दलको आधार सिद्धान्तभन्दा समूह-आस्था !

दलको आधार सिद्धान्तभन्दा समूह-आस्था !


  • स्वयम्भूनाथ कार्की

सामान्यतया राजनैतिक दलहरूलाई जनताले आफ्नो अधिकार उपभोग तथा कर्तव्य निर्वाहको औजार भनेर मान्ने गर्छन् । अझ बहुदलीय व्यवस्थामा त जनताको काम राम्रोसँग गर्ने अनि जनताप्रति उत्तरदायित्व निर्वाहको प्रतिस्पर्धा हुन्छ भन्ने मान्यता राखिन्छ । यसको निमित्त विभिन्न सैद्धान्तिक भिन्नताले अलग-अलग दल बन्छन् । सिद्धान्तको भिन्नताले नभइ व्यक्तिपूजा वा व्यक्तिप्रतिको आस्थाले दल बनेमा ती जनपीडक हुन्छन् । सिद्धान्तबिना लक्ष्य निर्धारण हुन्न, लक्ष्यको अभावमा कार्यक्रम हुन्न । अनि, केवल चर्चा वा प्रचार पाउन र आफूहरू शक्तिमा छौँ वा जसरी पनि शक्ति प्राप्त गर्छौं भनेर जथाभावी गरिने काम जनपीडक नै हुन्छ ।

बहुलवाद र बहुदलको आधारभूत भिन्नता पनि यसैमा रहेको छ । जब सिद्धान्तभन्दा दलहरूमा सर्वमान्य नेता, शीर्ष नेता आदि नामले व्यक्तिपूजा शुरु हुन थाल्छ तब बहुलवादको अन्त्य र केवल बहुदलको मात्र बर्चश्व हुन थाल्छ । दलको आधारभूत सिद्धान्त गौण हुन थाल्छ । समयको मागको बहानामा दलहरू जोडिन वा तोडिन लाग्दछन् । अनि यो कुरा गर्ने नेतालाई यो सैद्धान्तिक विचलन हो कि हैन भन्ने प्रश्न हुँदैन त्यहाँ नै बहुलवादको मृत्यु हुन्छ र तानाशाहको बिजारोपण हुन्छ । इतिहासले तानाशाह भनेका अधिकांश कुल परम्पराबाट हैन जनताको तात्कालिन समर्थनको दुरुपयोग गरेर नै भएका छन् । जब सम्पुर्ण जनतालाई कुनै न कुनै दलमा आवद्ध हुनैपर्ने वातावरण पैदा हुन्छ जनताको अधिकार कुन्ठित हुने क्रम बढ्छ ।

जनतासँग आफ्नो सर्वोच्चता र सार्वभौम अधिकार दलहरूले प्रयोग गरेको टुलुटुलु हेर्न बाहेक अर्को विकल्प रहँदैन । केवल मतदान मात्र जनताको प्रजातान्त्रिक अधिकार हो भन्ने व्याख्या हुन थाल्छ । त्यो मतदान पनि बफादारीको नाममा दलविषेशलार्ई नै गर्न दबाब दिइन्छ । यो नै बिस्तारै पोलपोट, इदी अमिन, चाउचेस्कु अवतरित हुन थाल्ने परिस्थिति हो ।

सत्ता-प्रचार अनि फेरि सत्ता ध्याउन्न भएका तर काम गर्ने ढङ्ग नभएका शीर्ष भनेर पुजिन खोज्ने नेताहरूसँग केवल एक विकल्प हुन्छ, त्यो हो- जनजीवनमा असर पर्ने काम गरेर आफूलाई सम्झाइ राख्ने । जनहितकारी काम गर्न कठिन बाटो हुने भएकोले जनपीडक काम गरेर त्रास फैलाउने काम ज्यादा हुने गर्दछ । यसको निमित्त फैलाएका भाँडभैलोका उदाहरण प्रशस्त छन् ।

पहिलो पटक ओली प्रचण्डको प्रस्तावले प्रधानमन्त्री भएका थिए । ओलीलाई अविश्वासको प्रस्तावले हटाउने पनि प्रचण्ड नै थिए । पछिल्लो पटक पनि प्रस्तावक प्रचण्ड नै थिए भने अहिले ओली कामचलाउ पनि प्रचण्डको कारणले नै भएका छन् । यो पटक पटक भएको घटना कुन सैद्धान्तिक आधारमा भएको हो भन्ने कुराको जवाफ कसैसँग नहोला । कि छ कसैसँग ?

नेपालमा दलहरूको एकिकरण हुने अनि विभाजन हुने क्रमको कुनै सैद्धान्तिक आधार छैन । केवल गुट अनि गुटप्रमुखहरूको बीचमा भागबण्डाको कारणले नै यस्ता एकिकरण वा विभाजन हुने गरेको छ । हिजोसम्म आन्द्रा गाँसिएकाहरू आज एकअर्कालाई निम्नस्तरको गालीगलौजमा अग्रसर हुन्छन् । अनि वफादारी सावित गर्न उनीहरूका समर्थकबीच रक्तरंजित संघर्ष हुने गरेको छ । हावाले हल्लाएको पिपलको पात जस्तै यी गुटप्रमुखहरू कहिले मिल्ने कहिले झगडा गर्ने गर्दछन् । फेरि मिलेको अवस्थामा समर्थकहरूको संघर्षमा बगेको रगतको मूल्य के हुने ? केही लाभका पद समर्थकहरुका नेतामा बाँडेर अर्को पटक फेरि रगत बगाउने जोश कायम राख्नेबाहेक ? ‘टिकट’ पाएर पद प्राप्त गरेकाहरूको योग्यता क्षमता जनतामा अपरिचित छैन ।

अपवादमा यो अवसरलाई राम्रो अनि जनहितमा प्रयोग गर्नेहरु नभएका भने होइनन् । जनताको मतले चुनिएका जनप्रतिनिधिहरुले जनताको मतले होईन पार्टीको टिकटले पद पाएको हो भनेर खुल्लमखुल्ला भन्न थालेका छन् । आफ्नो नेतालाई सन्तुष्ट राख्न पाए हुन्छ भन्ने कार्यकर्ताको मनस्थितिले नेताहरुलाई तानाशाह बन्न प्रेरित गर्छ ।

प्रचण्ड र ओलीको सम्बन्धको रोचक कुरा उल्लेख गर्न सान्दर्भिक हुन्छ । पहिलो पटक ओली प्रचण्डको प्रस्तावले प्रधानमन्त्री भएका थिए । ओलीलाई अविश्वासको प्रस्तावले हटाउने पनि प्रचण्ड नै थिए । पछिल्लो पटक पनि प्रस्तावक प्रचण्ड नै थिए भने अहिले ओली कामचलाउ पनि प्रचण्डको कारणले नै भएका छन् । यो पटक पटक भएको घटना कुन सैद्धान्तिक आधारमा भएको हो भन्ने कुराको जवाफ कसैसँग नहोला । कि छ कसैसँग ?