१३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नागर्जुन नगरपालिकाभित्र बासोबास गर्ने ६ पदाधिकारी खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् । सो अवसरमा ३ महिनाअघि सम्पन्न वीर गणेशमान बक्सिङ प्रतियोगितामा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा १३औँ दक्षिण एशियाली खेलकुदमा स्वर्णपदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिमल्सिना र जुडोकी देविका खड्कालाई जनही २५ हजार नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै, जुडोकै रजत पदकधारी इन्द्रबहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले जनही १५ हजार, तेक्वान्दोका अस्मिता खड्का र अश्मिन राउतले १० हजार र तेक्वान्दो प्रशिक्षक नोर्बु लामालाई ५५ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मानित भएका थिए ।
तेक्वान्दो प्रशिक्षक लामा विगत २५ वर्षदेखि नागर्जुन ९ स्थित स्यूचाटार तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रहनुका साथै १३औँ सागमा तेक्वान्दोको टिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा नार्गजुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले खेलाडी राष्ट्रका गहना हुन् र पदकधारी खेलाडीहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
प्रतिक्रिया