एनआरटीमा दुई विदेशी खेलाडी अनुबन्ध

एनआरटीमा दुई विदेशी खेलाडी अनुबन्ध



आगामी असोज ३ गतेदेखि शुभारम्भ हुने शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगलाई मध्यनजर गर्दै न्यूरोड टीम (एनआरटी)ले दुई विदेशी खेलाडीसँग सम्झौता गरेको छ । टोलीमा चार जना विदेशी खेलाडी राख्न पाउने नियमअनुसार एनआरटीले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरसँग अनुबन्ध गर्दै आफ्नो क्लबमा भित्र्याएको हो । सो अनुबन्ध कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि उपस्थिति रहेको थियो ।

पछिल्लो समय नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका कारण खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको क्लबले जनाएको छ । यी दुई खेलाडीको अगुवाइमा गत जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) को उपाधि काठमाडौं रेजर्सले उचालेको थियो ।

शहीद स्मारक लिग पहिलो पटक होम एन्ड अवे प्रणालीमा आयोजना हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष लिगको आयोजना हुन सकेन । हालै अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोजको पहिलो सातादेखि लिगको आयोजना गर्ने निर्णय गरेको थियो । एन्फाले उक्त निर्णय १४ वटा क्लबका पदाधिकारीहरुसँगको छलफलपछि लिगको मिति तय गरेको थियो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

नेपालकै सफल फुटबल क्लबमध्यको एक एनआरटीको स्थापना १९९१ मा भएको थियो । एनआरटीले चार पटक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ । आगामी असोजको पहिलो सातादेखि सञ्चालन हुने नयाँ ढाँचाको लिगमा पनि पुरानै सफलता दोह¥याउन एनआरटीले विदेशी खेलाडीहरुको अनुबन्ध गरेको जानकारी गराएको छ ।

त्यस्तै, यतिबेला क्लबले टीम घोषणा नगरे पनि आफ्नै किसिमले तयारी गरिरहेको पनि जनाइएको छ । साथै लिगका लागि अन्य स्वदेशी र विदशी खेलाडीसँग अनुबन्धको प्रक्रिया पनि अगाडि बढिरहको र प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएका जानकारी गराएको छ । त्यस्तै अघिल्लो वर्षहरूका प्रतियोगितामा जस्तै यो वर्ष पनि मासुेक ओलुमो र स्टेफेन समीरको जोडीले आफ्नो क्लबलाई उपाधि दिलाउने क्लबले अपेक्षा गरेको छ ।