टोकियो ओलम्पिक दर्शकको भौतिक अनुपस्थितिमा नै सञ्चालन गरिने

टोकियो ओलम्पिक दर्शकको भौतिक अनुपस्थितिमा नै सञ्चालन गरिने



जापानको राजधानी टोकियोमा टोकियो ओलम्पिक खेल अधिकांश स्थानहरूमा दर्शकविना नै आयोजना हुने भएका जापानको क्योदो समाचार संस्थाले खेल आयोजकलाई उद्धृत गरी उल्लेख गरेको छ ।

टोकियो र तीन छिमेकी प्रान्त चिबा, कानागावा र सैतामामा हुने ओलम्पिक प्रतियोगिताहरू बन्द ढोकाभित्र गरिने छ जहाँ खेलाडी र उनीहरूसँग सम्बन्धित निश्चित व्यक्तिलाई बाहेक अन्य दर्शकहरूलाई प्रवेश दिइने छैन ।

जापान र टोकियो सरकारका उच्च अधिकारी, टोकियो ओलम्पिक २०२० को आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्तर्राष्ट्रिय प्यारा ओलम्पिक समितिका प्रतिनिधिहरू तथा त्यसका प्रतिनिधिसम्मिलित विशेष बैठकले यसबारेको अन्तिम निर्णय केही घण्टामै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । बिहीबार बिहान टोकियो आइपुगेका आईओसीका अध्यक्ष थोमस बाखले बैठकलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गरेका थिए ।

जापानी प्रधानमन्त्री योशिहिदा सुगाले हालै टोकियोलाई नयाँ कोभिड-१९ सङ्क्रमणका कारण जुलाई १२ देखि स्वास्थ्य सङ्कटकालीन अवस्थाकोे घोषणा गरेपछि ओलम्पिक खेलमा पनि दर्शकलाई प्रवेश नदिइने भएको हो ।