काठमाडौंमा डेरा

काठमाडौंमा डेरा


  • बबिता बस्नेत

२०७७ साल हिउँदको कुरा हो । जिल्लामा रहेर अन्तर्राष्ट्रिय संस्थामा काम गर्दै गरेका एक साथीले काठमाडौंमा रहेको आफ्नो कोठाको सामान सार्नका लागि अनामनगर, घट्टेकुलो या त्यतै कोठा पाए हुन्थ्यो भने । आफू कहिलेकाहीँ काठमाडौं आउँदा पायक पर्ने ठाउँ होस् र गाउँमा रहेका परिवारका सदस्यहरू आएपछि काममा जान सहज होस् भनेर आफूलाई ती ठाउँमध्ये जता भए पनि हुन्छ भनेका थिए । उक्त क्षेत्रमा बस्ने चिनजानका मान्छे, साथी तथा आफन्तलाई भन्ने क्रममा साथी विमला तुम्खेवाले ‘हिजोआज त डेरा खोजिदिने मान्छे हुन्छन्, पाइहालिन्छ, यो ठुलो कुरा होइन’ भनिन् । मैले ‘हुन्छ.. कसलाई भन्नुपर्ने हो भनीदिनु न है’ भनेँ । घट्टेकुलोमा कोठा पाइयो, मैले खबर गरिदिएँ । हेरेर बैना गरिदिनु, भाइ घरबाट आएपछि सार्छ भनेपछि कोठा खोजिदिने दिदी, विमलाजी र मैले कोठा हेऱ्यौँ र फोनमा विवरण दियौँ । सानो परिवारलाई पुग्ने दुई वटा कोठा, एउटा किचन, ठिकै होला जस्तो लाग्यो । घरपट्टिले को बस्ने ? भनेर सोधिन् । ‘अहिले त सामान मात्रै राख्ने हो पछिचाहिँ एक जना जिल्लाबाट आउने-जाने गर्छन्, एक जना भाइ नियमित बस्छन्, अलिक पछि परिवार आउँछन्’ भनेपछि उनले एक जना केटा मात्रै बस्ने हो भने त कोठा नदिने भनिन् । हामी छक्क पऱ्यौँ।

त्यसअघि काठमाडौंमा डेरा पाउनका लागि पुरुषलाई त्यस प्रकारको विभेद छ भन्ने मैले कहिल्यै सुनेकी थिइनँ । उनको मुखले शब्द मात्र फालिरहेको थिएन, मानिसलाई हेर्ने दृष्टिकोण र ‘एटिच्युट’ पनि प्रदर्शन गरिरहेको थियो । घरवाला महिला कम्युनिष्ट राजनीतिमा रहिछन्, त्यतिबेला भरखरै सुरु भएको विभाजनमा उनको खेमा पनि प्रष्ट थियो । पति इन्जिनियर र छोरी कुनै परियोजनाको तर्फबाट सरकारी कार्यालयमा कार्यरत ।

‘अनि.. एक्लै बस्ने महिलालाई कोठा दिनुहुन्छ कि दिनुहुन्न नि ?’ मैले सोधेँ । ‘नदिने’- उनले सहज रूपमा भनिन् । राजनीतिमा सक्रिय छु भनेर परिचय दिने मान्छेको सोच देखेर नरमाइलो लाग्यो । खासमा एक्लै बस्ने केटालाई चाहिँ किन नदिने नि ? मेरो जिज्ञासाको जवाफमा उनले केटाहरू कुलतमा लाग्ने, कोठामा केटी र धेरै साथीहरू ल्याउने, रक्सी खाएर राति आउने… यस्तै थप केही कुरा भन्दै गर्दा कलेज पढ्दै गरेको, मिठो बोली ब्यवहार र हँसिलो अनुहारका भाइ आँखाअगाडि आए ।

काठमाडौंमा डेरा पाउनका लागि पुरुषलाई त्यस प्रकारको विभेद छ भन्ने मैले त्यसअघि कहिल्यै सुनेकी थिइनँ । उनको मुखले शब्द मात्र फालिरहेको थिएन, मानिसलाई हेर्ने दृष्टिकोण र ‘एटिच्युट’ पनि प्रदर्शन गरिरहेको थियो ।

काठमाडौंमा डेरा पाउन गाह्रो छ भन्ने थाहा थियो, प्रक्रिया निकै ‘ह्युमिलिएटिङ’ पनि रहेछ । काठमाडौंका घरपट्टिले भाडामा बस्नेलाई दोश्रो दर्जाको मान्छे जस्तो ब्यवहार गर्छन्, कोठाभित्र कति जना मान्छे छन् भनेर बाहिर जुत्ता चप्पल गन्छन्, पानी, बत्ती जेमा पनि किचकिच गर्छन् लगायतका कुराहरू वर्षौंअघि सुनिएको थियो । आफू एउटै घरमा १७ वर्षसम्म आफ्नै घरमा झैँ गरी बसेको हुनाले त्यसप्रकारको अनुभव थिएन । डेरामा बस्ने भनेपछि उ के गर्छ, कस्तो प्रवृत्तिको मानिस हो, सोच-ब्यवहार कस्तो छ केही मतलब नहुने अवस्थाले ज्युँदो-जाग्दो मानिसलाई निरिह झैँ बनाउँछ । ‘बहालमा बस्ने’ भन्दै एक तह तलको नजरले हेर्ने घरवालाहरूको सङ्ख्या ठुलो छ ।

काठमाडौंमा डेरा निकै पुरानो समस्या हो । किनभने यो वर्षौंदेखि ब्यक्तिगत पहलमै चलिरहेको छ । प्रत्यक्ष ‘क्यास’को कारोबार हुने भएकाले ब्यवसायिक रूपमा अघि बढ्नुपर्ने ब्यवसाय बिना सम्झौता या कागजी प्रतिबद्धता यसै-यसै चलिरहेको छ । आफू र आफ्नो परिवारका सदस्यहरू बसेको घरमा बाहिरबाट नचिनेका मानिसहरू आएर एक्कासी बस्नु र चिन्दै नचिनेको मानिसको घरमा गएर बस्नु दुवै जोखिमपूर्ण कुरा हुन् । चिनजानकै आधारमा धेरै कुरा हुने नेपाली समाजलाई अचम्म नलागे पनि बाहिरी संसारमा हाम्रो जसरी घर भाडामा लिने र दिने प्रक्रिया अचम्म मान्नुपर्ने खालको हो ।

कुनै नीति-नियमले नबाँधिएकै कारण गत वर्ष कोरोना भाइरसबाट सिकिस्त हुँदा कतिले घरबेटीले थाहा पाए घरबाट निकालिदेलान् भन्ने डरले भन्दै भनेनन् । घरबाट निकालिनु पर्ला भनेर आफूलाई कोरोना पोजेटिभ भएको कसैलाई नभनी चुपचाप ब्यथा सहेर बसे ।

बिना कागजी सम्झौता घर भाडामा दिने लिने काम सायद कमै मुलुकमा हुने गर्छ । सम्झौता नभएपछि घरवालाले के गर्न हुने नहुने, डेरामा बस्नेले के गर्न हुने नहुने भन्ने कुरै भएन । यो स्पष्टताको अभावमा डेरा पाउनु र बस्नु दुवै सकसपूर्ण बन्ने गरेका छन् । कार्यालयको लागि घर भाडामा लिँदा या पुरै घर भाडामा लिँदा सम्झौता गरे पनि एउटा दुई वटा कोठामा या फ्ल्याटमा बस्नेहरूसँग सम्झौता गर्ने गरिएको छैन । न कुनै आचारसंहिता, न सम्झौता, ब्यक्तिगत तजबिजका आधारमा लिनेदिने गरिएका कारण कुनै पनि बेला निकाल्न र छोड्न सक्ने अवस्था छ । कुनै नीति, नियम, कानून नभएका कारण एउटा मान्छेले छोड्नेबित्तिकै भाडा बढाउने चलन पनि छ । कत्रो कोठाको कति पैसा लिने, पैसा लिएपछि के-के सुविधा दिनुपर्ने भन्ने कुनै प्रावधान छैन ।

कुनै नीति-नियमले नबाँधिएकै कारण गत वर्ष कोरोना भाइरसबाट सिकिस्त हुँदा कतिले घरबेटीले थाहा पाए घरबाट निकालिदेलान् भन्ने डरले भन्दै भनेनन् । घरबाट निकालिनु पर्ला भनेर आफूलाई कोरोना पोजेटिभ भएको कसैलाई नभनी चुपचाप ब्यथा सहेर बसे । एक नाम चलेकी पत्रकार बैनीले ‘घरबेटीले थाहा पाउलान् भनेर कोरोना भएको कुरा सामाजिक सञ्जालमा राखिनँ’ भनेकी थिइन् । यदि घर भाडामा दिने निश्चित नीति हुन्थ्यो भने त्यस्तो महामारीका बेला कसैले पनि निकाल्न मिल्ने अवस्था रहने थिएन । कतिपय घरपट्टिलाई कोरोना हुँदा बहालमा बस्नेले अस्पताल पुऱ्याए । कति डेरावालहरू कोरोना भएका कारण निकालिए । कोभिड-१९ को दोश्रो लहर बढो आक्रामक रूपमा आएकाले को घरवाला, को डेरावाला सबैलाई एकै ठाउँमा ल्याइपुऱ्यायो, जसरी भूकम्पका बेला सबै एकै ठाउँमा पुगेका थिए ।

अन्य मुलुकमा घर भाडामा लिने दिने ‘अफिसियल’ र ब्यवसायिक कुरा हो । ब्यक्तिगत सम्बन्ध भन्दा कागज बोल्ने हुँदा को आयो, को गयो, कति जना बस्यो, कसले के खायो, लायो मतलब हुँदैन । पैसा तिरेर बसेपछि आत्मसम्मानपूर्ण जीवन बाँच्न पाइन्छ । तर काठमाडौंमा डेरामा बस्नेले आफ्नो घरमा पैसा या मेहनतको लगानी गरेको छ भनेर सम्मानको आँखाले हेर्ने भन्दा पनि मैले घर बनाइदिएको थिएँ र बस्न पाएका छन् भन्ने झैँ गरिन्छ । सबै घरबेटी र डेरावाल उस्तै हुन्छन् भनी गोलमोटल छवी बनाएर बुझ्नु गलत हुनेछ । मानिसपिच्छे एटिच्युटहरू फरक हुने हुँदा मानिसका विशेषता एकबाट अर्कोसँग हुबहु मिल्दैनन् । त्यसैले न त सबै घरवाला एकै खालका छन्, हुन्छन् न त डेरामा बस्नेहरू नै ।

अहिलेसम्म जात, पेशा र परिवार सङ्ख्याको मात्रै कुरा छ, धर्म परिवर्तनको गति यही रूपमा अघि बढे हेर्दाहेर्दै धर्मको कुरा अगाडि आउनेछ । त्यसैले घरभाडा र घर भाडामा लिने-दिने कुरालाई ब्यवस्थित गर्नका लागि कानूनको आवश्यकता छ ।

दलित भएका कारण काठमाडौंमा डेरा नपाएको कुराले अहिले चर्चा पाएको छ । दलित भएका कारण मात्र नभई विभिन्न बहानामा सहज रूपमा कोठा नपाउनेका सङ्ख्या ठुलो छ । दलितलाई थप ‘ह्युमिलिएट’ गर्ने गरिएको छ, जुन अमानवीय कार्य हो । रेष्टुरेन्टमा काम गर्ने महिलाहरूलाई पनि कोठा पाउन गाह्रो छ, कामबाट राति फर्कंदा देहब्यापारीलाई झैँ ब्यवहार गरिन्छ । राति अबेलासम्म काम गर्नुपर्ने पेशा-ब्यवसाय गर्नेलाई त गाह्रो छ, यौनकर्मीहरूलाई कस्तो होला हामी कल्पना गर्न सक्छौँ । राजधानीमा यौनब्यवसायी महिलाहरूको सङ्ख्या बढ्दो छ । महिला, पुरुषबाहेक अन्य लिङ्गीहरूलाई पनि आफ्नो पहिचान खुलाए कोठा पाउन गाह्रो छ ।

अनेक समस्याबाट गुज्रिएर डेरामा लामो समय बिताएका मानिसहरू अहिले राज्यसंरचनाका नीतिगत तहमा छन् । घर भाडामा दिने कुरा काठमाडौंमा मात्र नभई अन्य मुख्य शहरमा पनि ब्यवस्थित गर्नैपर्ने कार्यका रूपमा रहेको छ । पैसा तिरेर बस्ने कुनै पनि मानिसले बिनाहिंसा र भेदभाव आत्मसम्मानपूर्वक बस्न पाउनुपर्छ । आफ्नो घर नभएका कारण बसेको ठाउँको भाडा तिर्नकै लागि थप मेहेनत गरेर थकित भइ कोठामा फर्किंदा घरभेटीको मौखिक दूर्व्यवहारको सिकार हुनु पर्दा मानिसमा के गुज्रेला ? त्यस्तो दूर्व्यवहार खप्नेहरू धेरै छन् ।

यता लामो समय आफ्नो घरमा बसेर पैसा नतिरी हिँडेहरूबाट पीडित घरबेटीहरू पनि छन् । कतिलाई भाडामा बस्नेबाट छोरीचेली जोगाउन गाह्रो छ । मानिसलाई एउटै परिभाषामा समेट्न नसकिने हुँदा समस्या दुवैतिर छन् । सर्वसाधारण मात्र होइन नीति-निर्माताहरू समेत दूर्व्यवहारको शिकार हुँदा यस सम्बन्धमा कानून बन्न नसक्नु आश्चर्यलाग्दो कुरा हो । अहिलेसम्म जात, पेशा र परिवार सङ्ख्याको मात्रै कुरा छ, धर्म परिवर्तनको गति यही रूपमा अघि बढे हेर्दाहेर्दै धर्मको कुरा अगाडि आउनेछ । त्यसैले घरभाडा र घर भाडामा लिने-दिने कुरालाई ब्यवस्थित गर्नका लागि कानूनको आवश्यकता छ ।