आधुनिक ओलम्पिकको जन्मदिवसको रूपमा रहेको जुन २३ लाई आधार बनाएर नेपालमा विगत ५ दिनदेखि मनाइँदै आएको ओलम्पिक डे सम्पन्न भएको छ ।
ललितपुर, सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको झण्डोत्तोलन गर्नुका साथै पानसमा दीप प्रज्ज्वलन गरेका थिए । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डोत्तोलन गरेका थिए ।
ओलम्पियनहरूको टिमले ओलम्पिक टर्चका साथ विभिन्न स्थानको परिक्रमा गरेका थिए भने ओलम्पिक कमिटीको कार्यालयमा आएर उक्त टर्च ओलम्पियन मुकुन्दलाल श्रेष्ठले प्रमुख अतिथि उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।
यस्तै प्रमुख अतिथिले अध्यक्ष जीवनराम श्रेष्ठ र श्रेष्ठले कार्यक्रम संयोजक स्पोर्टस् फर अल कमिशनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि पुनले सियोल ओलम्पिकमा प्रदर्शनखेलमा विधान लामाले तेक्वान्दोमा प्राप्त गरेको सफलताको सम्झना गर्दै नेपालले ओलम्पिकमा पदक प्राप्त गर्ने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने बताए । ओलम्पिकमा पदक प्राप्त गर्ने लक्ष्यका साथ नेपालले दीर्घकालिन योजनासहित लगानी गर्न उनले ध्यानकर्षण गराए ।
अहिलेसम्म संगिना बैद्य र दीपक बिष्टले मात्र छनौट चरण पार गरी ओलम्पिकमा सहभागिता जनाएको भन्दै नेपाली खेलाडीहरूका लागि नियमित प्रशिक्षण र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाव उनले दिए । प्रमुख अतिथि पुनले कोभिडका कारण मृत्युवरण गरेका खेलाडीहरू प्रति श्रद्धान्जली अर्पण गर्नुका साथै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।
ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पार्ने र यसले शान्ति, समृद्धि, सद्भाव र विकासका लागि सहयोग पुग्ने धारणा राखे । उनले यसका लागि संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबीच सहकार्य भएको बताए । कोरोनाको महामारीको विषम परिस्थितिमा खेलकुदले दिन चाहेको नारा भनेको सुरक्षिर रहौँ, स्वस्थ रहौँ र बलियो रहौँ भन्ने रहेको श्रेष्ठले बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिकमा सहभागी रहने सबै खेलाडीहरूलाई शुभकामनासहित बधाई दिँदै उच्च प्रदर्शनको अपेक्षा रहेको बताए । त्यस्तै ‘ओलम्पिक डे’का संयोजक स्पोर्टस् फर अल कमिसनका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुद विकासका लागि दीर्घकालिन योजना र लगानीको आवश्यकता रहेको बताए ।
समापन कार्यक्रमको अवसरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्ने राष्ट्रिय संघहरु साइक्लिङ, बक्सिङ्ग, जुडो, पौडी, तेक्वान्दो, भारोत्तोलन, कुस्ती, ट्राइयाथलन, फुटबल, कराते, उसु, एथलेटिक्स र गल्फलाई कदरपत्र प्रदान गरिएको थियो । यस्तै ओलम्पिक डेलाई सफल बनाउन सहयोग पु¥याउने संघ, संस्था र ब्यक्तित्वलाई कदरपत्र प्रदान गरिएको थियो ।
५ दिन सम्म संचालन भएको ओलम्पिक डेमा विभिन्न २३७ कार्यक्रममा करिव ७ हजारले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया