एनआरएनए संलग्नताबारे पत्रकार मित्रहरूसँग केही कुरा

एनआरएनए संलग्नताबारे पत्रकार मित्रहरूसँग केही कुरा



जनसमुदायको फैसला विवेकशील हुन्छ

  • डिल्ली अम्माई/बेल्जियम

घटनाहरूमा तथ्यको आधारमा र प्रमाणसंगत रिपोर्टको उत्पादन र वितरण गर्ने पत्रकारहरू सानोतिनो पदीय लोभमा भड्किनु हुँदैन । पत्रकार तथ्यगत सूचना संकलन र प्रशोधन गर्दै जनसमुदायमा वितरण गर्नको लागि एक प्रशिक्षित व्यक्ति हो । उसले सामाजमा सूचनाको सन्तुलनलाई सदैव हेक्का राखेर पत्रकारिता पत्रकारको धर्म निर्वाह गर्नुपर्ने हुन्छ । एक पत्रकारले समाचार प्रसारण, मुद्रण गर्दा आफ्नो विभागीय दायित्वलाई बिर्सन मिल्दैन । स्रोत, सम्वाददाता, सम्पादकसँगसँगै त्यो विज्ञापनदाता र जनसम्पर्क कर्मचारीहरूको रूपमा समेत किन नहोस् उसले पत्रकारिताका मुलभुत सिद्धान्तहरूको अवलम्बन गर्नु पर्दछ । समाज सन्तुलनलाई बेचैन बनाउने गरि कुनै कित्ता वा गुठको तावेदारी गर्दैमा पत्रकारिताको सूचना सन्तुलन गुम्दैन भनियो भने त्यो सूचनाको निष्पक्षतामाथिको फिका मजाकबाहेक केही हुन सक्दैन । कार्टुन पत्रकारहरू, संवाददाताहरू, नागरिक पत्रकारहरू, सम्पादकहरू, सम्पादकीय-लेखकहरू, स्तम्भकारहरू र दृश्य पत्रकारहरू (फोटोग्राफीको माध्यमको उपयोग गर्ने पत्रकारहरू) द्वारा समुदायलाई प्रदान गर्ने सूचनामा समुदायको सन्तुलित मर्यादा वा हित अत्यन्त प्रधान विषय हो ।

युरोपलगायत विश्वभरि अनगिन्ति पत्रकारहरूले जनसमुदायको सेवामा सूचना सम्प्रेषण गरिरहेका छन् । उनीहरूले आफ्नो पत्रकारिता पेशामा रहुन्जेल सूचना सम्बन्धित संघ-संगठनमा रहने गरे पनि अन्य सामाजिक वा राजनैतिक संघ संगठनमा जाँदैनन् । उनीहरूसँग समाजका नेतृत्वदायी पङ्क्ति वा सत्तापक्षको खबरदारीलाई निरन्तर अगाडी बढाउनुपर्ने दायित्व हुन्छ । समुदायको हितको लागि पारदर्शिताको मागसहित स्थापित स्थाई वा अस्थाई सत्ताको ढोका ढक्ढक्याउनु पत्रकारको विकल्परहित दायित्व हो । यदि पत्रकार नै त्यो स्थाई वा अस्थाई सत्तामा जान चाहन्छ भने उसले समुदायको सूचना सम्प्रेषण दायित्वलाई स्थगन गरेर जानुपर्छ ।

ऊ कुनै राजनैतिक दलविशेष वा समुदायको कुनै एक हिस्साको प्रतिनिधित्व गरेर पत्रकारिता पेशा त्याग गरिसकेपछि पनि पत्रकारिता गरेको भ्रम छर्नु राम्रो हुँदैन । फेरि उसले समुदायमा सूचनाको दायित्व लिँदा उसका रुचिहरू बाझिने हुन्छ, जसलाई पत्रकारितामा स्वाभाविक र ग्राह्य मानिदैन । पत्रकार समुदायको हुन उसका निजी स्वार्थ थाँती राख्नु पर्दछ । उसले अन्य सेवामा जाँदा सूचनाको जिम्मेवारी छोडेर जानु मनासिव हुन्छ । अन्यथा उसले दिने सूचनाले समुदायमा अन्यौलताको अवस्था सृजना गर्दछ ।

रिपोर्टर वा पत्रकारहरू जसले विभिन्न घटनामा अनुसन्धान गर्छन्, लेख्छन् र स्रोतहरूको उपयोग गरी समुदायमा आफ्नो समाचार प्रस्तुत गर्नको लागि अनुमोदन गर्दछन् । त्यही सूचनाको सन्तुलन बचाउनको लागि पत्रकारितामा स्थाई वा अस्थाई सत्तासँगको असंलग्नलाई एक विवेकशील पत्रकारले हेक्का राख्नुपर्छ । नत्र आफ्ना तथ्यगत सूचनाहरू आफू संलग्न राजनैतिक वा सामाजिक अंशबाट सदैव शहीद हुने खतरा रहन्छ । रिपोर्टरहरूले एक न्यूजरूममा काम गर्दै गर्दा त्यस्ता सयौँ दबाब र धम्कीहरूको सामना गर्नु पर्दछ । यदि त्यहि ब्यक्ति नेपाली डायस्पोरामा स्थापित तर विवादित सँस्थामा कुनै एक गुटसँग सहकार्य गरेर उम्मेदवार बन्यो भने उसका पत्रकारिताका सन्तुलित अवयवहरू झऱ्यामझुरुम हुन्छन् । उसले सम्प्रेषण गरेका सूचनालाई समुदायले विश्वास गर्दैन र ऊ नचाहेर पनि पत्रकारिताबाट बिस्थापित हुनुपर्छ । हाम्रो पत्रकारिताको मुख्य आधार भनेको जनसमुदायको विश्वास हो । त्यो विश्वास भत्कियो भने पुनः समुदायको विश्वास आर्जन गर्न सकिन्न ।

घरबाट निस्केपछि एक पत्रकारले कसैले दिएको एक कप कफी खाँदा पनि होसियार हुनुपर्छ । कसैले सूचनालाई प्रभावित पार्न दिएका कुनै पनि सहुलियत, पुरस्कार, उपहार र प्रायोजित पदहरू अस्विकार गर्न नसक्ने ब्याक्ति स्वतन्त्र र सन्तुलित पत्रकार बन्न सक्दैन । हामीले सूचना उत्पादनसँगको सम्बन्धलाई हेरेर मात्र यी विषयहरूको निर्क्योल गर्दछौँ । कुनै संगठनकर्ताले आफ्नो स्वार्थको लागि पत्रकारलाई प्रयोग गर्ने, सूचना दबाउनको लागि पत्रकारसँग हुने सम्बन्धको फाइदा उठाउने गरेको हुन्छ भन्ने कुरा पत्रकार स्वयमले महसूस गर्ने हो । त्यो अवस्थामा पत्रकारहरूले समुदायप्रतिको दायित्वलाई प्रथम महत्व दिनुपर्छ ।

अहिले कतिपय पत्रकारहरूको एनआरएनएमा संग्लाग्नताबारे केही मुद्धाहरू बहसमा आएका छन् । केही समाजका अगुवा र पत्रकारिताका दिग्गजहरूबाट पत्रकारको दोहोरो, तेहेरो संलग्नताबारे प्रश्न उठाएका छन् । त्यसको मुख्य कुरा पत्रकार मित्रहरूप्रतिको पूर्वाग्रही सोच र कुण्ठित मानसिकता नभएर सूचना सन्तुलनमा पुग्न सक्ने निष्पक्षताप्रतिको चिन्ता हो । धेरै संघसँस्थाहरूसँग संलग्नहरूले आफू संलग्न भएको संस्थामा देखिने अपारदर्शितामा निष्पक्षतापूर्वक समाचार दिन सक्दैनन् । त्यसका विभिन्न कारण हुन सक्छन् । सत्तापक्षको दबाब, नियमावली, कारवाहीको धम्की वा प्रलोभनको आश्वासनमध्ये जेसुकै कारण भए पनि एक तथ्यपरक समाचारको मृत्यु भनेको हजारौँ पत्रकारहरूप्रति जनसमुदायले गरेको अपेक्षाको मृत्यु हो । रहर वा करले विभिन्न सामुदायिक संगठनमा उम्मेदवारी दिएर अधिकतम संचारकर्मीले चुनाव हारेका समाचार आइरहेका छन् । यसलाई जनसमुदायले पत्रकारउपर गरेको कारवाहीको रुपमा भन्दा पनि दायित्वको स्मरण गराइदिएको भनेर बुझ्दा सञ्चारकर्मी साथीहरूमा हारको बोझ कम हुने छ ।