आदिवासी ब्राह्मण क्षेत्री

आदिवासी ब्राह्मण क्षेत्री


  • प्रभात अधिकारी

वि.सं. २०७२ को संविधानमा धेरै कुराहरू विवादित भएको बारेमा विभिन्न कोणहरूबाट बहस भइरहेको छ । सबैभन्दा विवादित विषयहरूमा धर्मनिरपेक्षता, नागरिकता र सङ्घीयता आदि हुन् । सडकदेखि सदनसम्म यी विषयका बारेमा चर्चा हुने गरेको छ, साथै विभिन्न कोणहरूबाट समर्थन, विरोध, असन्तुष्टि आदि प्रकट भइरहेका छन् ।

धेरैले ध्यान नदिएको तर यी विषयहरू भन्दा बढी नै देश र जनताको लागि घातकचाहिँ ‘आदिवासी’ शब्द हो भन्ने पङ्क्तिकारको बुझाइ छ । यद्यपि अरु विषयहरू ठीक छन् भन्ने होइन ।

देशले ७० वर्षको अवधिमा ७ वटा संविधान पायो । ती कुनै पनि संविधानले नेपालीहरूलाई विभिन्न वर्ग वा समूहमा छुट्याएको थिएन । तर, पछिल्लो संविधानले नेपालीहरूलाई आदिवासी (भूमिपुत्र) र आगन्तुक (पछि आएको) भनि कित्ताकाट गरिदियो । संविधानमा आगन्तुक वा पछि आएको भन्ने शब्द त प्रयोग भएको छैन, तर कुनै समुदायलाई तोकेरै आदिवासी भनेपछि बाँकी रहेका अन्य समुदायहरू अवश्य आदिवासी होइनन्् भन्न खोजेको प्रष्ट हुन्छ । विशेष गरेर संविधानले ब्राह्मण क्षेत्री समुदायलाई आदिवासी मानेको छैन ।

राजनैतिक रूपले नेपालमा आदिवासी समुदाय र पछि आएको आगन्तुक भनेर छुट्याउन थालिएकोे ०४७ पछि नै हो । त्यो भन्दा अगाडि यो शब्द नेपाली राजनीति र सामाजिक क्षेत्रमा सुनिएको थिएन । आखिर किन कुनै अमुक समुदायलाई आदिवासी मानियो र कुनै अमुक समुदायलाई आदिवासी मानिएन त ? के साँच्चै ब्राह्मण क्षेत्रिहरू यहाँको भूमिपुत्र होइनन् ?

केहि तथ्यहरूलाई नियालौँ –

ब्राह्मणहरूको पुर्खा

ब्राह्मण क्षेत्री समुदायमा गोत्र परम्परा छ । नेपाली समाजको अन्य समुदायमा पनि गोत्रको परम्परा छ । गोत्रको सिधा सम्बन्ध ऋषिसँग हुने गर्दछ, किनकि ७ जना ऋषिबाट नै सात गोत्रको शुरुवात भएको हो । तिनै सात ऋषिका सन्तान हुन् आजका गोत्रधारी हिन्दू ब्राह्मण क्षेत्रीहरू । सप्त ऋषिको सम्बन्ध ब्रम्हाजीसँग हुन्छ, अर्थात ब्रम्हाजीको सन्तान । यद्यपि सबै मानवहरू ब्रम्हाजीकै सन्तान भन्ने पूर्वीय दर्शनको मर्म छ । तर यहाँ सप्तऋषि (७ गोत्र) लाई महत्व दिन खोजिएको हो ।

हाम्रा ऋषि तथा मन्त्रद्रष्टाहरू यही हिमालयको काखमा बसेर ध्यान, साधना गर्दथे त्यसैले नेपाललाई ऋषिभूमि भनेर समेत चिनिन्छ । ऋषि, महर्षि तथा साधकहरूको तपस्याथली हो नेपाल । ऋषिहरूकै नामबाट यहाँको नदी, पहाड–पर्वत र स्थानको नाम रहन गएको छ । महर्षि कपिलको नामबाट कपिलवस्तु, राजर्षी महाराज जनकको नामबाट जनकपुर र महर्षि व्यासको नामबाट व्यास आदि । महर्षि व्यास तनहुँमा जन्मिए, संस्कृत व्याकरणका रचनाकार पाणिनी अर्घाखाँचीमा जन्मिए, महर्षि विश्वामित्रले कोशी नदीकै किनारमा गायत्रीको साधना गरे ।

ब्राह्मणहरूको आदिपुरुष अर्थात् पुर्खाहरू सप्तऋषि हुन्, सप्तऋषिहरू यही भूमिका आदिवासी होइन, अनादिवासी नै हुन् । नेपालमा ब्राह्मण क्षेत्री समुदायको इतिहास १५०० वर्ष पनि छैन भन्नेहरूले ऋषिहरूको समय कति वर्ष भन्लान् !

बुद्ध र भगवान् राम

आश्चर्यको कुरा के छ भने आफूलाई बौद्धमार्गी भन्न रुचाउनेहरू समेत ब्राह्मण क्षेत्री समुदायलाई आगन्तुक भनिरहेका हुन्छन् । उनीहरूले सामान्य जानकारी के राख्नु पर्दछ भने उनीहरूको धर्मको सर्वोच्च पात्र गौतम बुद्ध स्वयम् एक क्षेत्री कुलका थिए । बुद्धकै घटनाबाट पनि के स्पष्ट हुन सकिन्छ भने २६०० वर्षपूर्व यस क्षेत्रमा ब्राह्मण क्षेत्रीहरू शासककै रूपमा थिए । गौतम बुद्धको समयमा हालको नेपाल र भारतका अधिकांश राज्यहरूमा क्षेत्रीहरू नै राजा थिए भने ब्राह्मणहरू राजपण्डित र मन्त्रीका रूपमा थिए । बुद्ध जन्मिनुभन्दा पहिले बुद्धधर्म अस्तित्वमा थिएन । तर ब्राह्मण क्षेत्रीहरूको अस्तित्व थियो, उनीहरूको धर्म थियो, वैदिक जीवनपद्धति थियो ।

त्यस्तै भगवान् रामको जन्म (अवतार) त्रेतायुगमा क्षेत्री कुलमा भएको हो । यसको मतलव कम्तिमा १२ लाख ७० हजार वर्ष पूर्व भारतवर्षको यस भूमिमा क्षेत्रीहरूकै शासन थियो । आजभन्दा १२ लाख वर्षपहिले रामको अयोध्या राज्य जस्तै अन्य सयौँ राज्यहरू थिए, जहाँ क्षेत्री राजा र ब्राह्मण मन्त्री, पुजारी र गुरुका रूपमा रहन्थे । माता सीताको जन्मभूमि अर्थात् हालको नेपाल सरहदभित्र पनि अन्य साना ठुला धेरै राज्यहरू थिए, जहाँ क्षेत्रीहरूले नै शासन गर्दथे ।

त्यस्तै, भगवान् श्रीकृष्णको जन्म आजभन्दा लगभग ५२०० वर्षपूर्व यादव कुलमा यही हिमवत्खण्डमा भएको थियो । युगहरू परिवर्तन भएसँगै राम आदि भगवानले पटक-पटक अवतार लिनुहुन्छ, अर्थात भगवान् राम र श्रीकृष्णले एक पटक होइन कयौँ पटक यसै भूमिमा जन्मिसक्नुभएको छ ।

बुद्धका विचारहरूलाई प्रचार गर्ने मगधका सम्राट अशोक (२२९१ वर्षअघि) पनि क्षेत्री कुलकै थिए, उनको दरबारमा राजपण्डित र मन्त्री ब्राम्हण नै थिए । चन्द्रगुप्त मौर्य र आचार्य चाण्डक्य (२३७१ वर्षअघि) सबैले सुनेको र जानेकै नाम हो । तिनै सम्राट अशोकले आफ्नो पुत्री चारुमतिको विवाह वर्तमानको नेपाल भुखण्डका एक क्षेत्रीय राजकुमार देवपालालसँग गरिदिए । तत्कालिन समयमा कम्तिमा २५००–३५०० वर्ष पहिलेदेखि सिँगो भारत वर्षमा वैदिक आर्यहरूकै शासन थियो, अफगानिस्तानदेखि इण्डोनेशिया र हिमालयदेखि श्रीलंकासम्म ।

नेपाली भाषा

नेपाली भाषा संस्कृत भाषाबाट परिष्कृत हुँदै आएको हो । नेपाली भाषा अन्य भाषाहरू जस्तै मैथिली, भोजपुरी, अवधि, हिन्दी, बंगालीलगायत लगभग धेरै भारतीय र नेपालका केही भाषाहरूसँग मिल्छ । यसको मतलव नेपाली भाषा हजारौँ वर्षदेखि यहाँ घुलमिल भएर रहँदै आएको छ, शुरुवातदेखि नै । यी सबै भाषाहरू देवनागरी लिपिमा लेखिन्छ, देवनागरी अर्थात् ‘देवताहरूको नगरमा प्रयोग हुने लिपि’ । अधिकांस शब्दहरू साझा छन्, लवज मात्र केहि फरक छ । त्यसैले हिमालयको काखदेखि श्रीलंकासम्म साझा संस्कृति रहिआएको छ, कारण हो हजारौँ वर्षदेखिको निरन्तर सहयात्रा ।

तर मगर, गुरुङ, राई र तामाङ जस्ता भाषाहरू न नेपाली भाषासँग मिल्छन्, न उनीहरू एक अर्कासँग नै मिल्छन् । यसको मतलव ती भाषीहरू धेरै पछि अर्थात् हिजो–अस्ति मात्रै नेपाल प्रवेश गरे, जसले गर्दा पर्याप्त घुलमिल भइसकेका छैनन् । नेपाली भाषा यस क्षेत्रको दर्जनौँ अन्य भाषाहरूसँग मिल्ने तर यहीँको आदिवासी भनिएकाहरूको भाषा, न नेपालीसँग मिल्छ, न एक अर्कासँग नै मिल्छन् । हजारौँ वर्षदेखि बसेको भनिएको एक आदिवासीको भाषा अर्को आदिवासीको भाषासँग मिल्नुपर्ने होइन ?

थातथलो

ब्राह्मण क्षेत्रीहरू देशका सबै भूभागमा बसोबास गरेको पाइने, तर आदिवासी भनिनेहरू कुनै विशेष स्थान भन्दा अन्यत्र नपाइनुले पनि ब्राह्मण क्षेत्रीहरूलाई यहाँको अनादिवासी मान्न सकिन्छ । लिम्बुहरू जुम्लामा भेटिँदैनन्, गुरुङ र मगरहरू ताप्लेजुङमा भेटिँदैनन् । तर, ब्राह्मण क्षेत्रीहरू नभेटिने कुनै जिल्ला छैन ।

ब्राह्मणहरू अनादिकालदेखि नै यहीँ छन्, त्यसैले यस क्षेत्रमा राम्रै किसिमले फैलिएर रहे, पूर्वको आसम मेघालयदेखि पश्चिमको उत्तराखण्ड हुदै काश्मिरसम्म । जो यस भूभागमा पछि आए, उनीहरूले आफ्नो समूह र शुरुवातमा आइ बसेको थातथलो छोडेर अन्यत्र जान सकेनन् । ब्राह्मण क्षेत्रीहरू जसलाई यस भूखण्डको बारेमा राम्रै जानकारी छ (अनादिवासी) उनीहरू पूर्वश्चिम, गरिरहन्छन् र फैलिएर रहन्छन् ।

पश्चिमाहरू चाहन्छन्- यो देश ब्राह्मण क्षत्री समुदायले आफ्नो नभनोस्, गुरुङ, मगर, तामाङ, राई, लिम्बुले पनि आफ्नो नभनोस् । र, यस देशप्रति सबै नेपालीको सम्बन्ध टुटोस् जसले गर्दा उनीहरूलाई यहाँ आफ्नो उपस्थिति बलियो बनाउन सहज होस् ।

ब्राह्मण क्षेत्रीहरू यसै भूमिको अनादिवासी भएकै कारण भाषा, साहित्य, अध्यात्म र धर्म संस्कृति राम्रोसँग परिस्कृत हुन पुग्यो, यसको कारण निरन्तर खोज र अनुसन्धान नै हो । त्यसैले शास्त्रकै हिसाबले कुरा गर्ने हो भने हिन्दू वैदिक सभ्यता जत्तिको संसारकै धनी संसारमा अरु छैन । साथै अरु जे जति सभ्यता विश्वमा छन्, ती कुनै न कुनै न कुनै रूपमा हिन्दू वैदिक सभ्यताकै हाँगाबिगाका रूपमा जन्मिएका समेत हुन् । सभ्यताको जरोचाहिँ हिमवत्खण्ड नै हो ।

वैदिक वाङ्ग्मय

हिन्दू वैदिक शास्त्रले हिमवत्खण्ड अर्थात वर्तमान नेपालको यस भूमिलाई आर्यावर्त क्षेत्र भनेको छ । आर्य अर्थात् वेदमार्गी । आर्यको अर्को अर्थ ज्ञानवान बौद्धिक र साधक भन्ने पनि हुन्छ । त्यसैले यस भूमि ऋषिको भूमि हो, आर्यहरूको भूमि हो र वेदमार्गीहरूको भूमि हो । हिन्दू वैदिक शास्त्रमा नेपाल देश, यस क्षेत्रको भूखण्ड र इतिहासको बारेमा स्पष्टसँग बताएको छ । कालीगण्डकीमा शालिग्राम पाउनेदेखि महाकाली नदीको मुहान र कर्णाली गण्डकी र कोशी नदीको पवित्रताका बारेमा प्रशस्तै वर्णन गरिएको छ ।

हिन्दू वैदिक शास्त्रअनुसार युगलाई चार भागमा विभाजन गरिएको छ, ती चारै युगमा नेपाल देशको वर्तमान भूखण्ड कुन अवस्थामा थियो र के थियो भन्ने बारेमा प्रशस्त वर्णन पाईन्छ । जस्तै हालको नेपाल देश रहेको भूखण्डलाई सत्ययुगमा ‘सत्यावती’, त्रेतायुगमा ‘तपोवन’, द्वापरयुगमा ‘मुक्तिशोपान’ र हाल कलियुगमा ‘नेपाल’ भनेर चिनिन्छ । मानसखण्डका अनुसार मानिसको सृष्टि यसै भूखण्डमा (मानसरोवर कैलाश क्षेत्र) भएको वर्णन गरिएको छ । यहाँ भन्न खोजेको के हो भने हिन्दू धार्मिक ग्रन्थहरूले यस क्षेत्रको बारेमा पर्याप्त कुराहरू बताउनुले ती शास्त्र र त्यसका अनुयायीहरू यसै भुखण्डको उत्पतिदेखि नै यहाँ छन् ।

हाम्रा आयुर्वेदिक शास्त्रहरूले जे-जति बताएका छन्, ती सबै यसै भूमिका जडिबुटी, बोटबिरुवा र वनस्पतिहरूका बारेमा बताइएका हुन् ।

श्रीमद्भागवत महापुराणका अनुसार जहाँ वर्षमा ६ ओटा ऋतुहरू हुन्छन् त्यहीँ भगवान् श्रीविष्णु निवास गर्नुहुन्छ भनिएको छ । विश्वमा ६ वटा ऋतु हुने देश नेपाल (हिमवत्खण्ड) मात्रै हो, त्यसैले यो भगवान् श्री विष्णुको निवास स्थल हो । त्यस्तै नेपाल शिवभूमि पनि हो, हिमालयका सांग्रिलाहरू भगवान् शिवका निवासस्थल हुन् । यो पवित्र देवभूमि मानव सृष्टिको भूमि हो । ब्राह्मणहरूको सृष्टिसंवतअनुसार वैदिक गणना आज १ अर्ब ९६ करोड़ ८ लाख ५३ हजार १ सय २१ वर्ष चलिरहेको छ । अर्थात् झन्डै २ अर्ब वर्षको काल गणना ब्राह्मणहरूसँग छ । विभिन्न एतिहासिक तथ्यहरूले पुष्टि गर्छ, ब्राह्मणहरूको उत्पतिसँग यस भूखण्डको इतिहास जोडिएको छ ।

सन् १९७४ मा चीनविरुद्ध नेपालमा खम्पा विद्रोह भयो, सो समयमा एक तिब्बती लामासँग शिवको सानो मुर्ति रहेछ । त्यो मुर्ति अमेरिका पुग्यो र त्यसको इतिहास खोतल्दा २८,५०० वर्ष पुरानो रहेको पाइयो । यसबाट के बुझ्न सकिन्छ भने शिवमार्गी, मुर्तिपुजकहरू यस क्षेत्रमा २८,५०० वर्ष अगाडिदेखि रहेछन् । यो सबैले बुझ्ने भाषाको उदाहरण हो, तर हामी यहाँ न ५००० वर्ष पुरानो हौँ, न २८,००० वर्ष पुरानो नै हौँ, हामी त यस भूमिको अनादिवासी हौँ ।

पश्चिमाहरूले हामीलाई फुटाएर हामीमाथि शासन गर्नको लागि आदिवासी र आगन्तुकको हौवा फिँजाएका हुन् । जसको इतिहास ५००० वर्ष पनि पुरानो छैन, उसले (अंग्रेज) हामी लाखौँ वर्ष पुरानो भएको कसरी देख्न सक्छन् ? अंग्रेजहरूले अमेरिकामा गएर त्यहाँको भूमिपुत्र÷आदिवासी ‘रेड इन्डियन’हरूको नरशंहार गरेर शासन गरेका थिए । सिङ्गो अफ्रिका र एसियामा पनि सोही नरशंहारको हर्कत गरेर शासन चलाए । आफ्नो कालो इतिहासबाट चोखिनकै लागि यस्तै कुरा अन्यत्र पनि भएको थियो भन्ने गलत तथ्य स्थापित गराउन हामीलाई गलत पढाए । आर्यवर्त क्षेत्रमा म्लेच्छ (अंग्रेज) हरूले शासन गरेपछि अनादिवासी आर्यहरूलाई नै बाहिरबाट आएको भनेर भनिदिए ।

ग्रीस, रोम तथा युरोपका देशहरूमा प्रचलित लोककथाहरूलाई ऐतिहासिकताको जलप लगाउने प्रयास गरिन्छ, बाइबललाई पनि एक ऐतिहासिक दस्तावेज मान्छन् । त्यसलाई सारा विश्वले पत्याउन बाध्य हुन्छ । तर विश्वकै प्रथम मानव ‘मनु महाराज’ यही हिमवत्खण्डमा जन्मिएर शासन गरे (कर्णालीको मान्मा) भन्दा कसैले पत्याउँदैन । बरु तिनै मनुमहाराजले बाँधिदिएको विधि नीतिशास्त्र ( मनुस्मृति ) माथि निरन्तर प्रहार हुन्छ, शास्त्र तोडमोड र गलत व्याख्या गरिन्छ । यदि मनुमहाराज र मनुस्मृतिको वास्तविकतालाई स्वीकार गर्ने हो भने मानव सृष्टि नै नेपालमा भएको मान्नुपर्ने हुन्छ, जुन अंग्रेजहरू चाहँदैनन् । श्री स्वस्थानी ब्रतकथा केदारखण्ड अन्तर्गतको शास्त्र हो, जसले यस भूमिको बारेमा प्रशस्त वर्णन गरेको छ । नवराज राजा हालको शालीनदी क्षेत्रका हुन्, दक्षप्रजापती टोखाका हुन् र पार्वतीकै नामबाट पर्वत भएको हो । सतीदेवीको अंगपतन भएको स्थानहरूमा शक्तिपिठहरूको प्रादुर्भाव भयो, जुन आजसम्म छँदैछ र नेपालीहरूले पुज्दै छन् ।

श्री स्वस्थानी जस्ता ग्रन्थहरू धार्मिक, सांस्कृतिकसँगै ऐतिहासिक आधारहरू पनि हुन्, जुन नेपाली इतिहासको एक अध्याय हो । तर हामीलाई गोपाल वंशबाट इतिहासको शुरुवात गराइन्छ जुन अपुरो छ । मन्जुश्रीले काठमाडौंको पानी काटेर बाहिर निकाली मानव बस्ती बसाएको भनिन्छ, तर त्यो भन्दा पनि पहिले भगवान् श्रीकृष्णले नै पानी कटाएको प्रसङ्ग छ । वैदिक सनातनीहरूको नेपाली भूमिमा इतिहास १००० देखि १५०० वर्षभन्दा पुरानो छैन भन्ने गलत तथ्य स्थापित गर्नकै लागि नेपाली इतिहासको शुरुवात बुद्धको समय भन्दा पछाडि भएको भनेर गलत कुरा लेखिन्छ र पढाइन्छ । यो जान्न जरुरी छ, भगवान् रामभन्दा पहिले पनि वैदिक आर्य सभ्यता थियो र भगवान् श्रीकृष्णभन्दा पहिले पनि । भगवान् रामले र श्रीकृष्णले वेदयोचित धर्मराज्यको स्थापना गर्नको लागि, सत्य र न्यायको रक्षाका निमित्त जब धर्म र वैदिक सभ्यतामा सङ्कटमा हुन्छ तब मानव शरीरको रूप लिनुहुन्छ । त्यसैले आर्यहरू राम जन्मिनुभन्दा पहिलेदेखि थिए भन्नुभन्दा पनि त्यस्ता राम र कृष्णहरूले पटक–पटक अवतार लिँदै गर्दा वैदिक आर्य सभ्यता जीवित थियो भन्न सकिन्छ ।

जसरी पानी अग्लो स्थानबाट बगेर होचो स्थानमा बग्दछ, त्यसरी नै सभ्यता पनि अग्लो स्थानबाट होचो स्थानतर्फ फैलन्छ । हिमालयकै पानी बगेर सागरमा पुग्छ, सागरबाट बाफ बनि पुनः हिमालायमै फर्किन्छ, अर्थात् त्यही पानी स्वरूप फेरिएर मूल स्थानमा आउँछ । सभ्यताको प्रसङ्गमा पनि ठीक यस्तै हुन्छ, प्रादुर्भाव भएको स्थानबाट अन्यत्र फैलिन्छ, अन्यत्रबाट विकृत वा परिष्कृत भएर पुनः मूल स्थानमा नै आउँछ, मूल भूमिबाट फेरि वास्तविक स्वरूप पाएर फैलिन्छ । युरोपमा यहुदी हुँदै इसाइहरूको शुरुवात हुनुपूर्व त्यहाँ पेगन संस्कृति थियो जुन वैदिक आर्य सभ्यताकै एक हाँगो थियो । मुर्तिपुजा, प्रकृति पुजा, सामाजिक सांस्कृति संरचना, ग्रह आदि मान्ने पद्धति सबै वैदिक आर्य सभ्यतासँग मिल्दथ्यो । तर जब यहुदी र इसाइको शुरुवात भयो, पेगन संस्कृति सिध्याइयो । हिजो यहीँको वैदिक आर्य सभ्यता नै फैलिएर विश्वभरि फैलिएको थियो । अहिले पुनः युरोपतिर हाम्रै योग, ध्यान र वैदिक ज्ञानको खोजी भएको छ । अंग्रेजहरू फेरि मूल भूमितर्फ फर्कंदै छन् । सांस्कृतिक, धार्मिक र आध्यात्मिक पुनर्जागरण हुँदैछ । यद्यपि सभ्यताको जननी अर्थात् मूलभूमि नेपाल र भारतमा आक्रमण पनि एकसाथ भइरहेको छ ।

अन्त्यमा,

विश्वमानचित्रमा नेपालको अवस्थिति अत्यन्त महत्वपुर्ण स्थानमा छ । विश्वका उदाउँदो दुई शक्तिराष्ट्रहरू चीन र भारतको बीचमा भएकै कारण नेपालको भू-रणनैतिक महत्व अधिक छ । नेपालका छिमेकी राष्ट्र चीन र भारत दुवैलाई एकसाथ निगरानी गर्न सकिने एक मात्र उत्तम स्थान (बेसक्याम्प) नेपाल नै हो । त्यसैले नेपाली भूमिको अस्थिरता, पटक-पटकको राजनैतिक उथलपुथल र आधा दर्जन संविधान यसैको उपज हो ।

यूरोपियनहरूले अमेरिका, अफ्रिका र एसियामाथि औपनिवेशिक शासन कायम गरे, सयौँ वर्षसम्म विश्वको मालिक बनेर लुटपाट गरे । सो समयमा उनीहरूले गरेका केही कुकर्महरूका कारण विश्वभर कैयौँ समस्याहरू सिर्जना भएका छन् । वर्तमान समयमा शक्तिशाली राष्ट्रहरूले प्रत्यक्ष औपनिवेशिक शासन लागु गर्न सक्दैनन्, तर अप्रत्यक्ष रूपले शासन गर्दैछन्, जसको स्वरूप ‘फुटाउ र राज गर’को नीति जस्ता कुराहरूबाट मात्र सम्भव हुन्छ । सामाजिक द्वन्द्व सिर्जना गरिदिने, विवाद खडा गरिदिने र पछि आफू त्यसमा संलग्न भएर अप्रत्यक्ष शासन गर्ने वातावरण तयार गर्दैछन् । आदिवासी भन्ने मुद्धा यसैको एक नमुना हो ।

आज जसले ब्राह्मण क्षेत्री समुदायलाई १३औँ शताब्दी वा १५ शताब्दीमा मुगलको आक्रमणका कारण भएर आएको, वा १०००-१५०० वर्षपूर्व युरेसिया ककेसियाबाट आएको भनिरहेका छन्, त्यसमा कुनै सत्यता छैन । यो चरम अल्पज्ञताको एक नमुना हो । तर विडम्बना इतिहासविद् भनिएकाहरू नै यस्ता गलत कुरालाई सत्य मानेर हिँडिरहेका छन् । आफूले स्वयम् खोज-अनुसन्धान नगर्ने र अरुले लेखिदिएको कुरा मात्र अध्ययन गर्ने बुद्धिजीवीहरू धेरै भएका कारण यस्तो भएको हो ।

पछिल्लो समय नेपालीहरूमा चरम हीनताबोध छ । आफ्नो गौरवान्वित इतिहास, पुर्खाको योगदान, वैदिक शास्त्र तथा सामाजिक सांस्कृतिक संरचनाप्रति कुनै गर्व नै छैन । त्यसैले नेपालीहरूले नेपालको पहिचान भुले, परिचय बिर्से, आफ्नो शास्त्र नपढेर विदेशी लेखकले नेपाली समाज भाँड्न लेखिदिएको गलत कुराहरू पढेर बुद्धिजीवी बन्न पुगे ।

जब नेपालमा पश्चिमा पद्धतिको समाजशास्त्र र मानवशास्त्र पढाइ हुन थाल्यो तब यस्ता आधारहीन र सत्यता नभएका कुराहरूले समाजमा स्थान पाउन थाल्यो । यो पञ्चायतकालिन समयमै लागु भएको शिक्षा पद्धतिको उपज हो । यद्यपि हाम्रो सामाजिक संरचना भत्काउने कार्यको वास्तविक शुरुवात सन् १८३५ मै लर्ड मेकालेले भारतमा अंग्रेजी शिक्षा लागु गराएसँगै भएको थियो । नेपाल त्यसको प्रभावबाट अछुतो रहन सकेन ।

विदेशीहरूले नेपाली समाज भाँड्न लेखिदिएको इतिहास र उनीहरूले नै तयार पारेकोे पाठ्यक्रम पढेर नेपालीहरू आफूले आफैलाई यस देशको आदिवासी मानिरहेका छैनन् । पश्चिमाहरू चाहन्छन्- यो देश ब्राह्मण क्षत्री समुदायले आफ्नो नभनोस्, गुरुङ, मगर, तामाङ, राई, लिम्बुले पनि आफ्नो नभनोस् । र, यस देशप्रति सबै नेपालीको सम्बन्ध टुटोस् जसले गर्दा उनीहरूलाई यहाँ आफ्नो उपस्थिति बलियो बनाउन सहज होस् ।