एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चन्द चयन

एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चन्द चयन



नेपाल भलिबल संघले महासचिव जीतेन्द्रबहादुर चन्द एशियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा बधाई तथा शुभकामना प्रदान गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, संघका सदस्यहरु, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरू तथा एशियन महिला भलिबल च्याम्पियनसिपका तयारीमा रहेका खेलाडीलगायतको उपस्थिति रहेको थियो ।

महासचिव चन्दलाई कार्यवाहक अध्यक्ष तथा पदाधिकारीहरूले बधाई तथा शुभकामना दिँदै कार्यकालको सफलताको कामना गरेका थिए । नेपाल जस्तो विकासोन्मूख राष्ट्रले एसियन सेन्ट्रल जोनको पदाधिकारी जस्तो गरिमामय पदमा नियुक्त हुनु नेपाल तथा भलिबल संघको गौरवको विषय भन्दै यसको नेपाल भलिबल संघले सक्दो सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

महासचिव चन्दले सेन्ट्रल जोनको कोषाध्यक्षमा नियुक्त हुनु विगतमा नेपालले भलिबल खेलको विकासमा गरेको कार्यहरुको मुल्याङ्कनको प्रतिफल भएको भन्दै आगामी दिनमा अझ बढी चुनौती थपिएको र संघले भलिबल खेलको विकास र विस्तारमा अझ बढी कार्य गर्नुपर्ने बताए ।

एशियन भलिबल महासंघले आफ्ना आवद्ध राष्ट्रहरूलाई पाँच क्षेत्रमा विभाजन गरेर भलिबल खेलको विकासलाई अगाडि बढाइरहेको छ । अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरू एसियन सेन्ट्रल जोन क्षेत्रअन्तर्गत पर्दछन्, जसमा नेपालसहित १४ राष्ट्र सदस्य छन् ।