को शक्तिशाली ?

को शक्तिशाली ?


  • बबिता बस्नेत

यही २०७८ साल असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गर्दै नेपाली काङ्ग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला सुनाएपछि धेरैले अदालतको शक्तिको कुरा गरिरहेका थिए । अदालत शक्तिशाली भयो… अदालतको शक्ति देखियो…अब त केपी ओलीलाई थाहा भयो होला अदालतको शक्ति…यी र यस्ता चर्चाहरू सर्वत्र थिए । कतिपयको विश्लेषण अलि फरक थियो- ‘अदालतले त आफ्नो शक्ति देखायो अब राष्ट्रपतिले के कदम चाल्ने हुन् ? मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई शासन गर्ने सम्पूर्ण अधिकार दियो भने ? के नेपाली सेनाले ब्याक सपोर्ट गर्ला ? नेपाली सेना स्वयम्ले शक्तिको अभ्यास गर्ला ?’

दिनभरि यस्ता संवादहरू सुनेर साँझ घर फर्कंदा पुल्चोकको भित्री सडक अवरुद्ध थियो । पाटन क्याम्पसअगाडिको सडकबाट अगाडि बढ्दै गरेका सवारीसाधनहरू धमाधम फर्काइँदै थिए । त्रसित मुद्रामा सडकमा हिँड्दै गरेकाहरूमध्ये एकले यो पङ्क्तिकारलाई भने- ‘तपाईं यहीँबाट गाडी फर्काउनुस्, भीड आक्रामक छ, ढुङ्गाले सिसामा हाने भने के गर्नुहुन्छ ?’ भीडमा रहेका एक युवाको आक्रोशपूर्ण आवाज सुनियो- ‘शक्ति के हो अब हामी देखाउँछौँ ।’

सर्वोच्चको फैसलाको विरोधमा आयोजना गरिएको जुलुश साँझ ७ बजे सुरु भएको रहेछ । उक्त दिन राजधानीका विभिन्न ठाउँमा जुलुशहरू र साँझ राँकेजुलुश निकालिएका थिए । घर फर्किएपछि लाग्यो- ओहो… शक्तिको परिभाषा ब्यक्ति, समूह र स्थानपिच्छे कति फरक-फरक छ । शक्तिशाली ब्यक्ति, संस्था या समूह भनेर हामी जेलाई मान्छौँ के ती साँच्चिकै शक्तिशाली छन् ? शक्तिको परिभाषा के हो ? केलाई शक्ति भन्ने या मान्ने ? मानिसको जीवनमा सबैभन्दा शक्तिशाली कुरा के हो ? कतिले समयलाई सबैभन्दा शक्तिशाली भनेका छन् भने कतिले आफ्नो भाग्यलाई र कतिले कर्मलाई । कतिपय शक्तिशाली मानिएका मानिसका वरिपरि रहनेहरूले तिनलाई शक्तिहीन बनाइदिइरहेका हुन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली शक्तिमा रहँदा वरिपरि रहने कतिपय मानिसका बोलीबचन र ब्यवहारका कारण उहाँ शक्तिहीन झैँ लाग्थ्यो । शक्तिशाली भनिने ठाउँमा रहनेहरूले आफूमा नीहित शक्तिलाई कसरी परिचालित गरेका छन् ? तिनले गरेका निर्णयहरू जनतालाई सशक्त बनाउने खालका छन कि निरीह ? शक्तिको प्रभाव यसको प्रयोगले निर्धारण गर्छ ।

शक्तिमा पुगेकाले बोल्ने होइन काम गर्ने, गराउने हो । तर हामीकहाँ राज्यको कुनै पदमा पुगेपछि तिनले आफूलाई शक्तिशाली ठान्ने र कामभन्दा बढि बोल्ने चलन छ । हाम्रो राजनीतिक नेतृत्वमा रहेकाहरूले बोलेका कुरालाई अनुगमन गर्ने हो भने तिनले के बोलेभन्दा पनि के बोलेनन् भनेर हेर्नुपर्ने हुन्छ ।

सन् १९७५ मा भारतकी तात्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले सङ्कटकालको घोषणा गर्दा मिडियामा सेन्सरसीप लाउनेसम्म सोचेकी थिइन्, तर परिणामचाहिँ पत्रिका छाप्ने प्रेसमा बिजुलीबत्तिको लाइन काट्नेसम्म हुन पुग्यो । जसका कारण उनले नसोचेको आलोचना खप्नुपऱ्यो । पत्रिका छाप्ने प्रिन्टिङ प्रेस रहेको ठाउँमा बिजुलीबत्ति काट्ने निर्णय इन्दिराका छोरा संजय गान्धीले गरेका थिए, जुन कुराबाट उनी बेखबर थिइन् । त्यतिबेला दिल्लीको बहादुर शाह जफर मार्गमा रहेका प्रिन्टिङ प्रेसबाट अखबारहरू छापिन्थे । सबै काम सकेर पत्रिका छाप्न प्रेसमा पुग्दा लाइन काटिएको थियो । सङ्कटकाल घोषणा भएको भोलिपल्ट दिल्लीबाट हिन्दुस्तान टाइम्स र स्टेटमेन्ट दुई वटा अखबार मात्रै छापिए । ती अखबार छाप्ने प्रेस बहादुर शाह जफर मार्गमा नभएर अन्यत्रै थिए । यो घटनालाई शक्तिमा रहेकाहरूले प्रेसलाई कसरी सबैभन्दा पहिला आक्रमण गर्थे या गर्छन् भन्ने रूपमा मात्र नलिएर वरिपरिका मानिसले शक्तिमा रहेकाहरूलाई कसरी गुमराहमा राख्छन् भन्ने कुराको उदाहरणको रूपमा पनि लिन सकिन्छ ।

शक्तिको अभ्यास ब्यक्तिको तजबिजमा भर पर्दै आए पनि शक्ति सशक्तीकरणसँग सम्बन्धित कुरा हो । कुनै पनि सशक्त मानिसले शक्तिको दुरूपयोग गर्दैन । प्रायः कमजोर मानिसहरूले शक्तिको दुरूपयोग गर्ने गर्छन् । जो आफैमा सशक्त छ उसले अरुलाई दबाउने, खुम्च्याउने बारेमा सोच्दैन, सहज बनाउने र आत्मविश्वास बढाउने काम गर्छ । ब्यक्तिगत जीवनमा पनि कसैले आत्मविश्वास खस्काउने काम गर्छ भने त्यो आफैमा सशक्त ब्यक्ति होइन । शक्तिमा भएका ब्यक्तिले धेरै बोल्ने कुरालाई सबैभन्दा खराब पक्ष मानिन्छ । शक्तिमा पुगेकाले बोल्ने होइन काम गर्ने, गराउने हो । तर हामीकहाँ राज्यको कुनै पदमा पुगेपछि तिनले आफूलाई शक्तिशाली ठान्ने र कामभन्दा बढि बोल्ने चलन छ । हाम्रो राजनीतिक नेतृत्वमा रहेकाहरूले बोलेका कुरालाई अनुगमन गर्ने हो भने तिनले के बोलेभन्दा पनि के बोलेनन् भनेर हेर्नुपर्ने हुन्छ । जे पनि बोल्ने तर केही पनि पूरा नगर्ने कुरा शक्तिहीनताको सूचकमध्ये एक हो । शक्तिशाली मानिसले बोलेको कुरा पूरा गर्छ । आफ्नो बोलीमा उत्तरदायित्व महसूस गर्छ । शक्तिहीन मानिसहरू आफूलाई शक्तिशाली देखाउन ध्वनी प्रदुषण हुने गरी जे पायो त्यही बोलिरहेका हुन्छन् । हामीकहाँ अरुलाई जथाभावी गालीगलौज गरेर शक्ति हासिल गर्ने सोच धेरैको देखिन्छ । त्यसैले राजनीतिकर्मीदेखि अभियन्ता भनिनेहरूसम्म यही अभ्यासमा तल्लिन छन ।

शक्ति हतियार बोकेका मानिस आफूवरिपरि हुनुसँग सम्बन्धित छैन न त कसैले पदका कारण गर्ने सलाम या नमस्कारसँग सम्बन्धित छ । भारतमा अहिले पनि डा. भीमराव अम्बेडकर र एपीजे अब्दुल कालमलाई ‘पावरफूल’ ब्यक्तिको सूचीमा राखिन्छ । उहाँहरू दुवैले आफ्ना वरिपरि कति जना सुरक्षाकर्मी छन् ? आफूलाई बस्न दिएको घर कस्तो छ ? जस्ता कुरामा वास्ता गरेनन् । अब्दुल कालम राष्ट्रपति हुँदा आफ्ना नातेदारहरू आएको बेला खाएको खानाको पैसा भान्सामा आफै दिनुहुन्थ्यो भनेर उनका सहयोगीहरूले लेखेका छन् । आफ्नो ब्यक्तिगत कुरामा सरकारी पैसा खर्च नहोस् भनेर उहाँ पाइला-पाइलामा सचेत हुनुहुन्थ्यो । डा. अम्बेडकर र अब्दुल कालम दुवैले सधै सादा जीवन र उच्च विचार राख्नुभयो । हिटलर, मुसोलोनी, सद्दाम हुसेनहरूले शक्तिको चरम अभ्यास गरे तर अन्ततः उनीहरू शक्तिशाली रहेनन् ।

मानिसको मष्तिष्क भन्दा शक्तिशाली प्रकृति हो । प्रकृतिले चाह्यो भने कुनै पनि बेला यो संसारमा जे पनि हुन सक्छ । त्यसैले ‘पावरफूल’हरूले पावरको प्रयोग गर्नुअघि आफूले कहाँ, कतिबेला, कसरी, कसको हितमा प्रयोग गरिरहेको छु भनेर बुझ्नु र विश्लेषण गर्नु आवश्यक हुन्छ ।

हामीकहाँ अरुलाई देखाउन शक्तिको प्रयोग गर्ने गरिए पनि राज्यसंरचनामा बस्नेहरूले जनतालाई सशक्त बनाउनका लागि प्रयोग गर्नुपर्ने कुरा हो । मानिसको जीवनमा सबैभन्दा शक्तिशाली ‘माइण्ड’ हो । मस्तिष्कको अभ्यास र प्रयोग कसले कसरी गर्छ भन्ने कुरामा शक्तिको अभ्यास र प्रयोग नीहित हुन्छ । शब्दको शक्ति हामीले कति बोल्छौँ भन्नेसँग नभएर हामीले के बोल्छौँ भन्ने कुरासँग सम्बन्धित हुन्छ । आफूले प्रयोग गरेको शक्तिले आफैलाई र कसैलाई पनि दुःखी बनाउँछ भने त्यो शक्ति होइन । त्यस्तो अभ्यासलाई शक्तिको अभ्यास या ‘पावर एक्सरसाइज’ भन्न मिल्दैन ।

आफू र जनता दुवैलाई दुःख हुने अभ्यास हामी कहाँ पटक-पटक भएका छन् । नेतृत्वमा रहनेहरूले गर्ने मष्तिष्कको प्रयोगले मुलुक र जनताको भविष्य निर्धारण गरिरहेको हुन्छ । राजनीतिमा मात्र नभई कुनै पनि क्षेत्रको नेतृत्वले गर्ने निर्णयहरूले सर्वसाधारणमा असर र प्रभाव पारिरहेको हुन्छ । आफ्नो ‘माइण्ड’लाई कुन रूपमा प्रयोग गर्ने भन्ने सर्वाधिकार मानिस स्वयममा निहीत हुन्छ । मानिसको मष्तिष्क भन्दा शक्तिशाली प्रकृति हो । प्रकृतिले चाह्यो भने कुनै पनि बेला यो संसारमा जे पनि हुन सक्छ । त्यसैले ‘पावरफूल’हरूले पावरको प्रयोग गर्नुअघि आफूले कहाँ, कतिबेला, कसरी, कसको हितमा प्रयोग गरिरहेको छु भनेर बुझ्नु र विश्लेषण गर्नु आवश्यक हुन्छ ।