- रमेश बस्ताकोटी
नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका पछिल्लोपटक सार्वजनिक भएपछि फेरि नेपाली कांग्रेसको महाधिवेशनबारे चर्चा सुरु भएको छ । महाधिवेशन तोकिएकै समयमा हुने या नहुनेमा अझै पनि शंका गर्ने प्रशस्त आधारहरू भने नभएका होइनन् । कोभिड १९ को महामारी चलिरहेको वर्तमान परिवेशमा यसैलार्ई देखाएर फेरि पनि महाधिवेशन सार्ने चलखेल हुने वा त्यस्तै बाध्यात्मक परिस्थिति आइपर्ने हो अझै एकिन साथ भन्न सकिने अवस्था भने छैन । तर, संवैधानिक बाध्यताका कारण तोकेबमोजिम नै नेपाली कांग्रेसको महाधिवेशन होला भन्ने अपेक्षा गरौँ ।
नेपाली राजनीतिको पुरानामध्येको एक र अहिले क्रियाशील रहेका राजनीतिक दलमध्ये सबैभन्दा पुरानो दल नेपाली कांग्रेस पार्टीको महाधिवेशनबारे यतिबेला कांग्रेसभित्र मात्र होइन नेपालभित्रैका अन्य राजनीतिक दल र अन्तर्राष्ट्रिय स्तरमा समेत चासोको विषय बनेको छ । यो महाधिवेशनले नेतृत्व मात्र परिवर्तन गर्ने छैन, नीतिका विषयमा समेत गम्भीर छलफल गर्नेछ भन्ने आम बुझाइ छ । तर हतारोमा गर्न लागिएको यो महाधिवेशनमा नीति र विचार माथि घनिभुत छलफल होला भन्नेचाहिँ अझै पत्याउन सक्ने अवस्था छैन । कांग्रेस महाधिवेशन कर्मकाण्डी रूपमा मात्रै सकिने हो कि भन्ने चासोको विषय पनि छ । यदि त्यसो भयो भने यसले कांग्रेसलार्ई मात्र नभइ मुलुकलार्ई समेत ठुलो घाटा हुनेछ । यसले कांग्रेसप्रति भरोसा गर्ने नेपाली जनतालार्ई समेत धोका हुनेछ ।
नेपाली कांग्रेसको आगामी महाधिवेशन नेता चयन गर्ने उत्सवका रूपमा मात्र आयोजना हुन हुँदैन, लोकतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएको कांग्रेसको १४औँ महाधिवेशनले कस्तो नीति तय गर्ला, यो आमचासोको विषय हुनु सान्दर्भिक पनि हो । यो महाधिवेशनमा कांग्रेसले लिने निर्णयले पक्कै पनि नेपाली राजनीति प्रभावित हुनेछ । नेपाली कांग्रेसलाई नेपाली जनताले पटक-पटक विश्वास गरेका छन् । देश गम्भीर संकटको अवस्थामा रहेको यस बेलामा कांग्रेसले देशको नेतृत्व लिने गरि नीति तय गर्न आवश्यक छ ।
हालसम्म भएका सात वटा आमनिर्वाचनमध्ये २०१५ सालको पहिलो आमनिर्वाचनमा दुई तिहाई, २०४८ सालमा बहुमत, २०५६ मा बहुमत र २०७० सालमा सबैभन्दा ठूलो दल भएको पार्टी २०७४ सालको संसदीय र स्थानीय निर्वाचनमा धेरै सिट अन्तरसहित दोस्रो भएपछि पनि फेरि नेपाली जनताले एकपटक कांग्रेसको साथ खोजेका छन् । देशले एक पटक कांग्रेसको नेतृत्व खोजेको छ । यस्तो बेलामा सम्पन्न हुन गइरहेको नेपाली कांग्रेसको महाधिवेशन नेताप्रधान भन्दा नीतिप्रधान हुन आवश्यक छ । हिजोका दिनमा लिएका कतिपय निर्णयका कारण पछिल्लो निर्वाचनमा कांग्रेसलार्ई जनताले मन पराएनन् । १४औँ महाधिवेशनमा यसको समीक्षा हुन जरुरी छ र सोहिबमोजिम नीति तय गर्न आवश्यक छ । उही लाहुरे पाराले हतार–हतार महाधिवेशन सकेर नीतिमा बहस हुन सकेन भने लड्खडाएको कांग्रेस उठ्न सक्दैन, यसमा नेतृत्वले ध्यान दिन आवश्यक छ । अहिले कांग्रेस उठ्ने भनेकै सही नीति, जनचाहानाबमोजिमको नीति तय गरेर हो । यसको लागि महाधिवेशनमा घनिभुत छलफल हुनै पर्दछ ।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको सिद्धान्त हो । आफ्नो सिद्धान्तबाट बेला-बेलामा कांग्रेस च्युत हुने गर्दछ भन्ने आरोप नलाग्ने पनि हैन । त्यसकारण पनि आउने महाधिवेशनमार्फत कांग्रेसले धेरै प्रश्नको समाधान खोज्नुपर्ने बाध्यता छ । नेता चयन गर्नु महाधिवेशनको एउटा पाटो हो तर नीतिमा गहन छलफल गरेर नेपाली जनताको प्रिय पार्टी बन्नु अर्को महत्वपुर्ण कार्य हो । नेपाली कांग्रेसका पछिल्ला केही महाधिवेशनहरू पनि नेताप्रधान मात्र भए नीतिप्रधान हुन सकेन भनेर कांग्रेसीहरू नै गुनासो गर्छन् । यस्तो बेलामा महाधिवेशनमार्फत् कांग्रेसले सहि नीति तय गर्नु अपरिहार्य छ ।
कोभिड महामारीले थिलथिलो भएको देशको मुहार फेर्नका लागि कांग्रेसले तय गर्ने नीति कस्तो होला ? यसबारेमा महाधिवेशनमार्फत् कांग्रेसले कस्तो सम्बोधन गर्ला यो अहिले आमचासोको विषय हो । देशको अर्थतन्त्र तहसनहस भएको यो बेलामा कांग्रेसले कस्तो आर्थिक नीति तय गर्ला ? यस्ता आमचासोका विषयमा महाधिवेशन मार्फत् नै कांग्रेसले सम्बोधन गरेर जानु पर्दछ । हुन त अहिले कांग्रेस सत्तामा छैन, तर पनि सत्तारुढ दलप्रतिको चरम वितृष्णाका कारण अहिले कांग्रेसले अभिभावकत्व ग्रहण गर्नुपरेको छ । यस्तो अवस्थामा कांग्रेसले लिने हरेक नीतिमा आमनेपाली नागरिकको चासो हुन्छ । गरिवीको रेखामुनि रहेका जनताका दैनिक गुजाराका प्रश्नहरू पनि छन्, यसलार्ई पनि कांग्रेसले यसै महाधिवेशनमार्फत सम्बोधन गर्न सक्नु पर्दछ । करिव ६० प्रतिशत जनताको जीवन निर्वाहको आधारको रूपमा रहेको कृषि पेशामा आजीवन संघर्ष गर्दा पनि बेलामा बीउ मल नपाउने, सिँचाइ सुविधा नपाउने, उत्पादित सामाग्रीको मूल्य नपाएर कहिल्यै सुधार हुन नसकेको कृषकहरूको आर्थिक स्तर सुधार्ने नीति निर्धारण कांग्रेस महाधिवेशनले गर्न सक्नु पर्दछ । आर्थिक उदारिकरणको नीतिलार्ई समर्थन गरेको नेपाली कांग्रेसले निजी क्षेत्रलार्ई प्रोत्साहन गर्ने नीति लिइरहेको सन्दर्भमा उपभोक्ताको अधिकार कसरी संरक्षण गर्ने हो भन्नेतर्फ पनि ध्यान दिनु पर्दछ ।
अहिले देशको राजनीति एउटा गम्भीर मोडमा छ, यस्तो बेलामा नेपाली कांग्रेसले आफ्नो साख र गरिमालार्ई जोगाउँदै आफ्नो गौरवपूर्ण इतिहासलार्ई साक्षी राखेर केही महत्वपूर्ण राजनैतिक निर्णयहरू लिन आवश्यक छ, आफूलार्ई अभिभावक पार्टी हौँ भन्ने तर महाधिवेशन जस्तो महत्वपूर्ण समयमा राजनीतिक कार्यदिशा र एजेण्डाहरू माथि छलफल नै नगरी महाधिवेशनलाई कर्मकाण्डी मात्रै बनाउने छुट नेपाली कांग्रेसलार्ई छैन । महाधिवेशन यदि कार्यतालिका अनुसार तोकिएकै समयमा सम्पन्न हुने हो भने अब जम्माजम्मी दुई महिना मात्र बाँकी छ, यस्तो बेलामा कांग्रेसले आफ्नो राजनीतिक कार्यदिशा, नीति तथा मुद्धाहरूलार्ई फ्लोरमा ल्याएर बहसमा ल्याउन आवश्यक छ । तर विडम्बना ! कांग्रेस नेतृत्व कसरी नेतृत्व हत्याउने भन्ने एउटै एजेण्डामा यतिबेला केन्द्रित देखिन्छ । व्यक्तिगत रूपमा कुनै नेतालार्ई आक्षेप लगाउन खोजिएको हैन । तर पनि नेतृत्वले यस्ता महत्वपूर्ण मुद्धाहरूलाई ओझेलमा पारेर अघि बढ्दा यसले आमनेपाली जनतामा नैराश्यता भने जगाएको छ, यसमा सम्बन्धित नेतृत्वको ध्यान पुग्नु आवश्यक छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापछि २०७४ सालको निर्वाचन नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भइसकेपछि शक्तिमा आएको सत्तासीन दलले स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारमा प्रचुर बहुमतका साथ सरकार चलाउने अवसर पाउँदा भष्ट्राचारको दलदलमा परेर, आन्तरिक राजनीतिक खिचातानीका कारण देशलार्ई सहज रूपले चलाउन सकेको छैन, फलस्वरूप अहिले दोस्रोे पटक संसद् विघटन भएर एउटा गम्भीर राजनैतिक संकटको सन्निकट देश पुगेको छ । वर्तमान सरकारको अकर्मण्यताको कारणले निराशामा रहेका जनतालार्ई आशाको स्रोतको रूपमा स्थापित हुनका लागि नेपाली कांग्रेसका लागि यो निकै सुनौलो अवसर हो । त्यसैले पनि कांग्रेसको १४औँ महाधिवेशन नेतामा मात्र सीमित नहोस्, यसले राजनैतिक कार्यदिशा, राष्ट्रीय मुल मुद्धाहरूमा घनिभुत छलफल गरेर नीति तय गरोस् । होइन भने कांग्रेसको १४औँ महाधिवेशन फगत एक कर्मकाण्ड मात्र सावित हुनेछ ।
नेपाली कांग्रेसभित्र केही आशलाग्दा युवा नेताहरू नभएका होइनन् तर उनीहरू पनि कुनै न कुनै रूपमा शेरबहादुर दाइ, रामचन्द्र दाइ, शशांक दाइ, सिटौला दाइकै पछि छन् । १४औँ महाधिवेशनमा कांग्रेसले गर्नुपर्ने बहसका बारेमा राम्रै जानकार भए पनि कतिपय अवस्थामा आफ्नै पद धरापमा पर्ने भएपछि दाइहरूका यी भाइहरू पनि चुप नै बस्छन् । यो विगतले पनि देखाएकै छ । यसकारण यो पटक आशा गरेका यी नेताहरूले कांग्रेसको आगामी राजनैतिक कार्यदिशा, राष्ट्रिय मुल मुद्धाका विषयहरूमा प्रशस्त छलफल गर्ने र सोहीबमोजिमको नीति तय गर्नका लागि समय खर्च गरुन् भन्ने आम अपेक्षा छ । शीर्ष नेताहरूलार्ई एजेण्डाहरू दिएर प्रशस्त बहसका लागि दबाब दिउन् भन्ने आम अपेक्षा छ । यदि यसो भएन या गर्न सकिएन भने नेपाली कांग्रेसको १४औँ महाधिवेशन नेता छान्ने एउटा जात्रा मात्र हुनेछ, साँच्चै यो महाधिवेशन हुने छैन, फगत् एउटा ‘कर्मकाण्ड’ मात्र हुने छ । त्यसकारण कर्मकाण्डी मात्र नबनोस् नेपाली कांग्रेसको १४औँ महाधिवेशन, यसका लागि तल्लो तहबाट नै दबाब दिन आवश्यक छ ।
प्रतिक्रिया