- सागर सुवेदी

नेपाली काङ्ग्रेसका वर्तमान मनोनित उपसभापति विमलेन्द्र निधिलाई पङ्क्तिकारले विमलेन्द्र भनेर भन्दा पनि नेपाली काङ्ग्रेसमा निष्ठापूर्वक काम गरेर तराईमा काङ्ग्रेसको जनमत निर्माण गर्ने नेता महेन्द्रनारायण निधिको कुनै छोरा हुन् भनेर चिनेको मात्र हो । जीवनको कुनै कालखण्डमा पङ्क्तिकारले नेपाल विद्यार्थी संघको माध्यामिक विद्यालयको संस्थापक सभापतिको कार्य सम्पादन गर्दैगर्दा विमलेन्द्र निधि भन्ने कुनै व्यक्तिले नेविसंघमा कुनै समय नेतृत्व गरेका थिए भन्ने सुनेको हो । उक्त अवधिदेखि आजसम्म काङ्ग्रेस नेता निधिले सम्पादन गरेका क्रियाकलापलाई नजिकबाट नियाल्दा उनी जस्ता व्यक्ति नेपाली काङ्ग्रेसको केन्द्रिय सभापति बन्ने हो भने धुकधुकी मात्र बाँकी रहेको बुझिएको नेपाली काङ्ग्रेस सिधै आर्यघाट पुग्ने ठहर गर्दा अतिरञ्जना ठहरिने छैन । यसो भन्दै गर्दा संघीयता र धर्मनिरपेक्षतालाई आफ्नो ठेक्का सम्झिने वरिष्ठ नेतासमेत रहेका रामचन्द्र पौडेलहरू ठिक हुन् भन्ने अर्थमा बुझियो भने काङ्ग्रेसमा आस्था राख्नेहरूप्रति अन्याय हुन्छ भन्ने मेरो व्यक्तिगत बुझाइ रहेको छ । आखिर किन निधि काङ्ग्रेस सभापतिका लागि उपयुक्त पात्र होइनन् ? यस लेखनीमार्फत प्रष्ट्याउने कोशिस गर्दछु ।
शुरुमै स्पष्ट गर्न चाहन्छु- विमलेन्द्र निधिसँग पङ्क्तिकारको टाढाको पनि लेनादेना केही छैन, फाइदा-बेफाइदाको कुनै कुरा छैन । न कुनै रामचन्द्र या सभापति देउवासँग नै पनि त्यस्तो छ । उपसभापति निधि काङ्ग्रेस सभापति बनेर नेपाली काङ्ग्रेसको अस्तित्व डुब्यो भने पनि यो अवस्थामा नेपाली काङ्ग्रेसलाई ‘राम राम’ भन्ने बाहेक अरु केही गर्न सकिने अवस्था छैन । मेरो टिप्पणी या लेखमार्फत प्रवाह हुने विचार वा धारणाले पार्टीपङ्क्तिमा कुनै असर नगर्ला, तर निष्ठावान काङ्ग्रेसजनले बुझ्नुपर्छ भन्ने मेरो अपेक्षा छ ।
व्यक्तिगत रूपमा भन्दा पङ्क्तिकारमा नेपालको राजनीतिक, सामाजिक, आर्थिक, संस्कृतिक हर विषयलाई नजिकबाट बुझ्ने चाहना वर्षौंदेखि रहिआएको छ । त्यसै क्रममा अनायासै उपसभापति विमलेन्द्र निधिले नेपालको कुनै अनलाइन पत्रिकामा हालै दिएको अन्तर्वार्ता पढ्ने मौका पाएँ । अन्तर्वार्ता मैले बुझेको निधिभन्दा फरक लाग्यो, सिधा भन्नुपर्दा मैले बुझेको निधि पार्टी र देशप्रति समर्पित व्यक्ति हैनन् । सभापति बन्नका लागि उनले गरेका चिप्ला कुरा पढ्दा आजसम्म उनले गरेका गतिविधिमा ध्यान गयो । सो अन्तर्वार्तामा सरासर झुट बोलेर कार्यकर्ता पङ्क्तिलाई उनले दिग्भ्रमित तुल्याउन खोजेको प्रस्टै देखियो । अन्तरवार्ताकारले सोधेको प्रश्नमा जवाफ दिने क्रममा निधिको जिकिर थियो- ‘हेर्नुहोस्.. आज पनि म बीपीको तस्बिरमुन्तिर बसेर तपाईंहरूसँग कुरा गरिरहेको छु । बीपीको असली राजनीतिक उत्तराधिकारी ‘म’ हुँ !’
विमलेन्द्र निधिको यो दाबीले मेरो मन-मस्तिष्कमा एक प्रकारको भुइँचालो ल्यायो । काङ्ग्रेस इतिहास, अवस्था, पार्टीभित्रका पुराना तथा नयाँ नेताहरूको झगडा, काङ्ग्रेसको सिद्धान्तलाई अत्यन्त नजिकबाट हरेर बुझ्दै आएको मजस्तो व्यक्तिलाई सो अन्तर्वार्ताले नराम्रोसँग झस्काइदिने नै भयो । कम्तिमा निधि किन काङ्ग्रेस नेतृत्वका लागि उपयुक्त पात्र होइनन् भन्ने विषयलाई आफूले बुझेको आधार प्रस्तुत गर्न सकियो भने काङ्ग्रेसमा आस्था राख्नेहरूले केही तथ्य बुझ्नेछन् कि भन्ने लाग्यो । बीपीले परिकल्पना गरेको काङ्ग्रेस फेरि बन्नेछ भन्ने त मलाई लाग्दैन, तथापि संस्थापक नेताहरूले देखाएको बाटोमा हिँड्ने प्रयास मात्र गरियो भने पनि शुभचिन्तकको मन गदगद हुने थियो भन्नेचाहिँ हरदम लागिरहन्छ ।
प्रथमतः विमलेन्द्र निधिले महामानव बीपीको उत्तराधिकारी हुँ भन्नु स्वयम् बीपी कोइरालाप्रतिको अपमान हो भन्ने मेरो बुझाइ छ । यसमा स्वयम् निधिप्रति गम्भीर प्रश्न उठाउँदै यहाँ सानो उधाहरण प्रस्तुत गर्न चाहेँ । जनसम्पर्क समिति युरोप भन्ने नेपाली काङ्ग्रेसको विधानमा नभएको युरोपमा एक संगठन छ । सो संगठनमा ‘को’ छन्, कहिले अधिवेशन हुन्छ युरोपमै बस्ने काङ्ग्रेसजनलाई थाहा हुँदैन र पनि सो संगठनको नाममा केन्द्रिय कार्यालयका सचिवलाई पत्र काट्न लगाएर अवैधानिक काम गर्न रुचाउने व्यक्तिमा निधि पर्नुहुन्छ । पार्टी पंक्तिमा आस्था राख्ने कार्यकर्तालाई अभिभावक बनेर सम्झाउने र मेलमिलापको वातावरण तयार गर्न भन्दा एक पक्षलाई बोक्दा उहाँ रमाएको प्रस्ट देखिन्छ । विदेशस्थित संगठनमा त यस्तो प्रवृत्ति देखाउँछन् भन्ने जिल्ला र केन्द्रमा उनी कसरी चलिरहेका होलान् ? सामान्य व्यक्तिले पनि अनुमान गर्न सक्छ ।
सीमित र स्वार्थकेन्द्रित व्यक्तिहरूलाई बोक्दा संगठन र पार्टीको भविष्यको लागि राम्रो हुन्न भनेर युरोपस्थित नेपाली काङ्ग्रेसमा आस्था राख्नेहरूले निधिलाई बारम्बार सुचित गराउन खोज्छन्, तर निधि यी विषयलाई सुन्न चाहँदैनन् भन्ने गुनासो जनसम्पर्क समितिमा आबद्ध काङ्ग्रेसका आस्थावाहरू गरिरहन्छन्, तर सुनुवाई कतैबाट हुँदैन । निधि आफ्नो सानो गुटबाट हाइ-हाइ गर्नेहरूको सानो जमातमा रमाउने एक साधारण क्षेत्रीय नेता भएको कारण समग्र पार्टीको नेतृत्व गर्न सक्षम देखिँदैनन् भन्नेहरू पार्टीभित्र ठुलो संख्यामा छन् । पार्टीभित्रका सचेत सदस्यहरू बार्गेनिङ गरेर पद हासिल गर्ने उनको बानीबाट आजित छन् ।
काङ्ग्रेसको विधानमा ज्यान मारेका अपराधीले चुनाव लड्न पाउने तर खुमबहादुर खड्कालाई आजीवन पार्टीबाट चुनाव लड्न नपाउने प्रबन्ध गर्न दिनरात एक पार्ने व्यक्ति पनि निधि हुन् भन्ने काङ्ग्रेस पङ्क्तिमा चर्चा चलेको सुन्न पाइन्छ । गिरिजापछि काङ्ग्रेसको मेरुदण्ड मानिएका दिग्गज तथा प्रस्ट नेता खुमबहादुर खड्काको राजनीति अवसान नभएसम्म आफ्नो बार्गेनिङ गर्ने स्पेस प्राप्त हुँदैन भन्ने यिनको बुझाइ थियो । काङ्ग्रेसका एक खम्बा खुमबहादुरलाई यसरी ढालियो कि आखिर उनले असामयिक रूपले संसार नै त्याग्नुपर्ने परिस्थिति सिर्जना भयो । यहाँ निधिको सम्बन्ध अन्तर्राष्ट्रिय रूपमा कहाँ जोडिएको छ, उनी बोल्दा बोलिने ‘आधार’हरू के हुन् ? साथै उनको ‘उद्देश्य’ के हो ? यी विषयहरूमा काङ्ग्रेस पार्टी पङ्क्तिले विवेक पु¥याएर खोज्ने बेला आइसकेको छ ।
कुनै समय पङ्क्तिकारले काङ्ग्रेसमा सभापति देउवाका चर्का आलोचक मानिने एक पुराना काङ्ग्रेस केन्द्रिय सदस्यलाई सोधेको थियो– बीपी विचारलाई सम्मान गर्ने काङ्ग्रेसका दिग्गज नेता महेन्द्रनारायण निधिका छोराको ब्यवहार के बाबुको जस्तो छ त ? ती नेताले भन्नुभएको थियो– काङ्ग्रेसभित्र पार्टीका लागि घातक शेरबहादुर भनेर बाहिर कतिपयले भन्छन् तर खास घातक पात्र त विमलेन्द्र निधि छन् । यिनको सोच क्षेत्रियतावाद भन्दा माथि उठ्न सकेको छैन । उक्त समय ती जिम्मेवार नेताको तर्क सुन्दा मन तरङ्गित बनेको थियो ।
पङ्क्तिकारको बुझाइमा निधि विगत केहि वर्षदेखि हिँडिरहेको बाटोले नै प्रस्ट देखाउँछ कि उनी बीपीलाइ अनुशरण गर्ने दोश्रो पुस्ताको नेता पटक्कै होइनन्, बरु बीपी विचारलाई काङ्ग्रेसबाट उखेलेर फाल्ने प्रमुख पात्रमध्ये एक हुन् । भलै बीपीले आफ्नो उर्जाशील जीवन नेहरूको स्वार्थमा बिताउनुभयो, जब दिन बित्दै गए भारतको षडयन्त्रलाई ढिलो गरी बुझ्नुभयो । तर विडम्बना ! सो बेला महामानवलाई स्वास्थ्यले साथ पनि दिएन र, राजाले पनि बीपीले स्वीकार गरेको ‘बुझाइ’लाई बुझ्ने कोशिस गरेनन् । इन्दिरा गान्धीले राखेको प्रस्तावबाट झस्किँदै बीपीले एक गहन निर्णय गर्नुभयो । त्यो बेला भारत निर्वासनमा बस्दा बीपी भन्नुहुन्थ्यो- ‘राजाले हालेको जेलमा बस्छु तर भारतीय काङ्ग्रेससँग सम्झौता गरेर आफ्नै देश र पार्टीप्रति गद्दारी गर्दिनँ ।’ बीपीको सुझबुझपूर्ण निर्णयले गर्दा आज पनि उहाँ पार्टीपङ्क्तिमा पुज्य हुनुहुन्छ । बीपीले मेलमिलापको सन्देश लिएर स्वदेश फर्किएपश्चात सार्वजनिक रूपमा भन्नुभएको थियो- ‘काङ्ग्रेसको घाँटी राजासँग जोडिएको छ ।’ अब यहाँ विमलेन्द्र निधिका गतिविधिलाई नजिकबाट नियाल्ने हो भने उहाँले बीपीलाई आदर भन्दा अनादर बढी गर्नुहुन्छ भन्ने विषय घामजस्तै खुला देखिन्छ ।
देशभित्र अहिले काङ्ग्रेसप्रति आस्था राख्नेहरू संस्थापक नेताहरूले जग हालिदिएको विचारलाई पार्टीले अङ्गिकार गर्न सकेन भन्दै निष्कृय हुँदै छन् या पार्टी नै त्याग्दै छन् भने पार्टी बीपीकै बुझाइको विपरीत नेपालका कम्युनिस्ट त्यसमाथि पनि उग्र बामपन्थी विचार भएका प्रचण्डहरूसँग काँधमा काँध हालेर सहकार्य गर्न तयार भएर बसिरहेको छ । अर्को प्रसङ्ग लगाउँदा काङ्ग्रेस कार्यकर्ता पानीमा उत्रिएको बेलुनको अवस्थामा छन्, कुनै-कुनै कार्यकर्तामा त पार्टीले जे गरे पनि त्यही रुख र त्यही चारतारे झण्डा नै मेरो भन्ने भ्रम विद्यमान देखिन्छ । तर, यथार्थमा बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले स्थापना गरेको पार्टी अहिले यो समयमा आइपुग्दा संस्थापकले अवलम्बन गरेको नीतिबाट बिमुख भई गन्तव्यविहीन यात्रामा हिँडेको बटुवाको हालतमा देखिन्छ ।
नेता बन्न जनताबाट निर्वाचित हुनु भनेको प्रजातन्त्रको संस्कार तथा विधि हो । उनी कार्यकर्ताका नेता हुन् या होइनन् ? काङ्ग्रेस पार्टीपङ्क्तिमा उनको नेतृत्वलाई कसले मान्छ ? मनोनित हुने चोरबाटो लिई आफ्नो पदमा सम्झौता गरेर उनले १३औँ महाधिवेशनमा किन चुनाव लडेनन् ? आफ्नै गृहजिल्लामा महेन्द्रनारायण निधिको निष्ठामा उभिएको पार्टी भन्दा हिजो कताबाट बसाइँ सरेर आएका राजेन्द्र महतोहरू किन लोकप्रिय छन् ? यी विषय अब आउने महाधिवेशन सदस्यहरूले बुझ्नु जरुरी देखिन्छ ।
विमलेन्द्र निधिलाई संसदीय चुनावमा हराउन भारत नै लागेको उनको बुझाइ हुनुपर्छ, केही वर्षअगाडि नेपालमा आयोजना गरिएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री पहिले जनकपुर आइ सीता माताको मन्दिरमा दर्शन गरेर काठमाडौं पुग्ने कार्यतालिकालाई प्रभावित पार्न निधिले ठुलो हङ्गामा मच्चाएको प्रस्ट देखियो । यसले नेपाल-भारत सम्बन्धमा तितो अवस्था आउने अवस्था सिर्जना भयो । उक्त बखत निधिबाट बोलिएका शब्द र अमर्यादित हर्कतको कारण खोतल्दै जाँदा पार्टीपङ्क्ति यस्तो निष्कर्षमा पुगेको सुनिन्थ्यो । निधिलाई संसदीय निर्वाचनमा भारतले समर्थन नगरेको, सहयोग माग्दा पनि नदेखाएको र उनलाई हराएको ! प्रस्ट भन्दा निधि क्षेत्रियतावादी नेता हुन्, उनले धेरै गरे भने तराइमा कुनै एक जिल्ला स्तरमा सीमित रहेर अरु ‘कसैको’ सहाराबाट क्षेत्रीय राजनीति गर्नेमध्येका एक व्यक्ति हुन् ।
गृहमन्त्री हुँदा निधिमाथि आरोप थियो- सुराकीका लागि राज्यले छुट्टाएको रकममा पनि कयौँ पटक उनको आखा गएको र सो विषयमा प्रहरी महाशाखा हेर्ने सहसचिवसँग विवाद परेको । भलै यो विषयमा गृहप्रशासनका कसैले खुलेर बोल्ने हिम्मत गरेनन् । कसैले बोल्ने हिम्मत नगर्दा यो प्रकरण त्यत्तिकै सेलायो । आज निधिको आलिशान जीवनशैलीलाई हेर्ने हो भने त्यसको ‘श्रोत’ सम्बन्धित निकायले खोजेको खण्डमा जनतालाई प्रस्ट हुने नै थियो ।
महानिरीक्षक प्रकरणमा तत्कालिन डिआइजी जयबहादुर चन्द र नवराज सिलवाललाई एकआपसमा लडाउने काम पनि तत्कालिन गृहमन्त्रीसमेत रहेका निधिबाट भयो, महानिरीक्षक प्रकरणबाट बुझिएको सो विवाद प्रहरी इतिहासमा दर्ज हुने प्रकारले चर्चित बन्यो । निधिले खेल त सुरु गरे, तर पछि सर्वोच्च अदालतमा सुशीला कार्की जस्ता पार्टीको झण्डा बोक्ने प्रधानन्याधीश हुँदा यो प्रकरणले संगठनको नेतृत्व गर्ने मनोभावना बोकेका अधिकृतमा ठुलो चोट पुऱ्यायो नै, साथै संगठनप्रति गम्भीर प्रश्नचिन्ह पनि खडा गऱ्यो । पङ्क्तिकार प्रस्ट छ यो सम्पूर्ण खेलको प्रमुख खेलाडी विमलेन्द्र निधि थिए । सो प्रकरणपश्चात भएको संसदीय चुनावमा काङ्ग्रेसले प्रत्यक्षतर्फ ठुलो हार ब्यहोऱ्यो । विपक्षी पार्टीहरू र मिसन मेडियाहरूले महानिरीक्षक प्रकरणसँग जोडेर नेपाली काङ्ग्रेसलाई यसरी बदनाम गराए कि त्यसमा स्वयम् सभापति शेरबहादुर देउवाले स्पस्टिकरण दिँदा पनि कार्यकर्ता तहमा जनता मान्न तयार भएनन् । यतिका हर्कतलाई प्रस्ट बुझेका सभापति देउवाले विमलेन्द्र निधिलाई कारवाही नगरी उपसभापति मनोनित गरेर पुरस्कृत गरिदिए । सो निर्णय बाहिर आएपछि काङ्ग्रेसमा जीवन समर्पण गरेका पार्टी पङ्क्तिसँग जोडिएकाहरू निराश बने ।
नेपाली काङ्ग्रेस १४औँ महाधिवेशनको पूर्व सन्ध्यामा छ । जस्तो परिस्थिति आए पनि राजनीतिक दलसम्बन्धी ऐन तथा पार्टीकै विधानअनुसार पनि महाधिवेशन नगरी काङ्ग्रेसलाई सुख छैन । काङ्ग्रेसलाई जीवन्त राख्न कसको नेतृत्व उपयुक्त हुन्छ काङ्ग्रेसजनले विचार गरुन् । यहाँ समग्र काङ्ग्रेसीले बुझ्नुपर्ने विषय भनेको ‘भन्दा पाइलटबाबाको भक्त हुँ भन्ने तर हिन्दु धर्मको घोरविरोधि, चरम क्षेत्रियतावादी निधिलाई काङ्ग्रेस नेतृत्वमा पुऱ्याउने हो भने काङ्ग्रेस सर्वनास हुनबाट स्वयम् पशुपतिनाथ प्रकट भए पनि सम्भव हुने छैन भन्ने पङ्क्तिकारको दृढ बुझाइ छ । जय मातृभूमि !
प्रतिक्रिया