उसु परिवारका खेलाडीलाई महासंघको सहयोग

उसु परिवारका खेलाडीलाई महासंघको सहयोग



नेपाल उसु महासंघले उसु परिवारका खेलाडीहरूलाई राहत सामग्री वितरण गरेको छ ।

कोरोना महामारी र लकडाउनका कारण उसु परिवारका खेलाडीको दैनिक जीवन सहज बनाउन महासंघले राहत सामग्री वितरण गरेको महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।

उसु महासंघले आफ्नो पहिलो लटमा मनमैजु, बौद्ध र ललितपुरका गरि उसु परिवारका ४५ जना खेलाडीहरुलाई राहत वितरण गरेको छ । जस्मा जीरा मंसुली चामल २५ केजी (एक बोरा), दाल २ केजी, तेल १ लिटर, नुन १ पाकेट, मस्याङ दाल आधा केजी र माक्स आधा पाकेट रहेको छ ।

खेलाडीहरूलाई वितरण गरिएको राहत सामग्री लैजान कठिन नहोस भनेर खेलाडी परिवारको घर पाइक पर्ने ठाउँमै गएर महासंघका पदाधिकारीहरुले राहत वितरण गरेका थिए । राहत वितरण मनमैजु कराते हल मैदान, ड्रागन उसु क्वान हल बौद्ध र जावलाखेल भलिबल खेल मैदानमा गरिएको थियो । सो राहत वितरण कार्यक्रममा महासंघका महासचिव ल्हाकपा छिरिङ लामा, कोषाध्यक्ष लानम लामा र सह–कोषाध्यक्ष नारायण गिरीको उपस्थिति रहेको थियो ।

सो राहत वितरणको लागि सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नम्वर ४ फाप्लु निवासी हाल बेल्जियममा कार्यरत मिङमार छिरिङ लामा तथा श्रीमति छम्जी लामाले एक लाख रुपैयाँको सहयोग गर्नु भएको थियो । त्यस्तै उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले ६० हजार, उपाध्यक्ष हरि थापाले १० हजार, उपाध्यक्ष दुष्यन्त बस्नेतल १० हजार १ सय कोषाध्यक्ष लानम लामाले ५ हजार र अन्यले १५ हजार गरि कुल २ लाख १सय सहयोग गरेको महासचिव लामाले जानकारी गराएका छन् ।

त्यस्तै महासंघले दोश्रो र तेस्रो लटमा पनि राहत सामग्री वितरण गर्ने जनाएको छ । सो अन्तर्गत दृष्टिविहीनहरुलाई समेत सहयोग गर्ने महासंघले लक्ष्य रहेको छ ।

कोरोना महामारी केही समय लम्बिने संकेत देखिएको भन्दै महासंले ‘सेवा राहत कोष’ स्थापना गर्ने निर्णय गरेको छ । सो कोषमा संकलित रकमको पारदर्शिता गर्ने र पहिलो प्राथमिकता उसु खेलाडी तथा उसु परिवारलाई सहयोग गरिने बताएको छ । त्यस्तै दोश्रो प्राथमिकता आपद विपद र दैव प्रकोपमा परेकाहरुलाई सहयोग गरिने महासंघले जनाएको छ ।

राहतको वारेमा विभिन्न अनर्गल चर्चा परिचर्चा चल्ने र सहयोगी मनकारीहरुमा समेत त्यसको नकारात्मक प्रभाव पर्ने भएकोले त्यसता अफवाहप्रति ध्यान नदिई राहत सहयोगलाई सकारात्मक रुपमा लिनको लागि महासंघले अनुरोध गरेको छ ।