अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको धारणा सार्वजनिक गरेका छन् ।
“हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको रहेको उत्तर एटलान्टिक सैनिक सङ्गठन (नेटो) सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो,” उनले अफगान संसदमा सोमबार बताए । वासिङ्टनलाई यो निकासले गलत ‘परिणाम’ ल्याउने चेतावनी उनले दिएको एएनआईले जनाएको छ । राष्ट्रपति घानीले राष्ट्रिय सभाको विशेष सत्रमा अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको र यो परीक्षण सफलतापूर्वक पारित गर्न देश एकजुट हुनुपर्ने बताए ।
घानीले मुलुकको सुरक्षा अवस्था सुधारका लागि ६ महिने सुरक्षा योजना को सुरुवात गर्ने घोषणा पनि गरेका छन् । अफगानिस्तानमा विदेशी सैन्य उपस्थितिको अवधि समाप्त भएको र अब अफगानीहरूले आफ्नो भविष्य निर्धारण गर्ने जिम्मेवारी भएको बताए । राष्ट्रपति घानीले आफ्नो भाषणमा वर्तमान समयले मुलुकमा शान्ति र सद्भाव निर्माणको अवसर प्रदान गरेको र अबको समय एकता र ऐक्यवद्धताको समय भएको अभिव्यक्ति दिए ।
संसदका दुवै सदनका सदस्यहरूलाई सम्बोधन गर्दै घानीले देशले देशभरि हजारौंसँग सम्पर्क भएका तालिबानबाट ‘आक्रमण’ को सामना गरिरहेको र शासनको रक्षा गर्न अफगान सेनालाई जुटाउनु आवश्यक रहेको उल्लेख गरे ।
तालिवानतर्फ सङ्केत गर्दै राष्ट्रपति घानीले भने, ‘अफगानीहरूबीचको शत्रुता गम्भीर विषय हो । अहिलको अवस्थामा कुनै पनि समूहले आत्मसमर्पण गर्ने देखिएको छैन ।’

तालिवानहरूले आफ्ना हिंसात्मक आक्रमणलाई सशक्त बनाएको जिकिर गर्दै उनले भने, ‘वास्तविकता के हो भने, गत तीन महिनामा हामीले अप्रत्याशित परिस्थितिको सामना गरेका छौँ । हामीले आन्तरिक र बाह्य अफवाहको सामना गरिरहेका छौँ ।’
घानीको यो भनाइ अफगास्तिानको सुरक्षा बलले तालिबानलाई नियन्त्रणमा राख्न संघर्ष गरिरहेको समयमा आएको छ । अफगानिस्तानको दक्षिण क्षेत्रमा लश्कर गाहमा सुरक्षा बल र तालिवान समूहबीच रातभर लडाइँ जारी रहेको थियो तर अफगानिस्तानको सेनाले तालिबानको पछिल्लो आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
यसैबीच तालिवान प्रभावित इलाका लस्करघामा नेटो सैनिकको हवाइ आक्रमणमा कम्तीमा सात तालिवानी लडाकू र तालिवानका ३८ सहयोगी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले बताएको छ । तालिवान समूहले आइतबार हेलमण्ड प्रान्तको लस्करघास्थित एउटा जेलमा असफल आक्रमण गरेका थिए ।
प्रतिक्रिया