एनआरएनए बेल्जियमको नेतृत्व लिन लोकतान्त्रिक समुहद्वारा उम्मेदवार घोषणा

एनआरएनए बेल्जियमको नेतृत्व लिन लोकतान्त्रिक समुहद्वारा उम्मेदवार घोषणा


  • सनत आचार्य, युरोप प्रतिनिधि (बेल्जियम)

लामो गृहकार्यपछि बेल्जियममा रहेका चार वैचारिक साङ्गठनहरूले गैरआवासीय नेपाली सङ्घको आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट गरेका छन् ।

जुलाई २५ मा हुने निर्वाचनका लागि काङ्ग्रेसनिकट जनसम्पर्क समिति, नेकपा नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च, माधव-झलनाथ निकट प्रवासी नेपाली मञ्च र सङ्घीय समाजवादी निकट नेपाली समाजको निर्णयअनुसार लोकतान्त्रिक समावेसी समुह गठन गरी सबैको तर्फवाट साझा उम्मेदवार घोषणा गरेका हुन् ।

जसअनुसार अध्यक्षमा सीपी भट्ट, उपाध्यक्षमा कासी दनै, मणिकुमार राई, महिला उपाध्यक्षमा सुशीला खतिवडा, महासचिवमा रमेश कँडेल, सचिवमा जगदीश सापकोटा र रमेश दाहाल, कोषाध्यक्षमा केदार जोशी, महिला संयोजकमा सावित्री गिरीलाई चयन गरिएको छ ।

त्यस्तै, क्षेत्रीय संयोजकमा आन्तर्पेनबाट वेनी ढुंगाना, ब्रसेलबाट अर्जुन घिमिरे, ब्रुजबाट जितेन्द्र कायस्त, गेन्टबाट निजाम दिल मियाँलाई चयन गरिएको छ ।

लुभेन र सिन्त्रोजिन क्षेत्रबाट भने छिट्टै टुङ्गो लगाउने बताइएको छ । त्यस्तै खुल्ला सदस्यहरूमा पार्वती शर्मा, समिता सुवेदी, लक्ष्मी सुवेदी, दिनेश अधिकारी, लक्ष्मी पाण्डे सापकोटा, जीवन गुरुङ, रुविना शर्मा र साधना बोहरालाई छनौट गरिएको छ । रुविना शर्मालाई खुल्ला सदस्य पदका लागि उम्मेदवार तोकिएता पनि उनीलाई युवा संयोजकमा लग्ने मनसाय रहेको बुझिएको छ ।

त्यस्तै, केन्द्रीय आईसीसी सदस्यमा गंगा शर्मालाई चयन गरिएको छ भने अर्को एक सदस्यका लागि आन्तरिक सहमति गरी यशोदा घिमिरे र भीम जोशीमध्ये एक जनालाई उठाउने निर्णय गरिएको छ । घोषणा कार्यक्रममा मन्तव्य दिँदै एनआरएनए बेल्जियमकी पूर्वअध्यक्ष जानकी गुरुङले आफुहरूले यो समुहलाई खुल्ला रूपले सहयोग गर्ने बताउँदै एक एनआरएनए अभियन्ता भएको नाताले चुनावमा प्रचारप्रसार र सहयोग गर्नु नैसर्गिक अधिकार भएको बताउनुभयो ।

यसैगरी, पूर्वअध्यक्ष एवं युरोप सहसंयोजक प्रेम गुरुङले यो समुह बेल्जियममा रहेका सम्पूर्ण समुदायसँग जोडिएर जाने भएकोले समाबेसी चरित्रको यो समुहको दायित्व समग्र समाजलाई अघि बढाउने दायित्व रहेको धारणा राख्नुभयो भने जनप्रगतिशील मञ्चका सल्लाहकार अर्जुन अधिकारीले एनआरएनएको काम भनेको बेल्जियममा रहेका गैरआवासीय नेपालीहरूलाई संगठित गर्दै सही बाटोमा डो¥याउन यो समुह उपयुक्त भएको बताउनुभयो ।

प्रवासी नेपाली मञ्चका अर्जुन दाहालले आफुहरूले पार्टी फुटोस् भनेर कहिल्यै नसोचेको र पार्टीभित्र नै अतिवादले जरा गार्न थालेपछि एकताबद्ध गराउन गाउँदेखि प्रवाससम्म समानान्तर समितिहरू गठन गर्न बाध्य भएको जानकारी गराउँदै, यो गठबन्धनलाई केन्द्रीय राजनीतिले प्रभाव नपार्ने जिकिर गर्नुभयो ।

संघीय समाजबादी पार्टीका सोनाम शेर्पा लामाले यहाँको समाजलाई मिलाएर लानका लागि पनि सहमतीय राजनीतिअनुसार एनआरएनएलाई अघि बढाउन आवश्यक रहेको तर्क गर्नुभयो ।

लोकतान्त्रिक समावेशी समुहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सीपी भट्टले २२ वर्षको युरोप बसाइको क्रममा आफु दुई कार्यकाल गैरआवासीय नेपाली संघको सल्लाहकार, एक कार्यकाल सदस्य, व्यवसायी संघ बेल्जियमको सदस्य हुँदै अध्यक्षलगायत अन्य विभिन्न संघ–संस्थाहरूमा आवद्ध भइ काम गरेको बताउँदै विगतको त्यागका कारण आफू सबैको साझा उम्मेदवार बन्न पाएको भावना व्यक्त गर्नुभयो । भट्टले आफू २०१५ देखि एनआरएनए बेल्जियमको नेतृत्वदायी भूमिकाको आकांक्षी भएको तर अग्रज तथा साथीभाइहरूको सल्लाह–सुझावअनुसार आफ्नो चाहानालाई थाती राख्दै बसेको स्मरण गर्नुभयो ।

उहाँले आफू र आफ्नो समुहको उम्मेदवारी गैरआवासीय नेपालीहरूको हितका लागि भएको बताउँदै आफ्नो समुहको सोच गैरआवासीय नेपाली संघ बेल्जियमलाई सबै प्रवासी नेपालीहरूको साझा चौतारीको रूपमा विकसित गरी ‘हामी नेपाली हाम्रो एनआरएनए’ भन्ने भावनाको विकास गर्ने, दोश्रो पुस्ताका बाबुनानीहरूमा लोप हुँदै गैरहेको नेपाली भाषाको संरक्षण र सम्बर्धन गर्ने, प्रवासी नेपालीहरूको धर्म, संस्कृति र परम्पराहरूको रक्षार्थ विभिन्न कार्यक्रमहरू आयोजना गर्ने, एनआरएनएमार्फत प्रवासी नेपाली युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गरी उनीहरूलाई उर्जाशील युवाको रुपमा विकसित गर्ने, बेल्जियममा रहेका प्रवासी नेपालीहरूलाई एनआरएनएभित्र पंजिकृतगरी तथ्याङ्क आवधिक गर्दै जाने, नेपाली युवाहरूलाई खेलक्षेत्रमा केन्द्रीत गरी उनीहरूलाई संसारभर प्रतिष्पर्धीको रूपमा विकसित गर्ने रहेको बताउनुभयो । भट्टले बेल्जियममा नेपाली कला, संस्कृति र प्राकृतिक मनोरमको प्रचारप्रसार गरी नेपालमा पर्यटन भित्र्याएर नेपालको पर्यटन र आर्थिक क्षेत्रमा टेवा पु¥याउन, आफुहरूले निरन्तर रूपमा उठाएको प्रवासी नेपालीहरूलाई पनि नागरिकता दिने सम्बन्धमा पूर्ववत निर्णयहरूलाई दबाब दिन, यसअघि भएको निर्णयअनुसार नेपाली कला संस्कृति झल्कने सामुदायिक भवन (नेपाल हाउस) निर्माण योजनालाई निरन्तरता दिन र संघभित्र एउटा भरपर्दो र दरिलो आर्थिक कोष खडा गरी नेपालमा देखिने दैवीय प्रकोपलगायत अन्य क्षेत्रमा सहयोग गर्न आफ्नो समुहले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष सीता सापकोटाले एनआरएनए साझा संगठन भएकोले यो संगठनले प्रबासी नेपालीहरूको समाजलाई सकारात्मक रुपले डो¥याउनेमा विश्वस्त रहेको जानकारी दिँदै आकाङ्क्षीले नै केही गर्न सक्ने भएकोले यो समुहले सबैको भावनालाई समेटेर अगाडि बढ्न सुझाव दिनुभयो ।

दिनेश भण्डारीले सञ्चालन गरेको उक्त उम्मेदवार घोषणा कार्यक्रममा उपस्थित सबै उम्मेदवारहरूले आफ्नो परिचय तथा भावी योजनासमेत सुनाएका थिए भने महासचिवका उम्मेदवार रमेश कँडेलले सबैलाई स्वागत गरेका थिए ।