वैरोवि कर्मचारीका घरमा किन बढ्यो कलह ?

वैरोवि कर्मचारीका घरमा किन बढ्यो कलह ?


श्रीमान्ले पहिले-पहिले दिएजति रकम नदिएकोमा वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीका श्रीमतीहरूले झगडा गर्न थालेको विषय यतिबेला सो विभागभित्रै चर्चाको विषय बन्ने गरेको छ । आफ्ना श्रीमान्ले अर्कै केटीसँग पल्केर आजभोलि पैसा घर नल्याएको आरोप लगाएर श्रीमतीहरूले झगडा गरेपछि बूढाबूढीबीच मारामार पर्न थालेको भन्दै पियन तहका एक कर्मचारीले आगन्तुकहरूसँग नै गफ मार्ने गरेका छन् । वैरोविमा कार्यरत कर्मचारीहरू अर्कीसँग पल्के पनि नपल्के पनि कुराको चुरो भने अर्कै रहेको छ । वास्तविक कुरा के भने विगत केही दिन यतादेखि त्यहाँ घुसको लेनदेन अघिपछिभन्दा लुकिछिपी भएको छ । मिलाएर हप्ताको दुई-चार दिनमात्र ठूलो रकम घुस आउने हुँदा कर्मचारीका श्रीमतीहरू झन् सशङ्कित बनेका हुन् ।
अर्कोतर्फघुस उठाउनुपर्ने र घुस कम गर्नुपर्ने विषयमा कर्मचारीकै दुई पक्षबीच घम्साघम्सी हुन थालेको छ । सरकारको एउटा पक्षले घुस खाएको थाहा पाए त्यस्ता कर्मचारीको जागिरै खाइदिने धम्की दिने गरेको छ भने अर्को पक्षले कोटा सिष्टम चाहिन्छ भन्दै विभागका निर्देशकदेखि महानिर्देशकसम्मलाई दबाब दिन थालेको छ । तर, कर्मचारीहरूलाई जागिरभन्दा घुसै प्यारो भएकोचाहिँ प्रस्टै भएको छ । किनभने, जागिरे जीवनभरि कमाउन नसकिने रकम एकै दिनमा हात पार्न सकिन्छ वैदेशिक रोजगार विभागमा ।
विभाग परिसरवरिपरि र उपत्यकाभित्र रहेका होटल, गेष्टहाउस, ट्राभल्स र व्यक्तिगत काम गर्ने एजेन्टमार्फत विभागका कर्मचारीहरूले दैनिक रकम असुल्ने गरेका छन् । च्यानल मिलाएर रकमको लेनादेना गरिन्छ । स्रोतका अनुसार एभरेष्ट बैंकमा घुसबापतको रकम जम्मा गर्न खाता नै खोलिएको छ ।
खाडीका अधिकांश मुलुकमा महिला कामदार पठाउन सरकारले रोक लगाएको छ । तर, सरकारद्वारा प्रतिबन्धित मुलुकहरूमा घुस लिएर धमाधम श्रमस्वीकृति दिन थालिएको छ । फाइल वा ओरिजिनल फाइल भन्दै एजेन्टमार्फत रकम लिएर श्रमस्वीकृति दिइन्छ । नक्कली डकुमेन्ट बनाएपछि केही बाठा एजेन्टले ‘कार्गोबाट आएको डकुमेन्ट हो, खोल च्यातेर फालियो, यो सबै उतैबाट आएको डकुमेन्ट हो भन्नु है’ भन्ने सिकाउँदै लाइनमा उभ्याउने गर्दछन् । एजेन्ट नचिनीकन वा एसएमएस वा फोन नआईकन कर्मचारीहरूले स्वीकृति नै दिँदैनन् । लाइनमा उभिएका विदेशिने कामदारसँगै उभिँदा शङ्का भएपछि कर्मचारीहरूले मान्छे लाइनमा उभ्याउने एजेन्टहरूलाई विभागबाहिरै बसेर मान्छे लाइनमा पठाउन निर्देशन दिएका छन् । म्यानपावरका कार्ड बनाएर व्यक्तिगत काम गर्ने एजेन्टहरू भने ‘म्यानपावरको हो’ भन्दै छिर्ने गर्दछन् । वैदेशिक रोजगार विभागबाहिर काम गर्दा विभागमा श्रमस्वीकृति निकाल्नेहरूको भीडभाड हुन्छ भने विभागबाहिर काम गर्दाको दिन विभागपरिसरमा कामको चाप कम रहने गरेको छ ।
-श्रीराम खतिवडा, काभ्रे