नेपाली कांग्रेसको जारी पदाधिकारी बैठक नै छोडेर बुधबार (१३ साउन) आकस्मिक रूपमा नयाँ दिल्ली पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारत भ्रमणमा रहेका एक अमेरिकी उच्चाधिकारीसँग भेटवार्ता गरेको बुझिएको छ । अमेरिकी विदेश मन्त्रालयअन्तर्गत दक्षिण तथा मध्य एसिया हेर्ने सहसचिवसँग दिल्लीको होटल हयातमा गोप्य रुपमा भेटघाट भएको स्रोतले जनाएको छ ।
सूत्रका अनुसार बुधबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट प्लेन चढी विराटनगर उत्रिएर त्यसपछि सिलिगुडी हुँदै निधि दिल्ली पुगेका थिए । भारत यात्रालाई गुप्त राख्न यसरी घुमाउरो बाटो गरी दिल्ली पुगेका निधिको बेलुका ६ देखि रातको १२ बजेसम्म अमेरिकी उच्चाधिकारीसँग दुई पटक भेटघाट भएको र उक्त भेटवार्ता एमसीसीकै विषयमा केन्द्रीत रहेको जनाइएको छ ।
अमेरिकी प्रतिनिधिसँग कुराकानीको सिलसिलामा कांग्रेस नेता निधिले तीन बुँदा सच्याएर एमसीसी पास गर्दा सबै पक्षलाई मान्य हुने अन्यथा नेपालको लोकतन्त्र नै खतरामा पर्न सक्ने सुझाव दिँदै एमसीसीका बुँदा संशोधन हुनुपर्नेमा अडान राखेको सुत्रको दाबी छ ।
कुराकानीकै क्रममा नेकाको १४औँ महाधिवेशनमा सभापतिका लागि आफू उम्मेदवार बन्न चाहेको र त्यसका लागि सहयोगको याचना गरेकोमा अमेरिकी सरकारका तर्फबाट एमसीसी मामिलामा सकारात्मक रहेको, साथै निधिलाई सभापति देउवाको उत्तराधिकारीको रूपमा देख्न चाहेको जवाफ मिलेको बताइएको छ ।
स्रोतले दाबी गरेअनुसार अमेरिकी प्रतिनिधि मण्डलका तर्फबाट निधिलाई आगामी ३-४ महिनाभित्र ह्वाइट हाउस भिजिटका लागि निमन्त्रणा दिइएको छ ।
ज्ञातव्य छ, केही वर्षअघि माओवादी नेता प्रचण्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न भनी अमेरिका गएका थिए, तर विदेश मन्त्रालयकी शाखा अधिकृत तहकी महिला अधिकारीलाई भेटेर फर्केका थिए । तर निधिको भेट भने सम्भवतः राष्ट्रपति या उपराष्ट्रपतिसँग हुने तय भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको हकमा भने भारत तथा अमेरिकाको भ्रमण पुनःस्थापित संसदबाट एमसीसी पारित नभएसम्म सम्भव नरहेको जनाइएको छ ।
गोप्य रूपमा भएको उक्त भेटघाट भारतीय उच्च अधिकारीहरू र भरतप्रसाद नामका व्यक्तिको संयोजन तथा मध्यस्थतामा भएको सूत्रले बताएको छ ।
निधि आज (१४ साउन, बिहीबार) मध्यान्न १२ बजे सिलिगुडी भएर विराटनगर हुँदै काठमाडौं फर्कंदै छन् ।
यो पनि हुर्नुहोस्-
प्रतिक्रिया