आईओसी नियम तगारो बन्दा गोपीको सपना चकनाचुर !

आईओसी नियम तगारो बन्दा गोपीको सपना चकनाचुर !


  • श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले संयुक्त विज्ञप्ति जारी गर्दै गोपीचन्द्र पार्कीको सट्टा सरस्वती चौधरीले टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउने खुलासा गरेपछि अहिले नेपाली खेलकुदको माहोल एकाएक तातेको छ । टोकियो ओलम्पिकमा सहभागिताको लागि निश्चित भएर निरन्तर प्रशिक्षणमा जुटेका पार्कीले ओलम्पिकमा सहभागिता दिन नपाउने खबर आएपछि खेलकुदमा सन्नाटा नै छाउन पुग्यो । किन र के कारण पार्की टोकियो ओलम्पिकमा सहभागिता दिनबाट वञ्चित हुनुपऱ्यो त ? प्रश्नमाथि प्रश्न उठे । त्यसपछि ओलम्पिकमा पार्कीको सहभागितालाई पूर्णविराम लागेको खुलासा गर्ने राखेप, ओलम्पिक कमिटी र एथलेटिक्स सङ्घ तीनैवटा निकाय सबैको तारो बन्न पुगे । षडयन्त्रको गन्धको आएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले सङ्घले त्यसको प्रतिवाद गर्दै खेलाडीको खेल्न पाउने हकबाट कसैले वञ्चित गर्न नपाउने भन्दै यी तीनवटै निकायप्रति निशाना साध्यो । केही सञ्चारमाध्यमले पार्कीप्रति साहनुभूति प्रकट गर्दै समाचार सम्प्रेषण पनि गरे । तर ‘चुरो कुरो’ के थियो त्यसको खुलासा कसैले गरेनन् । उल्टै सत्य कुरो लुकाएर विवादास्पद बनाइदिए, जुन अहिले खेलकुदमा ‘हट केक’ बनेको छ ।

नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिक छनोटका लागि नेपालगञ्ज म्याराथनलाई मान्यता दिएको थियो, जसमा पार्कीले प्रथम स्थान हासिल गरेपछि नेपाल एथलेटिक्स सङ्घले गोपीचन्द्र पार्कीलाई खेलाडी र चन्द्रबहादुर गुरुङलाई प्रशिक्षकमा सिफारिस गर्दै एनओसीमा पत्राचार गरेको थियो । सङ्घको सोही सिफारिसबमोजिम एनओसीले गोपीलाई प्रशिक्षण भत्ता उपलब्ध गराउँदै प्रशिक्षण क्याम्पमा राखेको थियो । गोपी सशस्त्र प्रहरीका खेलाडी भएकोले उनलाई सशस्त्रकै प्रशिक्षक सन्तोष श्रेष्ठले प्रशिक्षण गराउँदै आएका थिए । निषेधाज्ञाको समयमा पनि पार्कीको प्रशिक्षण नियमित रूपमा सञ्चालन हुँदै आएको थियो । पार्की क्याम्पमा बसेपछि उनका सबै कुराको निगरानी ओलम्पिक कमिटीले गर्दै आएको थियो । पार्की यी सबै कुरोमा खरो उत्रिदै ओलम्पिकको तयारीमा जुटेका थिए ।

प्राप्त जानकारीअनुसार टोकियो ओलम्पिक आयोजनाको समय एक महिना मात्र बाँकी थियो । एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले पार्कीलाई खेलकुद सामग्री (किड्स) र भत्ता दिएर विदाई गर्ने कार्यक्रम बनाएका थिए । सोही समयमा एनओसीबाट सुजनलाल श्रेष्ठको फोन आयो । श्रेष्ठले भने तपाईंहरूको अन्तर्राष्ट्रियको विषयमा कसले हेर्छ ? सङ्घका कर्मचारीले जवाफ दिए- अध्यक्ष शाहले । यो कुरोको जानकारी ती कर्मचारीले अध्यक्ष शाहलाई गराएपछि शाहले श्रेष्ठसँग सम्पर्क गरे । सो अवसरमा श्रेष्ठले एथलेटिक्सको लङ्ग लिस्ट आइसक्यो, एक्रिडिएसन कार्ड आइसक्यो, तर पार्कीको रजिष्ट्रेशन हुन सकेन भनी जानकारी गराए । साथै, यसको लागि सङ्घले कुनै प्रयास गर्न सक्छ भने गर्नुहोस् भन्ने उनको आग्रह थियो । त्यसपछि अध्यक्ष शाहले पार्कीको सहभागिताको लागि पुनः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, विश्व एथलेटिक्स सङ्घ र वाइल्ड कार्ड निर्धारण गर्ने कमिटीसँग पहल गरे । तर शाहको प्रयास सफल हुन सकेन ।

कोभिडका कारण टोकियो ओलम्पिकमा नियमहरू परिवर्तन भएको र नयाँ नियम निर्धारण कारण पार्कीलाई सहभागी तुल्याउन नसकिएको सम्बन्धित निकायले जानकारी गराएको छ । नयाँ नियमअनुसार २ घण्टा ११ मिनेट ३० सेकेण्डमा म्याराथन दौड पूरा गर्ने खेलाडीलाई मात्र ओेलम्पिक म्याराथनमा इन्ट्री दिइएको छ । त्यसमा पनि क्वालिफाइ भएका र वर्ल्ड ऱ्याङ्किङका खेलाडीले मात्र खेल्न पाउने ब्यवस्था गरिएको छ । अझ टोकियो ओलम्पिक आयोजक कमिटीले कोभिड र नयाँ नियमका कारण क्वालिफाइ र वर्ल्ड ऱ्याङ्किङका ८० जना खेलाडीलाई मात्र म्याराथनमा सहभागिता गराउने निर्णय गरेपछि समस्या थप जटिल बनेको थियो । जसका कारण विश्वका प्रतिभाशाली खेलाडीले आफ्नो खेल्न पाउने हकबाट बन्चित बन्नुपर्ने अवस्था सिर्जना भयो ।

पछिल्लो समयमा थुप्रै देशका पदाधिकारीले म्याराथनमा सहभागी खेलाडीको सङ्ख्या बढाउनुपर्ने माग राख्दै दबाब दिएपछि आयोजक कमिटीले ३० जनाको कोटा थप गर्दै ११० पुऱ्याएको छ । उक्त ११० जना म्याराथन धावकमा १०५ जना क्वालिफाइ र अन्य ५ जना वर्ल्ड ऱ्याङ्किङबाट परेका छन् । टोकियो ओलम्पिकमा म्याराथनमा वाइल्ड कार्डबाट सहभागिता जनाउनेहरूको सङ्ख्या शून्य रहेको छ । पार्की पनि वाइल्ड कार्डभित्र परेकाले टोकियो ओलम्पिकमा उनको सहभागिता असम्भव बनेको हो । स्मरण रहोस्, पार्कीको म्याराथन रेकर्ड २ घण्टा १८ मिनेट ५९ सेकेन्डको रहेको छ । अहिले विश्वमा क्वालिफाइ र वर्ल्ड ऱ्याङ्किङका १८० जना म्याराथन खेलाडी छन्, जसको रेकर्ड २ घण्टा ११ मिनेट ३० सेकेन्ड भन्दा पनि मुनि छ । कोटा सिस्टमले गर्दा त्यस्ता खेलाडीहरूको पनि अहिलेसम्म ओलम्पिक सहभागिताको टुङ्गो लाग्न सकेको छैन । यी १८० खेलाडी खेलाडीमध्ये कति खेलाडी ११० खेलाडीको लिस्टमा पर्छन् र ओलम्पिक खेल्ने सौभाग्य प्राप्त गर्छन् त्यो चासोको विषय बनेको छ ।

टोकियो ओलम्पिकमा एथलेटिक्सको सबै इभेन्टमा विश्वका १९० देशका १९०० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ७० प्रतिसत क्वाइफाइङ अर्थात् टाइमिङवाट र ३० प्रतिसत वर्ल्ड ऱ्याङ्किङ अर्थात् पोजिसनबाट छनोट भएका हुन् । जसमा विश्वभरिका १०० जनाले मात्र वाइल्ड कार्ड प्राप्त गरेका छन् ।

टोकियो ओलम्पिकमा पुरुष म्याराथन जस्तै महिला म्याराथन, १० हजार मिटर दौड र ट्रीपलजम्पमा अत्याधिक खेलाडीहरूको चाप रहेको छ । एथलेटिक्सका यी विधाहरूमा खेलाडी ओभरफ्लो भएपछि अहिले आयोजक कमिटीले निकै चुनौतीको सामना गर्नु परिरहेको बताइन्छ ।

ओलम्पिकको अनिवार्य खेलको कोटाभित्र एथलेटिक्स पनि पर्छ । यसैको आधारमा एथलेटिक्सको म्याराथन विधाबाट गोपीलाई छनोट गरेर ओलम्पिकका लागि सिफारिस गरिएको हो । यसको अर्थ खेलाडीको सिफारिस हुँदैमा त्यो ओलम्पिकको लागि छनोट भएको मान्न सकिँदैन । यतिबेला पहिलेका ओलम्पिक जस्तो वाइल्ड कार्डवाट छनोट हुन सजिलो छैन । त्यसमाथि टोकियो ओलम्पिकमा कोटा प्रणाली र नयाँ नियमका कारण वाइल्ड कार्डवाट छनोटलाई समेत जटिल बनाइदिएको छ । त्यसको लागि निश्चित मापडण्ड पार गर्नुको साथै आफ्नो जोन अर्थात् दक्षिण एसियाली मुलुकका खेलाडीसँगै एसियाली मुलुकका खेलाडीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी खेलाडीहरूमा उत्कृष्ट ठहर भए मात्र वाइल्ड कार्डको सिमामा पर्न सकिन्छ । एथलेटिक्स र पौडी ओलम्पिकको अनिवार्य खेलको सूचीमा पर्ने भएकाले एक-दुईवटा वाइल्ड कार्ड जुनसुकै देशले पनि प्राप्त गर्न सक्छ तर अन्य खेलमा भने यस्तो नियम लागु हुँदैन ।

यतिबेला गोपीचन्द्र पार्कीको ओलम्पिक सहभागिताको बारेमा जसरी विवाद उत्पन्न गराउन खोजिएको छ त्यो अहिले आफैमा प्रश्नचिन्हको घेरामा परेको छ । पार्की कुनै व्यक्तिविशेषको कमजोरी र षडयन्त्रका कारण ओलम्पिक खेल्नबाट वञ्चित भएका होइनन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निर्धारण गरेको कोटाभित्र पर्न नसकेका कारण उनी ओलम्पिकबाट बाहिरिनु परेको हो । तीतो भए पनि यथार्थ यही नै हो ।

यतिबेला पार्कीको ओलम्पिक खेल्ने सपना चकनाचुर भएको छ, यो दुःखद् छ, तर यो घटनाले उनको खेलजीवन त समाप्त भएको छैन । उनले अझै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने ढोका खुलै छ । यसरी एउटा चर्चित खेलाडी कसैको लहलहैमा लागेर विवादमा पर्नु या पारिनुको साटो अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि आफूलाई सक्षम बनाउनेतर्फ लागे स्वयम् पार्कीका लागि हितकर देखिन्छ ।