चितवनबासीको साझा संस्था ‘क्याट बेल्जियम’को अधिवेशन सम्पन्न

चितवनबासीको साझा संस्था ‘क्याट बेल्जियम’को अधिवेशन सम्पन्न


  • सनत आचार्य, बेल्जियम

चितवन मूल थलो भएर बेल्जियममा बसोबास गर्दै आएका नेपालीहरुको संस्था चितवन सहायता कोष (क्याट बेल्जियम) को १४औं वार्षिक साधारणसभा एवं सातौँ अधिवेशन २ अगस्त (सोमबार) लुभेनमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी र विशिष्ठ अतिथि एनआरएनए बेल्जियमका नवनिर्वाचित अध्यक्ष खड्गबहादुर केसीद्वारा पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरिएको अधिवेशनमा प्रमुख अतिथि राजदूत राजभण्डारीले प्रवासमा रहेर पनि मातृभूमिका लागि विशिष्ट कार्य गरेकोमा संस्थाको प्रशंसा गर्दै यस्ता परोपकारी संघसंस्थाहरूले पनि समाजलाई रुपान्तरण गर्न सक्ने बताउनुभयो ।

आफूहरू यस्ता सामाजिक संघसंस्थासँग सहकार्य गरी समाजमा पनि योगदान दिन तयार रहेको उहाँले जनाउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका नवनिर्वाचित अध्यक्ष खड्गबहादुर केसीले संस्थाको प्रशंसा गर्दै प्रवासबाट पनि सानो-सानो सहयोगबाट नेपाल आमाको समृद्धि र विकासमा सहयोग पुग्ने भन्दै सबैले यसतर्फ सोच्न आग्रह गर्नुभयो ।

केसीले आफुहरू पनि नेपालको समग्र विकासका लागि सहयोग के-कसरी गर्न सकिन्छ भन्नेबारे गहन अध्ययन गरिरहेको बताउनुभयो ।

केसीले आफुहरू पनि यस्ता सामाजिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्न सकिने विचार व्यक्त गर्नुभयो ।

अधिवेशनमा ईश्वरीप्रसाद कँडेलद्धारा संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष झलकमणि अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष राजु घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाको पूर्वअध्यक्ष एवं संरक्षक सीता सापकोटा, रामहरि घिमिरे, पार्वती अधिकारी र दिनेशप्रसाद भण्डारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाले ७५ लाखको अक्षय कोष स्थापना गरी प्राप्त ब्याजबाट ३४ जना थालासेमियाका बिरामीहरूलाई उपचारमा सहयोग गरेको, नेपालमा वर्षेनी देखिने दैवीप्रकोपमा आवश्यकताअनुसार विभिन्न स्थानमा आर्थिक र मानवीय सहयोग गरेको, विपन्न वर्गका विद्यार्थीलाई स्टेशनरी समान वितरण गरेको, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेको, चितवनकै अति विपन्न समुदायमा विद्यालय भवन निर्माणका लागि सहयोग गरेको लगायतका कार्यहरू गरेको पूर्वअध्यक्ष दिनेशप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा चितवन सहायता कोष बेल्जियमको स्थापना कालदेखि सम्पन्न गरिएका कामहरूको संगालो ‘स्मारिका’को राजदूत राजभण्डारीद्वारा विमोचन गरिएको थियो ।

अधिवेशनले राजु घिमिरेको अध्यक्षतामा आगामी दुई वर्षका लागि १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद कँडेल, उपाध्यक्षमा तेजेन्द्र कँडेल र उत्तम मल्ल, महासचिवमा शंकर बजगाईं, सचिवमा सागर अधिकारी, घनश्याम शर्मा र सुशीला खतिवडा, कोषाध्यक्षमा मोहन केसी र सह-कोषाध्यक्षमा चिजकुमार श्रेष्ठ (शिलु) लाई चयन गरेको छ भने सदस्यहरूमा ओमप्रकाश गुरुङ, श्रीमती शान्ति भट्टराई, भीम सुवेदी, श्रीमती सुवर्णा अधिकारी, रामशरण महतो, खेम न्यौपाने, अनिता घले, झलकमणि अधिकारी र विष्णु पौडेललाई चयन गरेको छ ।

सभामा ब्रह्मदत्त वाग्ले, नारायण धिताल, सरस्वती सुबेदी, सुशीला खतिवडा, खेम न्यौपाने, आखबहादुर लामा र तुलाराम लामिछानेलाई आजीवन सदस्यता प्रदान गरेकोे छ ।