युरो कप २०२० मा उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा ५ गोल गरेका पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टयानो रोनाल्डो ‘गोल्डन बुट’को उपाधिबाट सम्मानित भएका छन् ।
‘गोल्डन बुट’को दौडमा रोनाल्डोसँगै चेक गणराज्यका प्याट्रिक स्किक पनि थिए । प्याट्रिकले युरो कपका पाँच खेलमा ५ गर्दै रोनाल्डोलाई चुनौती दिएका थिए । तर, एक गोल गर्न मद्दत गरेका कारण रोनाल्डो यो प्रतिष्ठित उपाधिबाट सम्मानित भएका हुन् । प्याट्रिक दोश्रो स्थान रहँदै ‘सिल्बर बुट’ प्राप्त गरे । त्यस्तै फ्रान्सका करिम बेन्जेले तेस्रो स्थान हासिल गरे । बेन्जेले चार खेलमा ४ गोल गरेका थिए ।
त्यस्तै, इटालीका गोल किपर जियानलुइगी डोनारुम्मालाई युरो कपमा शानदार प्रदर्शन गरेका कारण ‘प्लेयर अफ दि टुर्नामेन्ट’ उपाधिबाट सम्मानित गरिएको छ । डोनारुम्मा यो उपलब्धि हासिल गर्ने पहिलो गोलकिपर हुन् । उनले युरो कपको फाइनलमा भएको पेनाल्टी सुटआउटमा इङ्ल्याण्डका तीनवटा पेनाल्टी सुट रोकेका थिए ।
युुरो कप २०२० को च्याम्पियन इटालीले पुरस्कार स्वरुप १६५ करोड रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थान हासिल गरेको इङ्गल्याण्डले ११६ करोड नगद हात पारेको छ ।
युरो कप २०२० मा सर्वाधिक १३–१३ गोल स्पेन र इटालीले गरेका थिए । साथै, इङ्गल्याण्ड त्यस्तो टोली बन्यो जसले ७ खेलमा केवल २ गोल मात्र खाएको थियो ।
प्रतिक्रिया