इटाली बन्यो युरो कप च्याम्पियन, इङ्गल्याण्डको सपना अधुरै

इटाली बन्यो युरो कप च्याम्पियन, इङ्गल्याण्डको सपना अधुरै



युरो कप २०२० को फाइनल भिडन्तमा इङ्गल्याण्डलाई पराजित गर्दै इटाली युरो कप च्याम्पियन बनेको छ । निकै रोमाञ्चक र सनसनीपूर्ण फाइनल खेलमा इटालीले इङ्गल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

१२० मिनेटसम्म चलेको रोमाञ्चक खेलमा दुवै टोली १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा इटालीले इङ्गल्याण्डलाई ३–२ ले पराजित गर्दै युरो च्याम्पियन बन्न सफल भयो । पेनाल्टी सुटआउटमा इङ्गल्याण्ड तीन र इटाली दुई पेनाल्टी गोल गर्न असफल भएका थिए । यो जीतसँगै इटाली १९६८ पछि युरोपियन च्याम्पियन बन्न सफल भएको छ ।

लण्डनको ऐतिहासिक वेम्बली स्टेडियममा सञ्चालन भएको फाइनल खेलको शुभारम्भको दुई मिनेटमै ल्यूक शाले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हापसम्म इङ्गल्याण्डले १–० को अग्रता बनाएको थियो । दोश्रो हापको ६७औँ मिनेटमा इटालीका लियोनार्डो बोनुचीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा फाइनलको खेलको नतिजा पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा इटालीले इङ्ल्याण्डलाई ३–२ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

इङ्गल्याण्डले विगत ५५ वर्षदेखि फुटबलको कुनै पनि ठूला प्रतियोगिता जित्न सकेको छैन । यो पटक भने इङ्गल्याण्डलाई युरो कपको प्रमुृख दाबेदारको रुपमा हेरिएको थियो । सोहीअनुरुपको उत्कृष्ट प्रदर्शन गर्दै इङ्गल्याण्ड युरो कपको फाइनलमा पुगेको थियो । इङ्गल्याण्डले नकआउट चरणमा जर्मनी, चेक गणतन्त्र र डेनमार्कलाई पराजित गरेको थियो ।

यो पटक उपाधि जित्ने मनसायका साथ मैदानमा उत्रिएको इङ्गल्याण्डले फाइनलमा शुभारम्भ राम्रो गरे पनि सम्हालिन नसक्दा पराजयको मुख देख्नु प¥यो । इङ्गल्याण्डको युरोपियन च्याम्पियन बन्ने सपना यसरी अधुरै रहन पुगेको छ ।