- सुन्दर शर्मा
जुनसुकै देशमा पनि धर्म, कला, संस्कृति जस्ता कुराहरूमा पूरै परिवर्तन आउन सयौँ वर्ष लाग्न सक्छ । यो कुनै नेता वा ब्यक्तिले चुट्की बजाउँदै बोलेर वा मिडियाबाजी गरेर तुरुन्तै परिवर्तन हुने कुरा पनि होइन । मानिसको जीवनसँग शदियौँदेखि यस्ता सांस्कृतिक कुराहरू मन मुटुमा गडेर बसेका हुन्छन् । यस्ता कुराहरूमा परिवर्तन आउन समय लाग्छ । त्यसैले बिस्तारै-बिस्तारै नयाँ पीडिबाट यस्ता कुरामा सकारात्मक भैरहेका छन्, हुँदै छन् । समाजको साँघुरो सोचमा परिवर्तन आएको छ । विगतका तिता-पिरा घटनाहरू बिर्सदै समुदायमा हातेमालोको दृश्य देख्न पाइँदैछ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक आदि विशेषताले भरिपूर्ण देश हो । त्यसैले यी र यस्ता विविध पक्षको उचित ब्यवस्थापनमा सबै जातजातिका राज्य पनि उत्तरदायी हुनुपर्दछ । सबै पक्षले आफ्नो मात्र होइन कि अरुको अधिकारको पनि ख्याल राख्नु जरुरी छ ।
म आफै दलितलाई छोइछिटो गर्ने समाजमा जन्मे-हुर्केकी महिला हु । त्यतिबेला प्रत्येक गाउँ वा टोलमा २-४ घर कामी दमाइ बुवाहरूको हुने गर्थ्यो । एउटालाई दुःख पर्दा अर्को परिवारले सहयोग गर्ने कति राम्रो परम्परा थियो । गाउँमा सबै जातजाति मिलेर बसेका हुन्थे ।
मेरो माइतीघर (दाङ बिजौरी) टोलमा मेरी मिल्ने साथी कमला नेपालीको घर थियो । घरका सबै सदस्यले कपडा सिलाउने काम गर्थे । कमला र म स्कुलमा सहपाठी थियौँ । उनको बुबा आमालाई हामी काका काकी भन्थ्यौँ । सम्मानले बोल्थ्यौँ र बोलाउथ्यौँ । मेरा बुबा-आमाको आँखा छलेर मैले ती कमला नेपालीलाई झ्यालबाट डोरीको सहायताले कयौँ पटक आफ्नो कोठामै पुर्याउन सफल भएकी थिएँ । यो हर्कतको लागि नमीठो कडा गाली खानु परेको थियो घरमा । आमाले भोलिपल्टै घरमा होम हाल्नुहुन्थ्यो, तर म भने यस्तो हर्कत दोहोर्याइरहन्थेँ ।
त्यो बेला बुबा-आमाको आँखा छली दमाइ साथीलाई घरको माथिल्लो कोठामा पुर्याउँथे भने अहिले सिधै आफ्नो घरमा ती साथिलाई स्वागत गर्न सक्छु । भोलिका दिनमा मेरा सन्तानले दलित परिवारका सन्तानसँग हाँसिखुशी वैवाहिक सम्बन्ध गाँस्न सक्छन् । हो, सांस्कृतिक र धार्मिक परिवर्तन भनेको यही हो, जो बिस्तारै बिस्तारै हुँदै जान्छ ।
सबै जातजाति मिलेर बनेको समाजलाई समुदाय भनिन्छ । समुदायमा एक अर्कासँग मिलेर बस्न सक्यौ, एक अर्काको भावना साटासाट गर्न सक्यौ भने मात्र त्यसबाट खुशी प्राप्त गर्न सकिन्छ ।
जातको आधारमा विभेद भयो भन्दै तीन हात माथि उफ्रने लाई मेरो प्रश्न छ- के हो विभेद भनेको ? पहिले विभेदको परिभाषा बुझ्नुहोस्, अर्थ खोज्नुहोस् ।
के नागरिकता बनाउँदा राज्यले दलित भनेर रोकेको छ ? के स्कुल कलेज पढ्न खोज्दा दलित भनेर भर्ना रोकिएको छ ? के जग्गाजमिन किन्दा फलित भनेर नामसारी वा पास रोकिएको छ ? के बिमारी पर्दा अस्पतालमा भर्ना लिन बाट बञ्चित गरिएको छ ? के विद्धुत, खानेपानी, टेलीफोन जडान जस्ता राज्यले प्रदान गर्ने आधारभूत सेवा-सुविधाबाट तल्लो जाति भएकै कारण बञ्चित गरिएको छ ? के सरकारी जागिरको लागि लोकसेवा लड्न पाइँदैन भनिएको छ ? लौ देखाउनुस् त विभेद कहाँनेर भयो ?
आफ्नो असक्षमता अरुलाइ दोष देखाएर छोप्न पाइँदैन । दलित पनि विभिन्न क्षेत्रमा लगनशील र मेहनतद्वारा अब्बल बन्न पुगेका छन् । कुनै जातलाई पनि कहिँकतै रोकाओट छैन केही गरेर देखाउँछु भन्नलाई ।
सधै माथिल्लो जातले हामीलाई थिचोमिचो गरे भन्ने दलितभित्र पनि यस्तो परम्परा रहेछ- दमाई भन्दा कामी चोखो, सार्कीभन्दा दमाई चोखो, गाइने भन्दा सार्की चोखो बादी भन्दा गाइने चोखो, डुम भन्दा गाइने चोखो । अर्थात् कामी, दमाई, सार्की, गाइने, बादी र डुम । दलितमा सबैभन्दा तल्लो जात डुमलाई मानिदो रहेछ । अरु माथिल्ला दलितले डुमले छोएको पानी त परै जावस् काठ दाउरासमेत चोखो बनाउन पानी छम्केर मात्र भित्र लाने परम्परा छ । यो चलनलाई के भन्नुहुन्छ दलित अभियन्ताहरूले ?
सर्वप्रथम आफ्नै समुदायमा भएको छुवाछूत परिपाटीलाई अन्त्य गरेर हेर, कस्तो परिवर्तन पाउँछौ । केवल माथिल्लो जातले यसो गरे उसो गते भनेर आरोप–प्रत्यारोप गरेर मात्र यो परिपाटीको अन्त्य हुँदैन । आफू पनि सकारात्मक सोछ राख्नुपर्यो । त्यहीअनुसारको व्यवहार गर्नुपर्यो । लगनशील र मेहनतबाट क्षमता हासिल गर, खुला प्रतिस्पर्धामा भाग लिएर एक सक्षम र सफल नागरिक बन । यसो गर्यौ भने परिणाम सकारात्मक पाउनेछौ । अनि त आफै शिखर चुम्नेछौ ।
भेदभाव सबै जात र वर्गमा छ, तर जहाँ, जहिले र जुनसुकै मुद्धामा पनि बाहुन र क्षत्रीलाई नै दोषी देख्ने किन ? कुनै बाहुन वा क्षत्रीको छोरो कडा मेहनतका साथ उच्छ पदमा पुग्छ भने किन रिस गर्ने ? अवसर सबैलाई छ, तर लगनशील बन्नुपर्यो ।
होला कुनै ठाँउमा अन्यायका अप्रिय घटना पनि भएका होलान् । के अन्याय दलितलाई मात्र हुन्छ ? बाहुन क्षत्री वा अन्य जातिलाई हुँदैन ? कहिलेकाहीँ अन्याय सबैलाई पर्ने गर्छ । दलित हुँ भनी आवाज उठाउनेहरूको सोच नै साँघुरो देखिन्छ । बाहुन क्षत्री का कलिला दुधेनानीहरूको बलात्कार र हत्या भैरहेका छन्, तर राज्यले अपराधी पत्ता लगाउन सक्दैन । यसलाई न्याय पाएको भन्ने कि अन्याय भयो भन्ने ? त्यसैले कहिलेकाहीँ अप्रत्याशित घटना हरू जहाँ पनि घट्ने गर्छन् । यसैलाई तिलको पहाड बनाउनु हुँदैन ।
हिजोआज दलित र अन्य जातिका युवा युवतीहरू एक आपसमा विवाहबन्धनमा बाँधिएका प्रशस्त उदाहरण भेट्न सकिन्छ । त्यसैले आफैले आफुलाइ होच्याउनु हुँदैन ।
अब लागौँ रुपा सुनार र सरस्वती प्रधानतर्फ ।
गएको हप्ता रुपा सुनार र सरस्वती प्रधानको बारेमा निकै चर्चा र टीकाटिप्पणी सुनियो । घरभाडा नदिएको कुराले निकै सरगर्मी बढायो । दलित भएकै कारण आफूमाथि विभेद भयो भन्ने रुपा सुनारको भनाइले एक प्रकारको हलचल नै मच्चियो । घरधनी सरस्वतीले कोठा नदिएकोमा मानहानी भयो भन्दै प्रहरीमा उजुरी दिइन् र प्रहरीले सरस्वतीलाई दुई दिन थुनामा राखी छोडिदियो, विरोधले उग्र रुप लिन थालेपछि ।
जेठ महिनाको उखर्माउलो गर्मीमा पसिना पुच्दै कोठा खोज्न हिँडेकी रुपा बहिनीलाई मन परेको कोठा नपाउँदा झोकै चलेर त होला नि मानहानीको रूपमा आक्रोश पोखेकी ।
घरभाडा लाउँदा ब्यक्तिगत बिबरणका साथै परिचय खोज्नु न्यायीक हिसाबले पनि उचित मानिन्छ । सबै कुरा चित्त बुझे भाडा लाउने हो, चित्त नबुझे दिदैन भन्न पनि पाइन्छ । किनकी जीवनभरको कमाइले बनाएको घरमा घरधनिकै पुर्ण अधिकार हुन्छ । घरधनीले जात नसोध्दै आफैले म कामी हुँ भन्ने, अनि आफैले विभेद र मानहानीको मुद्धा हाल्ने । यो कस्तो नियत हो ?
घर भाडामा दिने ब्यक्ति अर्थात् घरधनी । सरकारी कानुनमा उल्लेख भएको भन्दा अरु विषयमा घरको निर्णय लिने अधिकार घरधनीकै हुन्छ । आफ्नो घरमा कसलाई राख्ने वा नराख्ने भन्ने कुरा उसको स्वेच्छामा भर पर्छ । कसैको दबाबमा भाडा लाउनुपर्छ भन्ने केही छैन । घर भाडामा लाउँदा कुनैले गोरा खोज्छन् भने कुनैले काला । कसैले जनजाति रोज्छन् भने कदैले दलित । कुनैले विद्यार्थीलाई रोज्छन् भने कुनैले पतिवारवाला खोज्छन् । कसैलाई हिन्दु नै चाहिन्छ भने कसैलाई धर्मको वास्तै हुँदैन । यस्ता कुराको निर्णय गर्ने अधिकार मात्र घरधनीलाई छ ।
रुपा बहिनीलाई कोठा चाहिएको थियो, खोज्नुभयो । उहाँलाई त्यो कोठा मन पनि पर्यो, तर सरस्वतीजीले परिवारमा सल्लाहपश्चात् विविध कारणले नदिने निधो गर्नुभयो । यसमा रुपा बहिनीको अपमान कहाँनेर भयो त ? घरधनीले बसिरहेकोलाई बलजफ्ती निकालेको पनि होइन । तिमी यस्तो उस्तो भनी आक्षेप लाको पनि कतै देखिएन । अनि कसरी भयो त विभेद वा मानहानी ? यो कस्तो बुझिनसक्नुको रोइलो हो ?
घरधनीका पनि आफ्नै केही निजी बाध्यता होलान्, त्यो चाहिँ बुझ्ने कोशिसै नगर्ने, एकोहोरो आफ्नो मात्र रटान ! रुपालाई कोठा चाहियो भन्दैमा आफ्ना परम्परागत सांस्कृतिक मूल्य र मान्यतालाई लत्याएर सहयोग गर्न पनि त सकिँदैन हाला नि !
काठमाडौंमा भनेजस्तो डेरा पाउन निकै कठिन छ भन्ने कुरा साँचो हो । किनकि यहाँ बसोबास गर्नेको जनसंख्या दिन-प्रतिदिन बढिरहेको छ । सुनिश्चित भविष्यको लागि सबैको रोजाई काठमाडौं भएर पनि यस्तो कठिनाइ भएको होला सायद । काठमाडौंमा घरधनीले भाडामा बस्नेलाई हेपाहा व्यबहार गर्छन् भन्ने पनि निकै सुनिन्छ । यो कुरा पनि आफ्नो व्यबहारअनुसार हुन्छ ।
काठमाडौंमा सधैं पानीको अभाव हुन्छ । पानीको प्रयोगमा ध्यान देउ वा बचत गर भन्दा किचकिचको आरोप लाग्छ घरधनीलाइ । कहिले पानीको अभाव हुन्छ, कहिले कोठाभरि पाहुना आइ रक्सी खाएर होहल्ला गर्छन्, यस्तोमा बोल्नैपर्ने हुन्छ । बस्दै गर्दा बानीब्यहोरा चित्त नबुझ्न सक्छ, बानी ब्यहोरा चित्तबुझ्दो भएन भनी कोठा खाली गराउनुपर्ने बाध्यता पनि आइपर्न सक्छ । यस्तै कुराहरूमा बोल्दा त हो नि घरधनीलाई छुच्चो र कचकचेको आरोप लाग्ने ।
रुपाको कारणले झन् काठमाडौंमा कोठा पाउन हम्मेहम्मे हुने भयो । उनकै कारण यहाँका घरधनी सशङ्कित हुँदैछन् । केही सामान्य कुरामा चित्त बुझेनकि पुलिसमा उजुरी दिने परिपाटीको सुरुआत रुपाबाट भयो । सामाजिक सञ्जालमा उनको समर्थन भन्दा विरोध धेरै देखिन्छ । चर्चित बन्न खोज्दा आफैले बुनेको जालोमा अल्झनु पर्यो । रुपाकै कारण अबका दिनमा सोझा दलित भाइबहिनीले पनि सजिलै कोठा पाउन सक्ने स्थिति देखिँदैन ।
सरकारी सेवा-सुविधा लिन दलित कोटा चाहिने अनि तिनलाई दलित भन्दा विभेद भाको देख्ने यो त हदैसम्मको दोहोरो चरित्र भएन र ?
म पनि लामो समय भाडामा बसेकी हुँ । काठमाडौंको बसाइमा म जम्मा दुई वटा घरमा बसेँ । कहिले केही कुरामा पनि मनमुटाव भएन । दोस्रो घरबाट (अमर बिष्ट सातदोबाटो) दुई नन्दको बिहेबारी सम्पन्न गरियो । केही अप्ठ्यारो महसूस गरिएन । नन्दको बिहेमा घरधनीले गरेको आत्मीय व्यवहारलाई म शब्दमा बयान गर्न सक्दिनँ । हामी घर बनाएर सर्दा घरधनी दाजु धुरुधुरु रोएको र म पनि रुँदै त्यहाँबाट बिदा भएको अहिले जस्तो लाग्छ । त्यसैले घर भाडामा दिने र बस्ने दुवै पक्षले समझदारी अपनाएमा कहिले समस्या निम्तिँदैन । यो मेरो भोगाइबाट मलाई प्राप्त शिक्षा हो ।
अन्त्यमा,
सदियौँदेखि एकै समाजमा मिलेर बसेका विभिन्न जातिबीच तरङ्ग पैदा गर्ने जमर्को गरिँदैछ, त्यसको सबै मिली डटेर सामना गरौँ । रुपा बहिनीको जस्तो सोच सबैको बन्यो भने जातीय विभेद अन्त्य होइन जातीय लडाइँचाहिँ पक्कै सुरु हुनेछ । जातीय विभेद भन्दै आमासमान महिलालाई पुलिसचौकी पुर्याएर कस्तो न्याय पाइन् रुपाले ? अधिकार तिम्रो मात्र हुने, अरुको चाहिँ बुझिदिनु नपर्ने ?
मानिसको परिचय दिने भनेको उसको नाम र थरले हो । आफ्नो जात र थरमा गर्व गर्न सिकौँ । जातले ठुलो-सानो हुने होइन, काम र व्यवहारले हो ठुलो हुने । जातीय कोटामा रमाउने होइन कि स्वतन्त्र प्रतिस्पर्धाबाट निखारिएर अगाडि पुग्छु भन्ने सोच बनाऔँ । आफैले आफुलाई तल्लो जात भनी अपमान नगरौँ । म पनि अरु जातिझैँ ईश्वरको बरदान हो भन्ने सोचका साथ समाजको एक हिस्सा भएर बसौँ त, चारैतिर सकारात्मक नतिजा देखिने छ ।
सानो सुझाव –
जनजातिको मुद्धा उठाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने नेता र आरक्षणको मुद्दा उठाएर विखण्डनको व्यापार गर्ने एनजीओ आइएनजीओका प्रतिनिधिका कुरा सुनेर वा पत्याएर आफुले टेकेको समाजको विरुद्ध बोल्दा सबैले होस् पुर्याउनु । सम्पुर्ण नेपालीले बुझिसके- अबका दिनमा कसैले यदि हाम्रो समाज भाँड्न खोज्छ भने अबको पालो पुलिसचौकी जाने उनीहरूको नै हुनेछ । त्यस्ताको लागि बोलिदिने र उभिइदिने एक जना पनि हुने छैनन् ।
प्रतिक्रिया