त्यो सम्पुर्ण क्रान्तिको आरम्भ थियो

त्यो सम्पुर्ण क्रान्तिको आरम्भ थियो


  • स्वयम्भूनाथ कार्की

वर्तमानमा ठुल्ठूलो स्वरले गरिने गरेको प्रश्न के हो भने विगतमा नेपालमा के भयो ? आजको युगमा बसेर सुगा रटानजस्तो एकोहोरो प्रश्न गरिँदै छ । कोही-कोही पञ्चायतको अवसानपछि मोबाइल इन्टरनेट आएको उदाहरण दिन पनि सङ्कोच गर्दैनन् । यसबेला धेरै युवाहरू हो मा हो मिलाउन उद्धत हुन्छन्, यस्तोमा वास्तविकतामा पुग्न ज्यादै कठिन हुन्छ । अनि यो सत्य लुक्न पुग्छ कि मोबाइल र इन्टरनेट हालसालैका आविष्कार हुन् र, नेपालमा पञ्चायत रहेको कालमा संसारको कुनै पनि कुनामा उपलब्ध थिएनन् । त्यसैले नेपाल र अन्य मुलुकको तुलना गर्दा तुलना गरिने कालखण्डको शुरुमा भएको अवस्था र अन्तमा रहेको अवस्थाको तुलनात्मक विवेचन हुनु पर्दछ । संसारभरि ज्ञानको ज्योति फैलाउने तक्षशिला, नालन्दा जस्ता ज्ञानपिठहरू भएका स्थान र अनकन्टार भीर-पहरा, औलोले भरिएको जङ्गल र अत्यन्त न्यून सङ्ख्यामा साक्षरता भएको स्थानको तुलना सिधा हुन सक्दैन ।

वर्तमानमा अँध्यारो युगबाट अस्तित्व देखाउन सफल ठाउँ कम विकसित देखिएमा पनि तुलनात्मक रूपमा विकसित भनिने स्थानभन्दा तीव्र गतिमा प्रगति गरेका हुन् सक्छन् । एक अर्बपति करोडपतिमा देखिनु र खाकपति लखपति देखिनुमा कसले प्रगति गरेको हो भन्ने जान्न कठिन छैन । तर पुरानो अवस्था नहेरी वर्तमान मात्र हेर्ने हो भने निश्चय नै उल्टो नतिजा प्राप्त हुन्छ । सत्र सालसम्म नेपालमा सैकडौँ राजनैतिक दल खुले, भद्र अवज्ञालगायतका अनेकौँ आन्दोलनहरू भए, राजनैतिक विकास अत्यन्त तीव्र भयो । यो कुरा सत्य हो अनि तुलना नै गर्ने हो भने राजनैतिक दल र विचारधाराहरूको विकास ०४६ देखि वर्तमानसम्म भन्दा ज्यादा भेटिन्छ । वीपी, पुष्पलाल, मनमोहन, गजेन्द्र नारायण, कृष्णप्रसाद जस्ता नेपाली राजनीतिमा नाम कमाएकाहरू त्यसै कालमा देखापरेका हुन् । पछिल्ला कालमा केही नाम मात्र छन् जसको सबैले निर्धक्क नाम लिन्छन् ।

त्यसैले नेपालमा राजनीति, राजनैतिक विचारधारा तथा दलहरूको विकासको हालसम्मको उच्चतम गति त्यसै कालमा थियो भन्ने कुरा देखिन्छ । यति हुँदाहुँदै पनि नेपालमा अन्य क्षेत्रहरू भने उपेक्षित रहेको देखिने तथ्य भेटिन्छन् । ०१७ सालमा राजा महेन्द्रले शासन आफ्नो हातमा लिँदा साक्षरता दुई प्रतिशत भन्दा कम थियो । मुख्यतया ब्राम्हण वर्गलाई मात्र सीमित गरिएको संस्कृत शिक्षा पनि उच्च वर्गमा मात्र सीमित जस्तै थियो । राजनीतिक क्षेत्रमा तीव्र विकास भए पनि झारातिराइ जस्तो रूपले अन्य क्षेत्रमा काम भएको थियो, किनभने नेतृत्व वर्ग सत्ता र शक्तिको निमित्त हुने प्रतिस्पर्धामा ब्यस्त हुनुपरेको थियो । एक मात्र कलेज भएको मुलुकमा उच्चशिक्षा हासिल गर्ने व्यक्ति थोरै त हुने नै भए ।

चौतर्फी अँध्यारो अवस्थाबाट राजा महेन्द्रले आफ्नो बाँकी जीवनकालमा मुलुकलाई कुन अवस्थामा पुऱ्याएका थिए भन्ने कुरा यस आलेखमा अट्न सक्दैन । केही प्रतिकात्मक कुराहरू भने आवश्यक छ । समानताको आधारमा नयाँ मुलुकी ऐनले नेपाललाई मध्ययुगबाट आधुनिक युगमा प्रवेश गरायो । राजकीय प्रज्ञा प्रतिष्ठानले सहित्यकारहरूको मनोबल र सङ्ख्या बढायो । स्कुल कलेजहरूको स्थापनामा स्थानीयहरूको चासो जगाएर शिक्षाको प्रसार भयो । लोकसंस्कृतिहरूको प्रोत्साहन र जगेर्नालाई ध्यानमा राखेर अनेकौँ कार्यहरू भए । आधारभूत उद्योगहरूको स्थापना भए, जग्गामा श्रम गर्नेको रोजगारीको जगेर्नालाई भूमिसुधार लागु गरियो । यसरी उनको कार्यकालमा तीव्र सामाजिक क्रान्ति भयो । अर्थात्, त्यो सम्पुर्ण क्रान्तिको आरम्भ थियो ।

जंगबहादुरको पालामा भएको जात-जातिअनुसार फरक व्यवस्था भएको मुलुकी ऐन प्रतिस्थापनतर्फ ध्यान जान सकेको थिएन । त्यसैले नेपाल कानुनतः मध्ययुगमै रहेको थियो । ‘नेपाल’ भन्दा केवल काठमाण्डु मात्र भने बुझिने गर्दथ्यो । कतिसम्म भने नेपालका अन्य भागबाट काठमाण्डौ पस्दा राहदानी चाहिन्थ्यो । पहाड, तराई, मगरात, लिम्बुआन आदि शब्दले मुलुकको विभिन्न भागलाई जनाइने भएकाले नेपालसँग जोडिएको थिएन । नेपाली भाषा, नेपाली व्यवहार गर्नेहरूलाई सामन्तवर्गले हेयको दृष्टिले हेर्ने चलन थियो । अंग्रेजी, हिन्दी, उर्दु प्रयोग गर्नु प्रतिष्ठाको विषय हुने भएकाले नेपाली साहित्यमा थोरै मात्र साहित्यकार थिए । लोकसाहित्य, लोकनृत्य, लोकसंस्कृति जस्ता कुरा साना-साना वर्गमा मात्र सीमित रहेको थियो ।

खेतीमा आधारित भएकाले मन परेको वा नपरेको आधारमा जग्गा जोत्न दिने वा नदिने मर्जी जग्गावालाको भएकाले चरम शोषण थियो । मौजावालाहरू, जमिनदारहरूको मनमौजीका अनेकौँ स्मरणहरू वर्तमानमा पनि सुन्न पाइन्छ । अश्लिल लाग्नेसमेतका अनेकौँ यस्ता स्मरणहरू वर्तमानसम्म रहँदा सहजै अनुमान गर्न सकिन्छ कि यसको मात्रा कति थियो होला । केवल एक मात्र बैंक रहेकाले सम्पुर्ण आर्थिक नियन्त्रण साहु महाजनको हालतमा थियो । सर्वसाधारण जनताले आफूलाई राष्ट्रसँग जोड्न सकेको थिएन । तीव्र राजनैतिक विकास भएको मुलुकमा सामाजिक, आर्थिक आदि क्षेत्र उपेक्षित रहँदा मुलुकमा कस्तो विकराल स्थिति हुन्छ भन्ने कुराको केही अनुभव वर्तमानमा पनि हुँदैछ ।

यस्तो चौतर्फी अँध्यारो अवस्थाबाट राजा महेन्द्रले आफ्नो बाँकी जीवनकालमा मुलुकलाई कुन अवस्थामा पुऱ्याएका थिए भन्ने कुरा यस आलेखमा अट्न सक्दैन । केही प्रतिकात्मक कुराहरू भने आवश्यक छ । समानताको आधारमा नयाँ मुलुकी ऐनले नेपाललाई मध्ययुगबाट आधुनिक युगमा प्रवेश गरायो । राजकीय प्रज्ञा प्रतिष्ठानले सहित्यकारहरूको मनोबल र सङ्ख्या बढायो । स्कुल कलेजहरूको स्थापनामा स्थानीयहरूको चासो जगाएर शिक्षाको प्रसार भयो । लोकसंस्कृतिहरूको प्रोत्साहन र जगेर्नालाई ध्यानमा राखेर अनेकौँ कार्यहरू भए । आधारभूत उद्योगहरूको स्थापना भए, जग्गामा श्रम गर्नेको रोजगारीको जगेर्नालाई भूमिसुधार लागु गरियो । यसरी उनको कार्यकालमा तीव्र सामाजिक क्रान्ति भयो । अर्थात्, त्यो सम्पुर्ण क्रान्तिको आरम्भ थियो ।