सिरियामा चार दिनदेखि इजरायली मिसाइल आक्रमण

सिरियामा चार दिनदेखि इजरायली मिसाइल आक्रमण



इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । इजरायलले सिरियाली शहर होम्समा हमला गरेको सिरियाली अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको हो ।

सरकारी समाचार समिति सानाले जनाएअनुसार बुधबार र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर अलेपोमा हमला गरेको हो । बुधबार जस्तै बिहीबार पनि मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ । त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ ।

इजरायली सेनाले यसअघि पनि सिरियामा हमला गर्ने गरेकोमा केही दिनयता रोकिएको थियो । तर अहिले गएको चार दिनदेखि निरन्तर रुपमा इजरायलले सिरियामाथि हमला गरिरहेबाट उक्त क्षेत्रमा अशान्ति फैलिने आँकलन गरिएको छ ।