ओलम्पिक कमिटी र कामरु ट्रेडिङबीच सम्झौता

ओलम्पिक कमिटी र कामरु ट्रेडिङबीच सम्झौता



नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।

सम्झौतापत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताए । अहिले टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समयसम्म सहकार्य र साझेदारी गर्न छलफल भएको उनको भनाइ छ । यो सम्झौता महत्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्ययमबाट प्रायोजकहरुलाई पनि सहयोग गर्ने उनले बताए ।

कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई केल्मीको सामान प्रायोजन गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले हाल टोकियो ओलम्पिकसम्मका लागि राम्रो गुणस्तरको सामन प्रायोजन गरेता पनि लामो समयसम्म ओलम्पिक र केल्मीबीच सहयोगको सोच रहेको बताए । केल्मीले यसअघि एन्फा, विभागिय टोली, तेक्वान्दो, करातेलाई प्रायोजन गरेको र भलिबलसँग सहकार्य गर्दै आएको छ ।