- स्वयम्भूनाथ कार्की
हुुन त राष्ट्रवाद राष्ट्रको पक्षमा हुनुलाई भनिन्छ तर यसलाई कुनै एक राजनैतिक वादको रूपमा प्रस्तुत गर्ने चेष्टा गरियो । नेपालमा लामो समयसम्म राष्ट्रवाद र प्रजातन्त्रलाई एकअर्काको विपरितार्थीे रूपमा प्रस्तुत गरियो । बीपीको सरकार राष्ट्रवादी हो तर प्रजातन्त्रविरोधी हो भन्ने कुराको जवाफमा महेन्द्रले ‘यो कुरा इतिहासले मुल्याङ्कन गर्ने छ’ भनेका थिए । ०१७ सालमा शासन आफ्नो हातमा लिएदेखि मृत्युपर्यन्त उनले गरेको कामले दलमाथिको प्रतिबन्ध बाहेक प्रजातन्त्रका मान्यतामा सम्झौता गरेनन् । तर एकथरीले दलतन्त्र मात्र प्रजातन्त्र हो भनेर प्रचारयुद्ध चालु राख्यो भने अर्कोथरीले साम्यवाद मात्र जनवाद भन्ने अडान कायम राख्यो । वर्र्तमानमा पनि राष्ट्रवाद शब्दलाई विशेषतः कुनै एक दललाई लोकतन्त्रको प्रतिरुप मान्नेहरूमध्ये केहीले स्वेच्छाचारितालाई राष्ट्रवाद भनेर छेड हान्दैछन् ।
महेन्द्रले राष्ट्रवादमा प्रजातन्त्र र साम्यवादको समिश्रण गराए जसलाई ‘पञ्चायती प्रजातन्त्र’ भनियो । साम्यवादको वर्ग-संघर्षलाई पञ्चायतले वर्ग-समन्वयमा रुपान्तरण गर्ने प्रयत्न गर्यो । बीपीको भूमिसुधारको अवधारणालाई कार्यरूपमा ल्याए तर साम्यवादी स्वादमा । यसरी राष्ट्रवाद राजावाद र राजा प्रजातन्त्रवाद र साम्यवाद दुवैको विरुद्ध हैन सहयात्री भन्ने सावित गर्ने प्रयत्न गरे । तर यो क्रम उनीपछि उल्टियो, राष्ट्रवाद र प्रजातन्त्र एकअर्काको विपरीत भनेर सावित गर्न सत्ता नै लाग्यो । साम्यवादी नजिकका अनि प्रजातन्त्रवादी विरोधी भन्ने भावना पैmलाउनेहरू राजाकै सल्लाहकारहरू थिए । राजा महेन्द्रले शासनमा राष्ट्रप्रेम हुनुपर्छ र साम्यवाद, प्रजातन्त्रवाद समिश्रण गरेर मुलुक सुहाउँदो व्यवस्था गर्नपर्छ भन्ने मान्यता राजा वीरेन्द्रको शासनको शुरुमा नै भत्काउन आरम्भ भयो । विद्यार्थी-राजनीतिमा यो वैमनश्य यति धेरै बढ्यो कि ज्यानै जाने झडपहरू पनि भए ।
विराटनगरमा त्यतिखेर गोवर अर्थात काङ्ग्रेस विद्यार्थी, खरानी अर्थात कम्युनिष्ट विद्यार्थी अनि भुस अर्थात मण्डल विद्यार्थी भनेर एकअर्कालाई सम्बोधन गरेका सम्झने धेरै अहिले पनि जीवित नै होलान् । राष्ट्रवाद राजावाद र राजा एकै हुन् भन्ने राष्ट्रवादी नेपालीको सोच हल्लिन लागेको त्यही अवसरदेखि नै हो । एकै नभए पनि एउटै टोलीको हो भन्ने आजको धारणा अहिलेसम्म ठिक नै होला । तर स्पष्ट फरक पनि बुभ्mन आवश्यक छ । ‘पहिले राष्ट्र, अरु त्यसपछि’ भन्ने सोच राष्ट्रवाद हो भने राजसंस्था भएपछि राष्ट्र स्वतः हुन्छ भन्ने सोच राजावादी हो । राजा त्यो राजसंस्थाको प्रतिनिधि हो । तर, एक्लो व्यक्ति हैन आफ्नो सल्लाहकार, गुप्तचर र सुरक्षा संयन्त्र सबैको समिष्टि हो । कथं कुनै अवस्थामा राजा असफल हुन्छ भने त्यो असफलता एक्लो व्यक्ति राजाको हैन त्यो सल्लाहकार, गुप्तचर र सुरक्षा संयन्त्र सबैको हो ।
यस्तो अवस्थामा राजाले आफ्नो असफलतामा यी तीन तत्वहरूमा क-कसको के-के भूमिका छ भनेर केलाउन र सुधार गर्नपर्छ । यदि त्यो गर्न सकेन भने जनताको आस्थाले मात्र काम गर्दैन । किनभने जनताको आस्था राजसंस्थाप्रति हो व्यक्तिप्रति हैन । आफ्नो राजा नै नभएको अवस्थामा पनि बेलाइतको राजगद्दीलाई मान्ने अष्ट्रेलियाले महारानी एलिजावेथलाई हैन गद्दीलाई मानेको हो । वीरेन्द्रपछि ज्ञानेन्द्रलाई राजा मानिएको व्यक्ति हैन गद्दीलाई मानेको हो । राजसंस्थालाई भूमिकाविहीन बनाइए पनि त्यसको प्रतिनिधिको रूपमा राजाको जयजयकार नेपालीको राजगद्दीप्रतिको आस्था हो । जुन बेला जनतालाई राजाले गद्दी सम्हाल्ने हिम्मत गर्दैनन् भन्ने लाग्छ त्यो बेला अर्को सम्भावित पात्र खोज्नैपर्ने हुन्छ, लावण्य देशमा हात्तीलाई माला दिएर खोजाएको जस्तो ! बाक्लै आउने गरेका सन्देश, अभिव्यक्ति आदिले सम्भावित पात्र खोज्न आवश्यक नभएको महसूस भएको त छ ।
शासनमा होस् वा लोकव्यवहारमा पुराना कार्यनीति, संयन्त्र, सहयोगीहरूमा केही न केही कमजोरीले असफलता ल्याउँछ । हरेक असफलता नै सफलताको साँचो हो । नयाँ सोच, व्यवहार अनि कार्यनीति थपेर बलियो बनेर गरिएको प्रयत्नको निरन्तरता नै सफलताको बाटो हो । अलिकति सहजता देखिनेवित्तिकै हौसिएर काम गर्ने अनि कठिन समयका सहयात्रीहरूको उपेक्षा गर्ने व्यवहारले भने पुनः असफलतातर्फ लैजाने कुरामा शंका गरिन हुन्न । राष्ट्रको एक मियो चाहिन्छ त्यो मियो नियमकानुनमा लेखेर पैदा गर्न सकिन्न । लगातार सर्वोच्च अदालत गुहारिनु भनेको त्यो मियोको अनुपस्थितिको असर हो । त्यसरी गुहार्नेहरूको अन्तःस्करणले पनि राष्ट्रपति वा सर्वोच्च अदालतलाई मियो बन्न योग्य देखेको छैन । यस्तो बेलामा अब स्वतः मियोको रूपमा राजगद्दी खोजिन्छ भन्ने अनुमान गरेर कोही चुपचाप बस्ने कोही दम्भ देखाउने गर्दा त्यो प्रत्युत्पादक हुन्छ । राष्ट्रको निमित्त भन्ने जो कोही होस् त्यसले जनतासँग हिमचिम बनाउनै पर्छ । भएका सम्पर्कहरू पनि तोडेर दुला पस्दा जनताले भुल्न पनि सक्छ ।
प्रतिक्रिया