- श्रीविक्रम भण्डारी

कोपा अमेरिका कप २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । कप्तान लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पहिलो पटक इतिहास रच्दै उपाधि जितेको हो । अर्जेन्टिनाले गत वर्षको च्याम्पियन चीरप्रतिद्वन्द्वी ब्राजिललाई १–० ले पराजित गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा सन् १९९३ पछि कुनै ठूलो उपाधि जित्न नसकेको अर्जेन्टिनाले यसपटक कोपा अमेरिका जितेर आफ्नो पुनरागमन गरेको छ । अर्जेन्टिनाको यो सफलतामाथि अहिले विभिन्न कोणबाट चर्चा भइरहेको छ, जसलाई ३४ वर्षीय विश्वकै उत्कृष्ट स्ट्राइकर मेस्सीको ठूलो सफलता र पुनरोदयको रूपमा समेत हेरिएको छ ।
अर्जेन्टिना र ब्राजिलबीचको फाइनल खेल हुनुअघि यो पटक कसले बाजी मार्ला भनी अड्कल काट्न गाह्रो थियो । दुवै सशक्त टोली जसले पनि बाजी मार्न सक्थे । यस्तो अवस्थामा ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल खेल निकै प्रतिस्पर्धात्मक र सनसनीपूर्ण हुनु स्वभाविकै थियो । आखिर भयो पनि त्यस्तै, दुवै टोलीले आफुलाई उत्कृष्ट सावित गर्न खोज्दै गर्दा पहिलो हापको २२औँ मिनेटमा अर्जेन्टिनाले गोल ग¥यो । उक्त गोल स्टार स्ट्राइकर डि मारियाले गरेका थिए । अन्त्यमा सोही गोल निर्णायक बन्दा २८ वर्षपछि अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन बन्न सफल भयो । एक गोल खाएपछि अझ आक्रमक रूपमा प्रस्तुत ब्राजिलले गोल फर्काउन निकै प्रयास ग¥यो, तर सफल हुन सकेन, अन्त्यमा हार स्वीकार गर्नुप¥यो ।
कप्तान मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले जितेको यो सबैभन्दा ठूलो उपाधि हो । यो जितसँगै अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय यस्तमा ठूलो उपाधि जिताउने मेस्सीको सपना पूरा भएको छ । आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेपछि मेस्सीको खुशीको सिमा थिएन । रेफ्रीको फाइनल सिट्टीसँगै टिमका साथीहरूको साथ उनले मैदानमै खुशी मनाएका थिए । त्यो क्षण साँच्चिकै रोमाञ्चक र भावुक तुल्याउने प्रकारको थियो, अकल्पनीय थियो, यसर्थमा कि यो पटक मेस्सीले गजबसँग मैदानमा बाजी मारेका थिए । यो खुशी उनी आफ्ना आदर्श तथा विश्वकै महान् खेलाडी डिएगो म्याराडोनासँग साट्न चाहन्थे । म्याराडोनाको भौतिक शरीर जीवित नरहेकोले म्याराडोनासँग खुशी बाँड्ने कार्यमा मेस्सी असफल भए, तथापि मैदानमा थचक्क बसेर हात जोड्दै यो सफलता म्याराडोनालाई समर्पित गर्न भने उनी चुकेनन् । त्यसपछि ब्राजीलियन टोलीका कप्तान तथा चर्चित स्ट्राइकर नेमारले मेस्सीलाई बधाई दिँदै अँगालो मारेका थिए । मेस्सी र नेमार एकदमै मिल्ने साथी हुन् । यी दुवैले एकै क्लबवाट थुप्रै वर्ष फुटबल खेल्दै आफ्नो क्लबलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका छन् ।
यसअघि मेस्सीको नेतृत्वमा सन् २०१४ को विश्वकप फुटबलमा अर्जेन्टिना फाइनलमा पुगेको थियो । तर फाइनल खेलमा जर्मनीसँग पराजित हुँदा मेस्सीको विश्वकप जित्ने सपना चकनाचुर भयो । त्यसपछि २०१५ र २०१६ को कोपा अमेरिका कपको फाइनलमा पुगे पनि उपाधि जित्न भने चुके । सन् २०१४ देखि १६ सम्मका तीन वटा ठूला प्रतियोगिताको फाइनलमा पुगेर उपाधि जित्न नसकेपछि मेस्सीलाई कुठाराघात नै भयो । त्यसपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास लिने घोषणा गरे । खासगरी २०१६ को कोपा अमेरिका फाइनल खेल बराबरीमा टुङ्गिएपछि भएको पेनाल्टी सुटआउटमा उनले पेनाल्टी मिस गर्दा सन्यासको घोषणा गरेका थिए । स्मरणीय छ, ‘कोपा अमेरिका’अन्तर्गत सन् २०१४ र १५ मा भएको फाइनल खेलमा अजेन्टिना चीलीसँग लगातार दुई पटक पराजित भएको थियो । आफूले देशको लागि ठूलो उपाधि जिताउने जति प्रयास गरे पनि असफल भएपछि मेस्सीले सन्यास रोेजेका थिए ।

मेस्सीको सन्यासको घोषणाले विश्वभरिका फुटबलप्रेमी मात्र नभइ शताब्दीकै महान् खेलाडी म्याराडोनालाई पनि दुःखी बनायो । म्यारोडोनाले मेस्सीलाई केही वर्ष अझै देशको लागि खेल्न अनुरोध गरे । त्यसपछि स्पोन्सर्स र अर्जेन्टिनी फुटबल फेडरेसनले मेस्सीलाई आफ्नो निर्णय बदल्न बारम्बार दबाव दिए । अन्त्यमा सबैको चाहनाअनुरुप मेस्सीले आफ्नो निर्णय बदलेर फुटबलमा फर्केका थिए । तर मेस्सीको उक्त निर्णयले अर्जेन्टिना र उनको भाग्यलाई बदल्न सकेन । २०१८ विश्वकप फुटबल र २०१९ को कोपा अमेरिकामा अर्जेन्टिनाले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन । उपाधिको दाबेदार मानिए पनि उपाधि जित्न सधैं बन्चित बन्नु पर्यो । बारम्बार असफलताकै घटना दोहरिएपछि म्याराडोनासमेत निरास बनेका थिए ।
यो पटक कोपा अमेरिका कपमा १४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच फाइनलमा भिडन्त भएको थियो । यसअघि सन् २००७ मा दुवै टोली कोपा अमेरिका कपको फाइनलमा भिडेका थिए, जसमा ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको थियो । अन्तर्राष्ट्रिय खेलमा ब्राजिलको दबदबा र मेस्सीको बढ्दो उमेर अनि उनको ब्याडलक यो फाइनलको प्रमुख मुद्दा बनेको थियो । अझ ब्राजिलको घरेलु मैदानमा हुने फाइनलमा ब्राजिलले बाजी मार्ने प्रायःजसोको अनुमान थियो । तर, यो पटक मेस्सीलाई भाग्यले साथ दियो । लिग चरणदेखि नै लयमा देखिएका मेस्सीले आफ्नो टोलीलाई फाइनलसम्म पुर्याउन अहम भूमिका निभाए । यो क्रममा उनले विपक्षीको पोस्टमा चार गोल समेत गरे । यस्तो अवस्थामा मेस्सीले फाइनलमा कस्तो प्रदर्शन गर्छन् त्यो विश्वका फुटबलप्रेमीको चासो विषय बनेको थियो । तर फाइनलमा मेस्सीले गोल गर्न नसके पनि उनको प्लेमेकरको भूमिकामा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका कप जित्न सफल भयो, जो ३४ वर्षीय मेस्सीको लागि सञ्जिवनी बुटी प्राप्त गरेको भन्दा कम भएको छैन यतिबेला । यो जितसँगै मेस्सीले ठूूलो राहतको सास फेरेका छन् । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा अब मेस्सीमा सम्भवतः कुनै दबाब देखिने छैन । उनले त्यहाँ निर्धक्क भएर खेल्न पाउने छन्, आफूले देखेको विश्वकप फुटबलको उपाधि जित्ने सपना पूरा गर्न सक्ने छन्, जो अर्जेन्टिनाको लागि शुभ संकेतको रूपमा हेरिएको छ ।

सन् २००८ मा बेइजिङमा आयोजना भएको ओलम्पिक खेलकुद प्रतियोगिताको स्वर्णपदक अर्जेन्टिनाले जितेको थियो । उक्त टोलीको प्रमुख सदस्यमा लियोनल मेस्सी पनि थिए । तर ओलम्पिकमा स्वर्णपदक जित्नु र कोपा कप अनि विश्वकप फुटबलको उपाधि जित्नुमा ठूलो अन्तर छ । फुटबलको इतिहासमा कोपा कप, विश्वकप र युरोकपको उपाधि जित्नुलाई ठूलो सफलता मानिन्छ । ओलम्पिकमा एमेच्योर खेलाडीहरूको बाहुल्यता हुन्छ भने कोपा कप, विश्वकप र युरोकप प्रायःजसो व्यावसायिक खेलाडीले खेल्छन् । ओलम्पिकमा फुटबलतर्फ अण्डर–२३ खेलाडी हुन्छन् जसमा मात्र तीन सिनियर खेलाडीले मात्र खेल्न पाउँछन् ।
वर्तमान समयमा मेस्सी विश्वका सर्वश्रेष्ठ फुटबल खेलाडीमध्येका शीर्ष एक मानिन्छन् । विश्वको सर्वश्रेष्ठ खेलाडी भएर पनि आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरको कुनै पनि ठूलो उपाधि दिलाउन नसक्दा विगतमा मेस्सी पटक-पटक आलोचनाको शिकार बन्दै आएका थिए । अहिले लामो समयको प्रतीक्षापछि मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि जिताएर आलोचकहरूको मुख बन्द गर्न सफल भएका छन् । अब मेस्सीले आउँदो वर्ष २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा कस्तो प्रदर्शन गर्छन्- प्रतीक्षाको विषय बनेको छ । यदि मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताए भने उनको तुलना सर्वकालिन महान् फुटबल खेलाडी म्याराडोना र पेलेभन्दा भन्दा कम हुने छैन । हामी कामना गर्न सक्छौँ- मेस्सीको विश्वकप जित्ने सपना पुरा होस् !
प्रतिक्रिया