कल्याणकारी कोषबाट खेलाडीलाई उपचार खर्च

कल्याणकारी कोषबाट खेलाडीलाई उपचार खर्च



राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न चार खेलका चार खेलाडीलाई सहयोगस्वरुप उपचार खर्च उपलब्ध गराएको छ । संघले चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठले जानकारी गराए ।

संघका अनुसार ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८०–८० हजार प्रदान गरिएको जनाएको छ । त्यस्तै, जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ उपलब्ध गराइएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरिएको थियो । खेलाडी संघका उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

चालू आर्थिक वर्षमा कोषले यी चार खेलाडीसहित १३ खेलाडीलाई उपचार खर्चवापत जम्मा ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको छ । यसअघि विभिन्न ५ खेलका खेलाडी र पूर्वखेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ ।

२०६८ सालमा १ करोड रकमबाट कोष स्थापना गरिएको थियो । हाल कोषमा जम्मा १ करोड ४० लाख रुपैयाँ रहेको सदस्यसचिव श्रेष्ठले जानकारी दिए । सोही रकमको ब्याजबाट मर्कामा परेका खेलाडीलाई सहयोग गरिँदै आएको छ ।