जिम्न्याष्टिक पूर्वाधारका लागि थिमीमा जग्गा मिल्यो

जिम्न्याष्टिक पूर्वाधारका लागि थिमीमा जग्गा मिल्यो



जिम्न्याष्टिक खेलको कभर्ड हललगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । सोसम्बन्धी सम्झौतापत्रमा हालै त्रिपक्षीय हस्ताक्षर भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मध्यपुर थिमी नगरपालिका वडा ९ स्थित लुखापाटीमा ३–९–२–० क्षेत्रफल जग्गा पूर्वाधार निर्माण गर्न उपलब्ध गराइएको छ । उक्त जग्गा राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउने तथा राखेप, नगरपालिका र जिम्न्याष्टिक संघ समेत मिलेर जिम्न्याष्टिक कभर्ड हललगायतका पूर्वाधारको विकास गरी त्यसको उपभोग एवं सञ्चालन भने जिम्न्याष्टिक संघले गर्ने सहमति भएको छ ।

उक्त कार्यक्रममा जिम्न्याष्टिक संघका सह–अध्यक्ष किशोरबहादुर सिंह, महासचिव मुकुन्दराज शर्मा, सचिव वचन देउजा, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल, नगरपालिका कर्मचारीलगायतको उपस्थिति थियो ।