यूएईले गऱ्यो आँट : बालबालिकालाई पनि चिनियाँ खोप लगाइने

यूएईले गऱ्यो आँट : बालबालिकालाई पनि चिनियाँ खोप लगाइने


संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको सिन्ह्वाले जनाएको छ ।

बताइएअनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिन लागिएको हो ।

खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको युएईका अधिकारीहरूले जनाएका छन् ।

बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले आँट नगरिरहेका बेला यूएईले गरेको निर्णयबाट धेरैलाई खुसी तुल्याएको छ ।

‘बालबालिकालाई पनि खोप लगाएपछि कोरोना भाइरसको महामारीविरुद्ध लड्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ,’ युएईद्वारा सञ्चालित समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा उल्लेख गरिएको छ ।

चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप यूएईमा पनि उत्पादन गर्न थालिएको छ ।