अफिमको संज्ञा दिन्छ साथै मार्क्सवादी अनुयायीहरू धर्म अफिम भन्दै हिँड्छन् (वा धर्मलाई गलत भन्छन्) भने उनीहरू चोरी नगर्ने, झुट नबोल्ने, अर्काको धनप्रति लोभ नगर्ने, र क्रोध नगर्ने जस्ता असल आचरणहरू सिकाउने कुराको विरोध गर्दैछन् ।
कार्ल मार्क्सले समाजमा दुई वर्गका मानिस पुँजीपति (धनाढ्य) र गरिब (श्रमिक) हुने र ती दुई वर्गका मानिसहरू बीच निरन्तर द्वन्द्व हुने बताएका छन् । जबकि समाजमा अर्को मध्यम वर्ग पनि हुन्छ । स्पस्ट रूपले देखिने गरी समाजमा धनी, गरिब र मध्यम वर्ग हुन्छन् । यसको पनि ठ्याक्कै मापन एकाई छैन, कसलाई धनी भन्ने कसलाई गरिब भन्ने ? बरु समाजमा धेरै आर्थिक वर्गीयता हुन्छ भनियो भने त्यो सही हुन सक्छ । तर निश्चित दुई वर्ग मात्र भनिनु कदापि सहि होइन ।
मार्क्सको पुँजीपति र मजदुर वर्गबीच संघर्ष हुने वा वर्ग संघर्ष गर्नुपर्ने तर्क गर्छन्, यो अत्यन्त हास्यास्पद र असभ्य तर्क हो । पुँजीपतिको अस्तित्व श्रमिकसँग हुन्छ, र श्रमिकको अस्तित्व पुँजीपतिसँग हुन्छ । पुँजिपतिले कामअनुसारको दाम दिएर श्रमिकलाई खुशी र सुखी बनाउँछन् । हरेक श्रमिक आफ्नो काम, लगनशिलता र पाखुरी-बलको आधारमा व्यक्ति स्वयममा पुँजीपति बन्ने अवसर प्राप्त गर्न सक्छन् । तर मार्क्सले यी दुई वर्गबीच संघर्ष गर्नुपर्छ भन्नुको अर्थ उद्योग व्यवसायविहीन विश्वको निर्माण गर्ने भन्न खोजेको हो ? उद्योगी व्यवसायी तथा पुँजीपतिविहीन राज्य बनाउँदा श्रमिकको पेटमा अन्न कसले भर्छ ?
कार्ल मार्क्स सामाजिक जीवनको आधार संघर्षलाई मान्दछन् । वास्तवमा सामाजिक जीवनको आधार संघर्ष नभएर परस्पर सहयोग, आत्मियता र सहिष्णुता हो । मार्क्सको दृष्टिकोणलाई आधार मान्ने हो भने समाजमा कहिल्यै शान्ति हुँदैन, निरन्तर संघर्ष भइरहन्छ । मार्क्सको यो भनाइले समाजमा कहिल्यै पनि शान्तिको कल्पना नगरेको बुझिन्छ । यो अत्यन्त गम्भीर र आपत्तिजनक तर्क हो । नेपाली समाज भनेको अपरिचितलाई पनि बोलाएर भोजन खुवाउने र स्वागत सत्कार गर्ने समाज हो । अझै पनि गाउँघरमा पैँचो दिने चलन छ । मर्दापर्दा १० गाउँले जम्मा भएर सहभागी हुने परम्परा छ । यसले हाम्रो समाजलाई बलियोसँग बाँधेर राखेको छ ।
हत्या हिंसाले बिनासकै बाटो समाउँछ । समाजमा समस्या छन् भने तिनको शान्तिपूर्ण माध्यमले नै तिनको समाधान गरि सुखी समाजको निर्माण गर्न सकिन्छ । क्रान्ति वा हत्या-हिंसाको संघर्षले रक्तपातको अवस्था सिर्जना गर्छ, र त्यसबाट प्राप्त शान्ति सबैको निम्ति स्वीकार्य हुँदैन । जब वैचारिक रूपले वा शान्तिमय तवरले समाजको समस्या र असमानताको समाधान गरिन्छ भने मात्र त्यो दिगो र सर्वस्वीकार्य हुन्छ ।
मार्क्स हिंसाद्वारा समाज परिवर्तन हुन्छ भन्ने ठान्छन् । कमुनिष्टहरू बन्दुकको नालबाट सत्ता कब्जा भन्छन्, सायद मार्क्सको यही भावनाबाट प्रेरित भएर भनेका होलान् । यस्ता बेतुक तर्कले समाजलाई निरन्तर रक्तपातपूर्ण स्थितिमा धकेल्न मद्दत गरिरहेको छ । मार्क्सको उच्चतम् उद्देश्य भनेको वर्गविहीन र राज्यविहीन विश्व हो । संसारमा ७ अर्ब मानिस छ । ति सबै मानिसहरूको आ-आफ्नै सोच छ, कोही पनि उस्तै छैनन्, आर्थिक, सामाजिक र मानसिक हरेक कुरामा एकअर्कामा फरक छन्, ति सबैको फरक पृष्ठभूमि छ ।
मार्क्सका अनुसार वर्गविहीन राज्य बनाउन हिंसाको सहारा लिने हो भने कहिलेसम्म हिंसा गरिरहने ? कति मानिस मारेपछि वर्गविहीन विश्वको निर्माण होला ? मार्क्सको वर्गविहीन समाज तब मात्र सम्भव छ जब यस धर्तीमा मानवको अस्तित्व सकिन्छ । अन्यथा मानिस–मानिसबीचको विविधता हिंसाद्वारा खत्तम गर्छु भन्नु मान्छे मारेर सिध्याउँछु भन्नु जस्तै हो ।
मार्क्स उत्पादनको प्रमुख कारण मजदुरको श्रमलाई मान्छन् तर मानसिक श्रमको बारेमा उनी अनविज्ञ छन् । उनका अनुसार जति धेरै श्रम त्यति धेरै बस्तुको मूल्य । अर्थात् बस्तुको मुल्यसँग श्रमिकको श्रम मात्र सम्बन्धित हुन्छ । श्रम भन्दा पहिले बुद्धि, सिर्जना र आविष्कार महत्वपुर्ण हुन्छ । आविष्कार गर्ने सोच्ने कुरा मार्क्सले व्याख्या गरेको जस्तो श्रम होइन र त्यो श्रमिकले गर्दैनन् । १–२ व्यक्तिको सिर्जना वा अनुसन्धानको आधारमा हजारौँ कामदारहरूले काम गर्छन् । आविष्कार र सिर्जना श्रमिकले गर्दैनन्, तीक्ष्ण बुद्धि भएको व्यक्तिले गर्छन् । त्यस्ता व्यक्तिले बुद्धि नखियाउने हो भने मजदुरले काम पाउँदैनन् । त्यसैले बस्तुको मूल्य श्रमिकको श्रम मात्रले निर्धारण गर्दैन, त्यसको आविष्कार वा सिर्जनाले मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्छ । श्रमिकको अस्तित्व चेतनशील व्यक्तिको आविष्कारमा पुँजी जोडिएपछि मात्र हुन्छ । वस्तुको मूल्य निर्धारण हुनको लागि समय, बजारको माग, मानिसहरूको रोजाई आदि कुराले भूमिका खेल्छ न कि श्रम मात्रले ।
मार्क्सले श्रमिक वर्गको अधिनायकत्वको कल्पना गरेका छन् । एक त्यस्तो अवस्था जहाँ श्रमिक र पुँजीपति बीच द्वन्द्व भएर पुँजीपतिको अन्त्य भएको होस् तब श्रमिक वर्गको राज हुनेछ । मार्क्सले कल्पना गरेको त्यस्तो अवस्था आइपुग्यो भने नेपाली उखान ‘लुटेको धनले फुपुको श्राद्ध’ भनेजस्तै पुँजीपतिहरूको पुजी श्रमिकहरूको हातमा आउला तर त्यसको सहि व्यवस्थापन हुन नसकेर वा थप पुँजीको निर्माण गर्न नसकेर निकट भविष्यमा पुँजीविहीन समाजको निर्माण हुनेछ र स्वयम् श्रमिकहरू समेत भोकै पर्नेछन् । पुँजीको निर्माण नगरी पेट भरिँदैन, पुँजीको निर्माण गर्नको लागि दिमाग भएका पुँजीपति नै चाहिन्छ । श्रमिक (बल भएका) वर्गले पुँजिपतिलाई परास्त गर्ने भनेको लुटेराहरूले धनि व्यक्ति लुटेर केही समय मोज गर्ने भनेको हो । समाजमा एकजना पुँजिपतिका कारण सयौँ-हजारौँ व्यक्तिले रोजगारी पाउँछन् । एक जना पुँजिपतिले हजारौँको पेट भरिरहेको हुन्छ । तर एउटा मजदुर र श्रमिकले आफ्नो परिवार मात्रै पाल्न सक्छ । त्यस्ता सर्वहारा (आफूसँग केही नभएको) वर्गको अधिनायकत्व हुँदा उसले समाजलाई के दिन सक्छ ? त्यस्ता सर्वहाराले समाजलाई कस्तो नेतृत्व गर्ला ?
इसाईहरू विश्वलाई नै यहोबाको राज्य बनाउन चाहन्छन् । अर्थात सिङ्गो विश्व इसाई साम्राज्य । गैरइसाईलाई इसाई बनाएर विविधता मास्नु इसाईहरूको मूल लक्ष्य हो । अफ्रिका र एसियाका गरिब राष्ट्रहरूमा झाङ्गिएको मिसनरी अभियानहरू हेर्न सकिन्छ । युरोपमै प्राचिन पेगन संस्कृति मासेर इसाईकरण गरिएको थियो । त्यस्तै, कम्युनिस्टहरू सिङ्गो संसार नै कम्युनिस्टमय बनाउने र सीमाविहीन एक राज्य जहाँ सर्वहारा वर्गको अधिनायकत्व भएको होस् । इसाईहरूको सोच र मार्क्सवादीहरूको सोचमा धेरै समानता छ । यिनीहरू दुवै विविधताको र फरक अस्तित्वका विरोधि हुन् ।
इसाईहरू संसारका सबै गैरइसाईहरूलाई पापी÷सैतान ठान्छन् र मुक्तिका लागि बाइबल कबुल गर्नुपर्ने, जिससको नाममा बप्तिस्मा लिनुपर्ने तर्क गर्छन् । त्यस्तै, कम्युनिष्टहरू संसारका सबै मानिसहरू मुक्त÷स्वतन्त्र हुनको लागि कम्युनिष्ट राज्य हुनुपर्ने तर्क गर्छन् । उनीहरू संसारभरिका सबै मानिसलाई मजदुर बनाउन चाहन्छन्, मजदुरकै शासन र मजदुरकै प्रशासन । कम्युनिष्टहरू आफूबाहेकको फरक राजनैतिक आधार भएका संरचना (मुलुक) हरूलाई औपनिवेशिक, सामन्ती, लुटेरा र अन्यायी व्यवस्थाको संज्ञा दिन्छन् । यो इसाईहरूले आफूबाहेकलाई पापी देखेको जस्तै हो । जसरी इसाईहरूले अनन्त स्वर्गको लोभलालच देखाएर मानिसहरूलाई बाइबल कबुल गराउँछन, ठीक त्यसरी नै कमुनिष्टहरू साम्यवादी समाजको निर्माण भएपछि कोही भोको हुँदैन, असमानता रहँदैन र सबै आनन्दित हुन्छन् आदि तर्क गर्छन् । वास्तवमा यो दुवै नाराहरू कपोकल्पित र झुट हुन् ।
साथै इसाईहरूले गैरइसाईहरूलाई सैतान देख्ने र मार्क्सवादीले गैरमार्क्सवादी वा गैरकम्युनिष्टलाई दलाल, पुँजिवादी र लुटेरा देख्ने एकैखाले रोग हो । कम्युनिष्ट व्यवस्थामा हुने स्वतन्त्रताको हरण र अत्याचारको विषयमा प्रश्न उठाउन पाइँदैन, किनभने त्यो उनीहरूको भाषामा प्रतिगामी र दलाल हो । कम्युनिस्टहरूको पूर्ण बहुमत भएको र राजनीति लगायतमा उनीहरूकै सर्वेसर्वा भएको अवस्थामा त्यस्ता प्रश्न उठाउनेहरू मारिने परम्परा छन् । त्यस्तै इसाईपन्थ वा बाइबलको बारेमा प्रश्न उठाउन पाइँदैन, प्रश्न उठाइयो भने प्रेतात्मा लागेको, विश्वास नपुगेको आदि कुतर्क थोपरिन्छ । जसरी हुन्छ आफ्नो मत जबर्जस्ती स्विकार्न बाध्य पार्ने इसाई र मार्क्सवादीको एउटै रणनीति देखिन्छ ।
कम्युनिष्टको विचारहरू सुन्दा राम्रै सुनिन्छ, तर व्यवहारमा लागु गर्न शतप्रतिशत असम्भव छ । प्राकृतिक श्रोतसाधन व्यक्तिको होइन, यसमा सबैको अधिकार हुनुपर्छ भन्दा राम्रो सुनिन्छ । सबै व्यक्तिलाई बराबर अधिकार हुन्छ भन्नु सही हो, तर बराबर अधिकारको प्रयोग गरेर धेरै कर्म गरी धेरै कमाएर धेरै भोग गर्न नपाइने ? गरिबहरूको बाहुल्य भएको समाजमा कम्युनिष्टहरूको नारा छिटो बिक्री हुन्छ । सबैले गाँस, बास र कपासको बराबर अधिकार पाउनुपर्छ, जल र जमिन सबैमा सबैको बराबर पहुँच र अधिकार हुनुपर्छ भन्दा गज्जÞब सुनिन्छ । तर कर्म गर्ने र नगर्नेबीच बराबर अधिकार हुन्छ ? २४ घन्टामा १८ घण्टा खटिएर भारी बोक्ने मजदुरले दिनमा ६ घण्टा मात्रै भारी बोक्नेले भन्दा धेरै पारिश्रमिक पाउनुपर्छ । यसरी धेरै परिश्रम गरेर धेरै आर्जन गरेकाले स्वतन्त्र ढङ्गले आफूले आर्जेको धनको उपयोग गरि स्वविवेकले त्यसको उपभोग गर्न पाउनुपर्छ । तर सबैमा सबैको बराबर भन्नु विकास र प्रगतिविरोधी धारणा हो ।
भारतवर्षमा मुगल (मुस्लिम) र पछि आएका अंग्रेज (इसाई) हरूले लामो समय शासन गरे, सो समयमा हाम्रो मौलिक धर्म-संस्कृति र कुल परम्परामाथि धेरै प्रहारहरू भए । नेपाली र भारतीय समाजमा जे-जस्ता सामाजिक समस्याहरू देखिएका छन्, तिनको जरो उपनिवेशिक कालमा जबर्जस्ती थोपरिएको गलत अभ्यासको परिणाम हो । सामाजिक संरचनामा स्खलन ल्याउन उपनिवेशिक शासनले धेरै भूमिका खेलेको छ । ती समस्याहरूको समाधान मार्क्सवादलाई टेकेर समाधान हुँदैन । हाम्रो समाजमा केही असमानताहरू अवश्य छन् तर हाम्रो समाज र पृष्ठभूमिका बारेमा पूर्णरूपले अनभिज्ञ कार्ल मार्क्सको विचारबाट समाधान हुन सक्दैन । मार्क्सकै विचारबाट प्रभावित भएर समाजमा पीडित, दमित वा गरिबहरूले आवाज उठाउन सक्ने हिम्मत दियो भनिन्छ । वास्तवमा हरेक देशको आ-आफ्नै पृष्ठभूमि हुन्छन्, हरेक समाजमा समस्याहरू हुन्छन् तिनको समाधान मार्क्सवादी चिन्तनबाट नभई सोही समाजको वस्तुस्थिति बुझेर समस्याको मूलमा गई शल्यक्रिया गरेर मात्र हुन्छ ।
धेरै कारणहरूले नेपालको सन्दर्भमा मार्क्सवादी विचार पूर्णरूपले असान्दर्भिक छ । यद्यपि यो संसारको कुनै पनि मुलुकमा सान्दर्भिक भएको उदाहरण छैन । साथै मार्क्सवाद र इसाईकरण एकसाथ आउने हुनाले यो आफैमा एक उपनिवेशिक मार्ग हो । देशको स्वाधीनता, मौलिकता, शान्ति, अखण्डता, स्वाभिमान र बृहत्तर हितको लागि मार्क्सवादलाई निषेध गर्नु नै स्वस्थकर हुनेछ ।
प्रतिक्रिया