इद अल-अदाको पूर्वसन्ध्यामा इराकमा भीषण बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु

इद अल-अदाको पूर्वसन्ध्यामा इराकमा भीषण बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु



इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । त्यहाँको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएअनुसार बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल-अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका छन् ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ भने इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल शुरु गरेका सरकारी अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै काद्हिमीले आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरेका छन् ।

इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्वीटमार्फत ईद अल-अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरताको संज्ञा दिएका छन् ।