टोकियो ओलम्पिकमा करातेसहित चार खेल ‘डेब्यू’ हुँदै

टोकियो ओलम्पिकमा करातेसहित चार खेल ‘डेब्यू’ हुँदै



आगामी २३ जुलाई देखि जापानको टोकियो शहरमा आयोजना हुने ओलम्पिक खेलकुद प्रतियोगिता चारवटा खेलको डेब्यू हुने भएको छ । नयाँ प्रवेश गराइने ती खेलहरूमा कराते, स्केटबोर्ड, सर्फिङ्ग र स्पोर्टस् क्लाइविङ रहेका छन् ।

टोकियो ओलम्पिकमा पहिलो पटक समावेस स्केटबोर्ड र सर्फिङ्ग खेललाई सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिकमा पनि समावेस गरिएको छ । स्केटबोर्डमा पार्क र स्ट्रीटलाई दुई भागमा विभाजन गरे प्रतिस्पर्धा गराइने छ । सर्फिङ्गमा पुरुष र महिला दुवै समुहमा खेलाइने छ । त्यस्तै युवाहरूमा अत्याधिक लोकप्रिय भइरहेको स्पोर्टस् क्लाइविङ खेल पनि पुरुष र महिला दुवै विधामा खेलाइने आयोजना समितिले जानकारी गराएको छ ।

कराते जापानको परम्परागत मार्शल आर्टस् खेल हो, जसको शुरुवात सन १८६८ मा जापानको ओकिनाका शहरबाट भएको थियो । करातेको जापानसँगै विश्वव्यापी रूपमा लोकप्रियता बढेपछि करातेलाई टोकियो ओलम्पिकमा समावेश गरिएको हो । ओलम्पिकमा करातेतर्फ काता र कुमुतेतर्फ प्रतिस्पर्धा हुनेछ ।

बेसबल र सप्टबल यसअधि नै ओलम्पिकमा सहभागिता भइसकेका खेल हुन् । बेसबललाई पहिलो पटक सन् १९९२ को बार्सिलोना ओलम्पिकमा समावेस गरिएको थियो । त्यसपछि सन् २००८ को बेइजिङ ओलम्पिकसम्म बेसबललाई समावेस गरिए पनि त्यसपछि यो खेललाई ओलम्पिक खेलमा समावेस गरिएको थिएन । बेसबल जापानमा अत्याधिक लोकप्रिय खेल भएकोले टोकियो ओलम्पिकमा यसलाई समावेस गरिएको हो । बेसबल पुरुषतर्फ र सफ्टबल महिलातर्फ ओलम्पिक प्रतिस्पर्धा हुनेछ ।

सन् १९९६ मा एटलान्टामा आयोजित ओलम्पिक खेलकुदमा पहिलो पटक सफ्टबलले प्रवेश पाएको थियो । यो खेललाई २००८ को वेइजिङ ओलम्पिकसम्म राखिए पनि त्यसपछि हटाइएको थियो । सफ्टबललाई टोकियो ओलम्पिकमा समावेस गरिए पनि सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिकमा भने समावेस गरिएको छैन ।

साथै, टोकियो ओलम्पिकमा समावेस गरिएका बास्केटबल र साईक्लीङमा नयाँ स्पर्धा सामेल गरिएको छ । टोकियो ओलम्पिकमा यसपटक ३३९ पदक दाउमा लागेका छन् ।