आन्तरिक विवादमा एन्फा, प्रवक्ता राईद्वारा राजीनामा

आन्तरिक विवादमा एन्फा, प्रवक्ता राईद्वारा राजीनामा



अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । राईले सोमबार सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् ।

प्रवक्ताबाट राजीनामा दिए पनि केन्द्रीय सदस्य पदमा भने आफू यथावत् रहने राइले बताएका छन् ।

पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिए । उनले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हैसियत भएको दाबी गरे ।

राईले एन्फा नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने तर्क गरे । । “एन्फाभित्र जुन शक्ति सङ्घर्ष चलेको छ, यसको समाधान देखिँदैन, चाँडो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र नयाँ चुनाव गर्नुपर्छ,” राइको तर्क छ ।

अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङबीचको मतभेद चुलिँदै आएको छ ।

राईले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयमा समेत आपत्ति जनाएका थिए । फुटबलभित्रको विवाद एन्फाभित्रै समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गर्ने एन्फाको निर्णय राम्रो नभएको जिकिर उनको छ । उनले एन्फा कार्यसमिति बैठकमा सङ्घभित्रको समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट राई एन्फाको केन्द्रीय सदस्यमा विजयी बनेका थिए । अध्यक्ष शेर्पाले नै उनलाई एन्फा प्रवक्तामा नियुक्त गरेका थिए ।