सिलवाल र श्रेष्ठबीच अस्वाभाविक ‘लगनगाँठो’ कसिएपछि खेलकुद तरङ्गित !

सिलवाल र श्रेष्ठबीच अस्वाभाविक ‘लगनगाँठो’ कसिएपछि खेलकुद तरङ्गित !


  • श्रीविक्रम भण्डारी

विपरीत ध्रुवका खेलकुद पदाधिकारीको एकापसमा अस्वाभाविक लगनगाँठो कसिएपछि अहिले खेलकुदमा सनसनी मच्चिएको छ । यस्तो सनसनी पैदा गर्ने कार्य राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका हुन् ।

ओलम्पिक कमिटीको निर्वाचनमा जीवनरामलाई हराउन न्वारानदेखिको शक्ति खर्चेका सिलवाललाई उनै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिक २०२० को ‘सेभ द मिसन’ अर्थात् टोलीनेता बनाएर जापान पुर्‍याएपछि अहिले खेलकुदमा तरङ्ग उत्पन्न भएको हो ।

एमालेको फरक राजनीतिक गुटका यी दुई पदाधिकारीबीच बाँधिएको यस अपवित्र ‘लगनगाँठो’लाई अहिले विभिन्न कोणबाट अर्थपूर्ण रूपमा हेरिएको छ । केही महिनाअघिसम्म ओलम्पिक कमिटीको निर्वाचनलाई अवैध संज्ञा दिँदै आएका सिलवालले श्रेष्ठसँग किन आत्मसमर्पण गरे त्यो अहिले खेलकुदमा बहसको विषय बनेको छ । साथै किन र के स्वार्थका कारण श्रेष्ठले यस्तो रणनीति अख्तियार गरे भन्ने पनि आफैमा गम्भीर सन्दर्भ बनेको छ ।

अकल्पनिय रूपमा सिलवाल र श्रेष्ठको अपवित्र लगनगाँठो कसिएपछि नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसँग सम्पर्क गर्दा उनले नेपाल ओलम्पिक कमिटीले कुनै व्यक्तिको नभइ सदस्यसचिव पदको सम्मान गरेर टोकियो ओलम्पिकको नेपाली टोलीको ‘सेभ द मिसन’ बनाएको तर्क गरे ।

साथै यसमा कुनै स्वार्थ नभएको प्रस्ट पार्दै महासचिव श्रेष्ठ भने- ‘हिजो के भयो त्यो इतिहास भैसकेको छ । त्यसैले अगाडिको कुरा बिर्सेर अघि बढ्नु नै खेलकुदका लागि राम्रो हुन्छ । यही कुरालाई आत्मसात गर्दै अहिले हामी नयाँ सिराबाट अगाडि बढेका छौँ, यसको प्रतिफल भविष्यमा खेलकुदमा अवश्य देखिने छ ।’

नेपाल ओलम्पिक कमिटीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको ‘सेभ दि मिसन’ खेलकुदका जुनसुकै पदाधिकारीलाई पनि बनाउन सक्छ । त्यसको लागि विगतमा पनि एनओसीले स्वविवेक प्रयोग गर्दै आएको कसैबाट छिपेको छैन । यतिबेला सदस्यसचिव सिलवाललाई सेभ द मिसनको जिम्मेवारी दिनुमा महासचिव श्रेष्ठले घुमाउरो पाराले प्रस्तुत हुनु त्यहाँ विशेष ‘खिचडी पाकेको’ अनुमान लगाउन सकिन्छ । अन्यथा हिजोसम्मको ‘जानी दुस्मन’ रातारात कसरी टोकियो ओलम्पिकको सेभ द मिसन बन्यो, यसमा ठूलै रहश्य लुकेको छ भन्दा अत्युक्ति नहोला ।

प्राप्त जानकारीका अनुसार सदस्यसचिव सिलवालको विदेशमोहका कारण एनओसीले उनलाई नेपाली टोलीको टोलीनेता बनाएको बुझिएको छ । सिलवालले आफुलाई सेभ द मिसन बनाउने भए ओलम्पिक जाने इच्छा प्रकट गरेपछि एनओसीले यस्तो कदम उठाएको स्रोतको दाबी छ । यसको लागि परिषदकै एक सदस्यले विशेष भूमिका निर्वाह गरेको बताइन्छ । आखिर कुरो जे भए पनि राजिनीतिक गुटदेखि खेलकुदको गुटसम्म भिन्न-भिन्न मार्गमा हिँड्दै आएका सिलवाल र श्रेष्ठ टोकियो ओलम्पिक यात्राको लागि कसरी एकै ठाउँमा उभिए त्यो प्रश्नको घेरामा पर्नु स्वभाविकै हो ।

स्मरण रहोस्, लण्डन ओलम्पिकमा तत्कालिन राखेपका सदस्यसचिव युवराज लामालाई नेपाल ओलम्पिक कमिटीले सेभ द मिसनको जिम्मेवारी दिँदा उनले अस्वीकार गरेका थिए । लामाको त्यतिबेला एनओसीसँग कुनै दुश्मनी पनि थिएन । लामाले तत्कालिन ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए पनि राष्ट्रिय मान्यता प्राप्त नभएका कारण लण्डन ओलम्पिक बहिष्कार गर्दै नैतिकता प्रदर्शन गरेका थिए । तर विदेशमोहमा चुर्लुम्म डुबेका सिलवालले चाहिँ ‘दुश्मन’सँग घाँटी जोड्दै यतिबेला आफ्नो नैतिकताकै खिल्ली उडाएका छन् ।