युरोकपको साविक विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्स युरोकप २०२० को दोश्रो चरणबाटै बाहिरिएका छन् । पोर्चुगल बेल्जियम र फ्रान्स स्वीट्जरल्याण्ड पराजित भएका हुन् । त्यस्तै तीन पटकको युरो च्याम्पियन स्पेन भने क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
स्पेन र क्रोएसियाबीच भएको प्रीक्वाटर खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटमा तीन–तीन गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हापमा स्पेनले उत्कृष्ट खेलको प्रदर्शन गर्दै दुई गोल गरेको थियो । दोश्रो हापमा दुवै टोली गोल गर्न असफल भएपछि क्रोएसिया स्पेनसँग ५–३ को अन्तरले पराजित भएको हो ।
त्यस्तै, युरोकपको प्रमुख दावेदार फ्रान्स पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्डसंग पराजित भएको छ । फ्रान्सका केलिएन एमबाप्पे पेनाल्टीमा गोल गर्न असफल भएपछि स्वीट्जरल्याण्डले ५–४ को अन्तरले बाजी मारेको हो । स्वीट्जरल्याण्ड युरोकपको क्वाटर फाइनलमा प्रवेश गरेको यो पटक हो । यसभन्दाअघि निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले ३–३ गोल गरेका थिए ।
स्वीजरल्याण्डलाई ऐतिहासिक विजय दिलाउने स्वीस गोलकिपर यान सोमेर नायक बने । अव क्वाटर फाइनलमा स्वीट्जरल्याण्डको भिडन्त स्पेनसंग हुने छ । त्यस्तै वेल्जियमको इटाली र चेक रिपब्लिकको डेनमार्कसँग हुनेछ ।
युरोकप २०२० मा डेनमार्कले वेल्स, इटालीले अष्ट्रिया, चेक रिपब्लिकले नेदरल्याण्डलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका थिए ।
युरोकपको प्रीक्वाटर अन्तिम दुई खेल असार १५ र १६ गते इङ्गल्याण्ड र जर्मनी र स्वीडेन र युक्रेनको बीच हुँदैछ । यी चार टोलीबाट दुई टोली क्वाटर फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया